• १४ पुस २०८१, आइतबार

तरकारी खेती गरी सन्तानलाई इन्जिनियर र कृषि प्राविधिक

blog

काउली खेतीमा काम गर्दै बाबुराम रेग्मी र उहाँको परिवार । तस्विरः ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, भदौं ५ गते । जलजला गाउँपालिका –६ सालिजाका बाबुराम रेग्मीले तरकारी खेती गरेर जेठो छोरालाई इन्जिनियर र कान्छोलाई कृषि प्राविधिक बनाउनुभएको छ । 

रोजगारीका लागि दश वर्ष विदेशमा भौतारीनुभएका रेग्मीले गाउँ फर्किएर बुबाले अङ्गालेको कृषि कर्मलाई जीवन धान्ने पेसाका रुपमा रोज्नुभयो । कृषि पेसा गरेर बाबुरामले घरपरिवारको खर्च चलाउनुका साथै लाखौं रुपियाँ खर्चिएर दुई छोरालाई प्राविधिक शिक्षामा अब्बल बनाउनुभयो । 

कृषि पेसाबाट परिवारको आर्थिक समृद्धि प्राप्त गर्नुका साथै र उदाहरणीय व्यक्ति बन्नुभएको छ । जेठो छोरालाई सिभिल इन्जिनियरमा स्नातकसम्म पढाएर माष्टर डिग्री पढ्नका लागि हाल बेलायत पठाउनुभएको छ भने कान्छो छोरा रामपुर कृषि क्याम्पसबाट कृषि प्राविधिकमा स्नातक गरेर अहिले नेपालमै रोजगारी गर्न थाल्नुभएको छ । 

छोराछोरीलाई पढाउने खर्च जुटाउन विदेश नै जानु पर्दछ, स्वदेशमा केही छैन, भन्नेका लागि बाबुरामको प्रगतिले गतिलो जवाफ दिएको छ । ‘‘उहाँको कृषि पेसा लोभलाग्दो छ । कृषिमा केही छैन भन्नेका लागि बाबुरामको कृषि पेसाले गाउँमा आशा जगाएको छ । परिश्रमी र लगनशील बाबुराम युवाका लागि प्रेरणा बन्नुभएको छ’’ स्थानीय युवा डिलनाथ सापकोटाले भन्नुभयो ।   

करिब १५ रोपनी खेतबारीमा बेमौसमी तरकारी खेती गर्नुभएको छ । ‘‘काँक्रा बजार लैजाने भएका छन्, दैनिक रुपमा ५० केजी उत्पादन हुने गरेको छ । काउली र बन्दाका विरुवा भर्खर रोपेको छ’’ उहाँले भन्नुभयो । रेग्मीलाई तरकारी खेतीको काम गर्न श्रीमती र बुबाले पनि सघाउनु हुन्छ । 

बर्खे आलु लगाएर पाँच लाख रुपियाँ आम्दानी गरेको बताउने बाबुरामले बार्षिक रुपमा १० देखि १५ लाख रुपियाँसम्मको तरकारी बिक्री गर्नुहुन्छ । दश मुरी धान उत्पादन हुने खेतमा उहाँले गोल्डेन जातको किबी पनि लगाउनुभएको छ । किबी खेतीबाट वार्षिक रुपमा दुईदेखि तीन लाख रुपियाँसम्म आम्दानी गर्ने सोच उहाँले बनाउनुभयो ।  गाउँपालिकाले उहाँलाई अनुदानमा किबीका विरुवा उपलब्ध गराएको छ । 

मेरो अन्य आम्दानीको स्रोत केही थिएन, तरकारी बेचेर छोराहरुले रोजेको विषय पढाएँ, बाबुरामले भन्नुभयो, ‘‘विदेश छाडेर गाउँ फर्किदा छरछिमेकले गाली गरेका थिए । छोराहरु पढ्ने भएका छन् । राम्रो पढाउन धेरै पैसा खर्च हुन्छ । विदेश फर्क भन्थे । तर छिमेकीको सल्लाह मानिन ।” बेमौसममा उत्पादन गरे बजारको समस्या पनि नहुने र राम्रो मूल्य पाउने उहाँको अनुभव छ । 

आफूले अङ्गालेको पेसा रोजेर छोरा गाउँकै नमूना कृषक भएकोमा बुबा कलाधर रेग्मी पनि खुसी हुनुहुन्छ । ऊ बेला मैले पनि तरकारी खेतीबाट छोराहरुलाई अक्षर चिनाएको हुँ कलाधरले भन्नुभयो, ‘‘छोरा कृषि पेसामा अब्बल भएको देख्दा मनमा खुसी र आत्मसन्तुष्टी मिलेको छ  । तरकारी खेतीको आम्दानीले नातीहरुले राम्रो विषय लिएर पढेँ । बाउबाजेले अङ्गालेको कृषि पेसाले राम्रो गरेकाले नछाड भनेको छु ।’’