• ११ मंसिर २०८१, मङ्गलबार

शिक्षकमाथि आक्रमण

blog

आक्रमणबाट घाइते हुनुभएको शिक्षक खेमनाथ घिमिरे।

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ ५ गते। ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा एक शिक्षकमाथि साङ्घातिक आक्रमण भएको छ। पाथीभरा याङ्वरक गाउँपालिका–६ थुम्बेदिनस्थित जनता आधारभूत विद्यालयमा कार्यरत शिक्षक खेमनाथ घिमिरेमाथि आक्रमण भएको हो। 

शिक्षक घिमिरेमाथि मङ्गलबार विद्यालय जाँदै गरेका बेला स्थानीय केही व्यक्तिले आक्रमण गरेको बताइएको छ। घिमिरेलाई आक्रमण गर्नुको कारण खुली नसकेको प्रहरीले जनाएको छ। यता शिक्षक घिमिरेमाथि आक्रमण भएपछि शिक्षकका पेसागत संस्थाले विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेका छन्।

नेपाल शिक्षक महासङ्घ, नेपाल शिक्षक सङ्घ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको पाथीभरा याङवरक गाउँपालिका समितिले छुट्टा–छुट्टै विज्ञप्ति जारी गर्दै शिक्षकमाथि साङ्घातिक आक्रमण गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरेका छन्। शिक्षक घिमिरेमाथि आक्रमण गर्ने व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा नल्याएमा सङ्घर्षमा उत्रने चेतावनीसमेत दिएका छन्। 

शिक्षकका सङ्घ र सङ्गठनले जारी गरेको विज्ञप्तिमा शिक्षक घिमिरेमाथि ज्यान मार्ने उद्देश्यसहित भएको उल्लेख गर्दै आक्रमणमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन प्रशासनलाई २४ घण्टाको समय–सीमासमेत तोकेका छन्।