चित्रकुमार मिजार
सिन्धुपाल्चोक, असार ९ गते । बाह्रबिसे नगरपालिकाको १७ औं नगरसभाले निःशुल्क शिक्षा र मनसुनजन्य विपद् न्यूनीकरणका लागि प्राथमिकताका साथ काम गर्ने लक्ष्य लिएको छ ।
उक्त नगरसभामा उपप्रमुख मञ्जु तामाङले आगामी वर्ष २०८२-०८३ का लागि ६० करोड ३३ लाख ८४ हजार ४८३ रुपियाँको बजेट प्रस्तुत गर्नुभएको थियो । जसमा निः शुल्क शिक्षाका लागि चार करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । कक्षा ८ सम्म दिवा खाजा र कक्षा १२ सम्म निःशुल्क शिक्षाका लागि गत आवहरुमा झैं बजेटलाई निरन्तरता दिएको उहाँले बजेट प्रस्तुत गर्नुभएको छ । सामुदायिक विद्यालयप्रति आर्कषण बढाउन मन्टेश्वरी शिक्षालाई निरन्तरता दिँदै बजेटमा प्राथमिकता दिइएको छ । गुणास्तरीय र सुलभ शिक्षा दिएर सामुदायिक बिद्यालयको समग्र शैक्षिक प्रगतिमा नगरपालिकाले ध्यान दिने भएको छ ।
साथै मनसुनजन्य विपद् न्यूनीकरणमा प्राथमिकताका साथ बजेट बिनियोजन गरेर प्रभावितको खोज, उद्धार, राहत र पुनःस्थापनाका काम गरिने उपप्रमुख तामाङले जानकारी दिनुभयो । मौसमजन्य घटनाबाट घरबास गुमाएका पीडितका लागि एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ । मौसमजन्य विपदबाट भौतिक, आर्थिक लगायतका क्षेत्रमा दुई करोड ७७ लाख ५३ हजार ६ सय रुपियाँ विनियोजन गरिएको छ ।
विगतका वर्षहरुमा मनसुनजन्य विपदबाट घरबास गुमाएका १४४ घरहरु पुनर्निर्माण सम्झौता भई ६४ वटा नयाँ घर पुनर्निर्माण भएर प्रभावितहरु सुरक्षित आवासमा बस्न पाएको जनाइएको छ । ४९ घरधुरीलाई स्थायी आवास पुनर्निर्माणका लागि जग्गाधनी पूर्जा वितरण गरिएको बताइएको छ । बाँकी घरधुरी छिटो पुनर्निर्माण सकेर सुरक्षित रुपमा बस्ने प्रबन्ध मिलाइरहेको नीति तथा कार्यक्रम प्रतिवेदनमा उल्लेख गरिएको छ ।
स्वास्थ्य क्षेत्रका लागि एक करोड, कृषि, पशुपालन क्षेत्रमा ५०-५० लाख बजेट विनियोजन गरिएको छ । नगरको ९ वटा वडालाई ५०÷५० लाख बजेट बिनियोजन गरिएको छ । बस्ती÷बस्तीमा खानेपानी, पशुबीमा, लघु उद्यम प्रोत्साहनका कार्यक्रम अघि सारिएको छ । कृषि र पशुपालनमा एक वडा एक पकेट क्षेत्र बनाउने नीति लिएको छ । सुशासनमैत्री सेवा, नगर अस्पताल न्यायिक सेवा, खेलकुद, पर्यटन, लक्षित वर्गसमुदाय उत्थान कार्यक्रम, स्वास्थ्य क्षेत्रको दायरा विस्तार, निःशुल्क औषधी वितरणको कार्यक्रम अघि बढाइने नीति तथा कार्यक्रम रहेको छ ।
नगरप्रमुख बालकृष्ण बस्नेतले बाह्रबिसे नगरपालिकाको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, स्वरोजगार, कृषि पशुपालन, पर्यटकीय प्रवर्धन, बाँझो जमीनमा एकीकृत खेती प्रणाली, दलित समुदायको ज्ञान सीपमा आधुनिकीकरण लगायत क्षेत्रमा दिगो विकासको अवधारणाका साथ काम गर्ने नीति लिइएको बताउनुभयो । नागरिकको आर्थिक हैसियत बढाउने, स्वरोजगार हुन सक्ने क्षेत्रमा बजेटले प्राथमिकता पाएको उहाँको भनाइ छ ।