धनगढी समाचारदाता
धनगढी, असार ९ गते । कैलालीका धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि चार अर्ब ४७ करोड ३६ लाख रुपियाँको बजेट सार्वजनिक गरेका छन् । धनगढी उपमहानगरपालिकाको बजेट दुई अर्ब ५६ करोड ६६ लाख रुपियाँ रहेको छ । १३ औँ नगर अधिवेशनमा उपप्रमुख कन्दकलाकुमारी रानाले आगामी आवको वार्षिक बजेट सार्वजनिक गर्नुभयो । सो पालिकाले चालुतर्फ एक अर्ब ३८ करोड २८ लाख र पुँजीगततर्फ एक अर्ब १८ करोड २९ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।
धनगढी उपमहानगरपालिकाको आयस्रोतमा आन्तरिक आय ५४ करोड ७९ लाख, राजस्व बाँडफाँट रकम ५७ करोड ६० लाख रुपियाँ रहेको छ । यसै गरी अन्तरसरकारी वित्तीय हस्तान्तरणमा सङ्घतर्फ ९९ करोड नौ लाख, प्रदेशतर्फ ११ करोड २२ लाख र सरी आएको मौज्दात ३३ करोड ३२ लाख रुपियाँ आयस्रोत रहेको उपप्रमुख रानाले बताउनुभयो । गोदावरी नगरपालिकाले आगामी आवका लागि एक अर्ब १८ करोड ४५ लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । यो पालिकाको आयस्रोतमा आन्तरिक राजस्व १५ करोड नौ लाख, बैङ्क मौज्दात तीन करोड ५० लाख रुपियाँ रहेको छ ।
यस्तै सङ्घीय सरकारबाट आउने वित्तीय समानीकरण १९ करोड ८० लाख, राजस्व बाँडफाँट १८ करोड ५९ लाख, समपूरक अनुदान एक करोड ९३ लाख, विशेष अनुदान चार करोड नौ लाख, ससर्त अनुदान ४१ करोड ७२ लाख रुपियाँ रहेको छ । यसै गरी प्रदेश सरकारबाट आउने वित्तीय समानीकरण अनुदान एक करोड ८७ लाख, राजस्व बाँडफाँट ५९ लाख, समपूरक अनुदान ३० लाख, विशेष अनुदान ६० लाख, ससर्त अनुदान तीन करोड ५२ लाख, घरजग्गा रजिस्ट्रेसन राजस्व बाँडफाँट छ करोड ८५ लाख रुपियाँ रहेको छ ।
यस्तै कैलारी गाउँपालिकाले आगामी आवका लागि ७२ करोड २५ लाख रुपियाँको वार्षिक बजेट सार्वजनिक गरेको छ । उपाध्यक्ष भगवतीकुमारी चौधरीले आइतबार गाउँ सभाको अधिवेशनमा बजेट प्रस्तुत गर्नुभयो । यो पालिकाको आयस्रोतमा आन्तरिक आय दुई करोड ५७ लाख, चालु आवको खर्च हुन बाँकी ४० लाख रुपियाँ रहेको छ ।
यस्तै सङ्घीय सरकारको समानीकरण अनुदान १४ करोड १८ लाख, राजस्व बाँडफाँट १२ करोड ८२ लाख, ससर्त अनुदान ३० करोड ५७ लाख रुपियाँ रहेको छ । यस्तै विशेष अनुदान ५४ लाख, समपूरक अनुदान दुई करोड ६५ लाख रुपियाँ गरेर सङ्घबाट जम्मा ६० करोड ७६ लाख रुपियाँ रहेको उपाध्यक्ष चौधरीले जानकारी दिनुभयो । प्रदेश सरकारको समानीकरण अनुदान एक करोड ४३ लाख, राजस्व बाँडफाँट ४३ लाख, समपूरक अनुदान ५५ लाख र विशेष अनुदान तीन करोड २६ लाख रुपियाँ रहेको छ । यसै गरी गैरसरकारी संस्थाको कार्यक्रम बजेट पाँच करोड २४ लाख रुपियाँ रहेको जनाइएको छ ।
कैलारीले कार्यालय सञ्चालनतर्फ ११ करोड ५४ लाख, समपूरक कोषतर्फ पाँच करोड २५ लाख, बाँकी भुक्तानीका लागि दुई करोड ५० लाख, भूमि व्यवस्थापनतर्फ ६० लाख, अध्यक्ष कप रनिङ प्रतियोगिताका लागि २५ लाख बजेट विनियोजन गरेको छ । यस्तै विद्युतीय सुशासन तथा सूचना प्रविधि कार्यक्रमका लागि सात लाख, उपाध्यक्ष समावेशी कार्यक्रमका लागि १० लाख र अध्यक्ष रोजगार कार्यक्रमका लागि १० लाख रुपिपाँ बजेट छुट्याइएको छ । यसै गरी नौ वटै वडालाई ६० लाख रुपियाँका दरले कुल पाँच करोड ४० लाख रुपियाँ बजेट विनियोजन गरेको उपाध्यक्ष चौधरीले जानकारी दिनुभयो ।