• ८ मंसिर २०८१, शनिबार

हास्यव्यङ्ग्यको पर्व गाईजात्रा

blog

समीक्षा वा समालोचना गर्नु परेमा भने अन्य सन्दर्भ स्रोत आवश्यकता पर्ला । सिधा भन्नु पर्दा कार्टुनले जनताको बोली बोल्छ र सधैँ सत्ताको प्रतिपक्षमा रहन्छ ।

हँसाउने र व्यङ्ग्य गर्ने ‘पर्व’ गाईजात्रा । कार्टुनको पनि यही धर्म भएकाले दुवै एकअर्काका परिपूरक हुन् । यसका अतिरिक्त प्रहसन र व्यङ्ग्य साहित्यले पनि गाईजात्रालाई रोमाञ्चक र स्मरणीय बनाउँछन् । गाईजात्राको अवसरमा हास्य र प्रहसनको एक सटिक माध्यम बन्ने गरेको छ कार्टुन प्रस्तुति । एउटा कार्टुनले कैयौँ चोटिला शब्द बयान गर्न सक्ने भएर पनि होला गाईजात्राको अवसरमा यो जोडिएको । गाईजात्रामा हास्यकृति र प्रहसन कहिलेदेखि अभिन्न अङ्ग बन्न पुगे, यो बेग्लै अनुसन्धानको विषय होला तर वर्तमानको सत्य के हो भने गाईजात्रासँगै हास्य/व्यङ्ग्य वा प्रहसन आउनै पर्छ । 

यसमा अर्को सत्य के पनि छ भने गाईजात्रासँगै अचेल पनि हास्यकृति र प्रहसन त आउँछ तर ३०–४० वर्षपहिलेको दाँजोमा कार्टुन विधा कमजोर र लुप्तप्रायः हुन थालेको देखिन्छ । समय र प्रविधिको विकासले गाईजात्रामा कार्टुनको प्रयोग, स्वरूप र प्रस्तुतिमा फरकपन आएको भन्न सकिन्छ । 

गाईजात्राको प्रसङ्गमा अचेल कार्टुनको विषय पनि प्राज्ञिक बहस बन्न पुग्छ । गाईजात्रा र कार्टुन सँगसँगै हुर्किए सरी कुरा थपिँदै जान्छन् । वास्तविकता के हो भने गाईजात्राको अवसरमा संस्कृति र कलाको बेजोड मिश्रण रहन्छ । अभिव्यक्तिको तौरतरिका फरक हुन सक्छ तर यो अभिन्न भएको छ । 

प्रवेश

गाईजात्रा, अर्थात् विकृति र विसङ्गतिका विषयमा सोझै वा घुमाएर चोटिलो प्रहार गर्न राज्यसत्ताले छुट दिएको समयावधि । केही कलाकार र हास्यव्यङ्ग्यकर्मी तथा साहित्य र सङ्गीत साधक अनि नाट्यकर्मीले मन खोलेर सदुपयोग गर्ने सान्दर्भिक समय भन्न सकिन्छ । राणा शासन, त्यसपछिको निर्दलीय पञ्चायती व्यवस्थामा जनताले अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्न पाउने सबैभन्दा उपयुक्त समय थियो गाईजात्रा । अन्य बेलामा भन्दा यस समयमा राज्यसत्ता केही उदार देखिने वा केही छुट पाएको अवसरलाई सम्पूर्ण ललितकलाकर्मी र कलाकार, साहित्यकारले राजनीतिक, सामाजिक, आर्थिकलगायतका क्षेत्रका विकृति, विसङ्गतिलाई शब्द, सङ्गीत, अभिनयद्वारा प्रहार गर्न उत्तम समय नै गाईजात्रा हुन्थ्यो । 

कार्टुन

कार्टुनको इतिहास लेखिँदै आइएको छ तर जति पटक लेख्दा पनि उही ‘राणा शासनको विरोधमा कलाकार चन्द्रमानसिंह मास्केले कार्टुन बनाएर जनतालाई सुसूचित गर्ने जमर्को गरेको  ।’ २००७ सालअगाडि उनका कार्टुन, पर्चा, पोस्टरका रूपमा प्रकाशित भएका थिए । राणाकालमा चन्द्रमान सिंहलाई राजद्रोहको अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाइनुले  आरम्भिककालदेखि नै कार्टुनिस्टले राज्यसत्तासँग जुध्नु परेको तितो सत्य इतिहासमा अङ्कित छ । नेपालमा पहिले प्रकाशित व्यङ्ग्यचित्रको चर्चा गर्दा गोवर्धनविक्रम शाहको नाम अगाडि आउँछ । २०१४ सालमा ‘संयुक्त प्रयास’ पत्रिकाको साउन अङ्कमा उनको व्यङ्ग्यचित्र प्रकाशित भएको थियो । 

कार्टुनको भाषा विश्वव्यापी हुन्छ ।  किनकि यो चित्रका रूपमा आउँछ र चित्र जहाँको जो भए पनि बुझ्न सकिन्छ । पढेलेखेको होस वा अनपढ, चित्रले बुझाउने सबैलाई उस्तै हो । समीक्षा वा समालोचना गर्नु परेमा भने अन्य सन्दर्भ स्रोत आवश्यकता पर्ला । सिधा भन्नु पर्दा कार्टुनले जनताको बोली बोल्छ र सधैँ सत्ताको प्रतिपक्षमा रहन्छ । 


राम्रै गर्छु भनेर सत्तामा पदासीनहरूलाई नराम्रो कार्य गर्ने छुट नागरिकले दिएका हुँदैनन् । यसर्थ नागरिकको आवाज हुन्छ कार्टुन । कार्टुनले समसामयिक, राजनीतिक, सामाजिक वा जुनसुकै विषयलाई समेटेर सन्देश दिन सक्छ । 

राणाकाल वा पञ्चायती व्यवस्थामा हुने गरेका भ्रष्टाचार, अनियमितता, सत्तामोहका कार्य, गरिबी आदि जस्ता विषय कार्टुनका लागि आज पनि सान्दर्भिक हुन सक्लान् भने राजनीतिक घटनाका विषयवस्तुमा भने प्रस्तुतिका दृष्टिबाट फरकपन आएको देखिन्छ । यसका अतिरिक्त प्रविधिगत र नीतिगत भ्रष्टाचार जस्ता विषयले पनि अचेल स्थान बढी नै पाउन थालेका छन् ।

गाईजात्रा र कार्टुन

प्रश्न छ, कसले सुरु गर्‍यो ! गाईजात्रा परम्परा थालनीका बारेमा इतिहास बोलेको छ । मल्लकालका राजा प्रताप मल्लले आफ्नो छोराको मृत्युको शोकलाई बिर्साउन सुरु गरेको भनिएको यस पर्वमा कालान्तरमा राज्यसत्तालाई नै व्यङ्ग्य गर्ने अर्को परम्परा जोडियो । 

भनिन्छ राजाले यो पर्व रानीलाई हँसाउन र अनेकौँ परिवार आफन्तजनको मृत्यु पीडामा रहेको देखाउन गाईजात्रा सुरु गरेका हुन् । “तिमी मात्र होइनौ, ल हेर त प्रजा आफ्ना दुःख भुलेर खुसी छन् भने तिमी त रानी हौ, तिमी पनि प्रसन्न रहन, हाँस्न सक्नु पर्छ ।” गाईजात्रा सुरु गराइनुमा सायद यस्तै सोचाइ थियो होला ।

तर कहिलेबाट कार्टुन गाईजात्रामा मिसियो ? यो ठ्याक्कै थाहा हुन सकेको छैन । जहिलेबाट पत्रकारितामा कला समावेश भयो त्यसबेलादेखि नै समसामयिक राजनीतिक, सामाजिक विसङ्गति र विकृतिप्रति कटाक्षका लागि गाईजात्रा पर्वमा कार्टुन विधि जोडिएको हुन सक्छ । 

२०१४ सालमा संयुक्त प्रयास पत्रिकामा यो विधाले स्थान पाएको देखिन्छ । २०२२ सालतिर रामकुमार पाँडेले मायालुलगायत अन्य पत्रिका प्रकाशन गरे । ती पत्रिकामा उनले कार्टुनलाई राम्रो स्थान दिएका थिए । अखबारको सन्दर्भमा संयुक्त प्रयास, नयाँ सन्देश, समीक्षा, नेपाली आवाज, साप्ताहिक मञ्च, मातृभूमि, राष्ट्र पुकार, आरती साप्ताहिक, संरक्षक साप्ताहिक, देशान्तर सुरुचि आदि पत्रपत्रिकाले महत्वका साथ कार्टुनलाई स्थान दिने गरेको देखिन्छ तर केही पत्रिकाले कार्टुनलाई नियमित भने बनाउन सकेका थिएनन् । 

यो पर्वको अवसर पारेर २०४१ सालमा केही कलाकारले तत्कालीन राजकीय प्रज्ञा–प्रतिष्ठानसँग पौठेजोरी खेल्दै प्रतिष्ठानको कार्टुन प्रदर्शनीलाई बहिष्कार गर्ने आँट गरे । व्यङ्ग्य चित्रकारहरूले नै कार्टुनसङ्ग्रह ‘भाँडभैलो’ प्रकाशनमा ल्याए । युवा कलाकार समूहको सक्रियतामा प्रकाशित यो पत्रिकाको साथ पाएर नेपालमा अनेकौँ कलाकार ‘कार्टुनिस्ट’ बने । यसैको पथमा कामना, ठट्यौली, हातेमालो, मुस्कान, भद्रगोल, भताभुङ्गे, टुटुल्को जस्ता अनेकन् पत्रिकाले हास्यव्यङ्ग्य अङ्क प्रकाशन गरेका थिए । 

कार्टुन कलालाई मलजल गर्ने काम तत्कालीन समयमा आयोजना गरिने  कार्टुन कला प्रदर्शनी/प्रतियोगिताले गरेको मान्नु पर्छ । २०३३ सालदेखि तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले गाईजात्रा महोत्सवको आयोजना गथ्र्याे । सो कार्यक्रममा गाईजात्रे प्रहसन र कार्टुन प्रदर्शन गरिन्थ्यो । 

कार्टुन कलालाई मलजल गर्ने काम तत्कालीन समयमा आयोजना गरिने  कार्टुन कला प्रदर्शनी/प्रतियोगिताले गरेको मान्नु पर्छ । २०३३ सालदेखि तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले गाईजात्रा महोत्सवको आयोजना गर्थ्यो । सो कार्यक्रममा गाईजात्रे प्रहसन र कार्टुन प्रदर्शन गरिन्थ्यो । कलाकारले सो प्रतियोगितामा आफ्ना सिर्जना उपलब्ध गराउँथे र प्रदर्शनी प्रतिष्ठानकै लबी र ग्यालरीमा गरिन्थ्यो तर विडम्बना नै भन्नु पर्छ ती कार्टुन हामीसामु अहिले छैनन् । अभिलेखीकरणको अभावमा ती कलाकृति विलुप्त भइसके । 

पत्रकारिता र कार्टुन

थोर बहुत मात्रामा कार्टुन पत्रपत्रिकाको अंश बनिरहेको भए पनि २०३६ सालपछि पत्रपत्रिकाका साथै कार्टुनिस्टहरू पनि सङ्ख्यात्मक रूपमा बढ्दै गएका थिए । २०३६ सालको राजनीतिक घटनाक्रमले जनतालाई विविध किसिमले शिक्षित गर्ने दायित्व पत्रकारितामा आइपरेको परिप्रेक्ष्यमा कार्टुन विधाले अझ राम्रो भूमिका खेल्न सक्ने देखेकाले हुन सक्छ सम्पादकहरूले कार्टुनलाई व्यापक प्रयोग गर्न थाले । 

त्यस समयका कार्टुनमा राजनीति र सामाजिक विषयवस्तुलाई विशेष स्थान दिइन्थ्यो  । अझ महँगी, भ्रष्टाचार जस्ता विषयले धेरै प्राथमिकता पाएको त्यस समयका कार्टुन हेर्दा स्पष्ट हुन्छ ।

आजको सन्दर्भमा कार्टुन 

कहिले पत्रिकाको साजसज्जालाई अलि रोचक बनाउन कार्टुन प्रयोग गरियो भने कहिले जनतालाई जागरुक बनाउन पनि कार्टुन प्रयोगमा आयो । नेपालमा व्यङ्ग्यात्मक कार्टुनको प्रयोग मुख्य गरी जनतालाई समकालीन विकृति, विसङ्गतिबाट अवगत गराउनका लागि हुन्छ ।

विशेषतः जबबाट कार्टुनले पत्रिकामा स्थान पाउन थाल्यो पाठकका लागि यो विधा मसालेदार खुराकका रूपमा रह्यो । कार्टुनले व्यङ्ग्यसहित सचेतना जनाउने काम गरिने रहेकाले २०१४ सालदेखि आजसम्म पनि यो पत्रकारिताको अभिन्न अङ्ग बन्न सकेको छ । हेर्दैमा सजिलै बुझिने र रमाइलो पनि गराउने हुँदा पाठकको पहिलो रोजाइ बन्ने गरेको छ कार्टुन । यस कारण पत्रकारितामा पकेट कार्टुन, ग्याग कार्टुन वा सम्पादकीय कार्टुनका रूपमा कार्टुनले स्थान पाउने गरेको छ । अचेल रेडियो, टेलिभिजनमा पनि देखाइने वा पढिने विषय बनेको छ कार्टुन ।

अहिले इन्टरनेट सुविधाका कारण जहाँको कुरा पनि आफ्नै ठाउँमा बसेर सजिलै जान्न, बुझ्न हेर्न सकिने भएको छ । कार्टुन विधा पनि यसबाट अछुतो रहेन । विगतमा सीमित साधनस्रोतका बीचमा पनि अग्रज कार्टुनिस्टले आफ्नो पन ल्याउन सकेका थिए । अचेल भने विदेशीको सिको गर्ने चलन अझ बढेको छ । यस कारण कतिपय कार्टुन नेपाली कलाकारले बनाएको हो वा विदेशीको हो ? छुट्याउन हम्मे हम्मे पर्छ । कार्टुनको रूपरेखाको कुनै सीमा हुँदैन भनिएला तर त्यसमा नेपालीपन छैन भने आत्मीयताको कमी महसुस भइहाल्छ । यस कारण कार्टुनिस्टहरूले यस सन्दर्भमा अझै मेहनत गर्नुपर्ने देखिन्छ । 

क्यारेक्टर/क्यारिकेचरलाई नेपालीपन दिँदै प्रविधिको समुचित प्रयोगले कार्टुन विधालाई कहिल्यै पछि पर्न दिने छैन । हिजो कार्टुन बनाउन गाईजात्रा कुर्नु पथ्र्यो, अचेल हरेक दिन गाईजात्रा छ । आउनुहोस् गाईजात्रामा रमाऔँ ।  – युवामञ्च 

Author

केशवराज खनाल