साँफेबगर समाचारदाता
अछाम, असार ९ गते । अछामको बान्नीगढीजयगढ बजारका आगलागीपीडितलाई राहत वितरण गर्न कागजात सङ्कलन भइरहेको छ । गाउँपालिकाले ‘आगलागीपीडितलाई नगद राहत वितरण कार्यविधि, २०८२’ पारित गरेसँगै राहत वितरण गर्न कागजात सङ्कलन कार्य जारी राखेको हो ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर रावलका अनुसार आगलागीपीडितलाई राहत वितरण गर्न पीडितको नागरिकता, बैङ्क खाता नम्बर, पान नम्बर र सम्बन्धित वडा कार्यालयको सिफारिस सङ्कलन भइरहेको छ ।
रावलले भन्नुभयो, “३९ जना आगलागीपीडितमध्ये अहिलेसम्म हामीले २५ जनाको कागजात सङ्कलन गरिसकेका छौँ । बाँकीको सङ्कलन भइरहेको छ ।” कागजात सङ्कलन सकिएलगत्तै राहत वितरण गरिने उहाँले बताउनुभयो ।
जयगढका आगलागीपीडितलाई ६३ लाख २१ हजार रुपियाँ राहत वितरण गरिने यसअघि नै निर्णय गरिसकिएको छ । गाउँपालिकाले सार्वजनिक गरेको नगद राहत पाउने लाभग्राही सूची अनुसार दुई जनाले पाँच लाख ३५ हजार, तीन जनाले तीन लाख ८७ हजार, तीन जनाले तीन लाख ४० हजार, दुई जनाले तीन लाख ३८ हजार पाउने भएका छन् ।
त्यसै गरी एक जनाले दुई लाख ८९ हजार, दुई जनाले दुई लाख ४० हजार, एक जनाले एक लाख ९२ हजार, एक जनाले एक लाख ४३ हजार, छ जनाले ९५ हजार, दुई जनाले ७५ हजार, सात जनाले ५० हजार, तीन जनाले ३० हजार, चार जनाले २५ हजार र दुई जनाले १५ हजार रुपियाँ पाउने भएका छन् ।
आगलागीबाट जयगढ बजारका ३९ पसल र घरटहरा जलेर नष्ट भएका थिए । आगलागीबाट आठ करोड रुपियाँभन्दा बढीको क्षति भएको थियो ।
गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र जयगढ बजारका आगलागीपीडितलाई राहत वितरणका लागि कार्यविधि पारित गरेर नगद राहत वितरण कार्य अगाडि बढाइएको हो । यसअघि गाउँपालिकाले ‘आगलागीपीडितलाई नगद राहत वितरण कार्यविधि, २०८२’ पारित गरेको थियो । गत चैत २६ गते जयगढ बजारमा भीषण आगलागी भएको थियो ।