• १० मंसिर २०८१, सोमबार

ब्लड बैङ्क नहुँदा बिरामीलाई समस्या

blog

श्रीनगर समाचारदाता

सल्यान, भदौ ५ गते । जिल्ला अस्पताल सल्यानमा ब्लड बैङ्क सञ्चालनका लागि २०७७ सालमा नै भवन निर्माण गरिएको थियो । भवन निर्माण भए पनि ब्लड बैङ्कले दिने सेवा भने प्रभावकारी हुन सकेको छैन । 

सल्यानको त्रिवेणी गाउँपालिका–५ की २८ वर्षीय इन्द्रा खड्का जिल्ला अस्पतालमा सुत्केरी व्यथाले छट्पटाइरहनुभएको थियो । डाक्टरले उहाँका आफन्तलाई रगत अभाव छ, रगतको खोजी गर्नुहोला भन्ने सूचना दिए । आफन्त रगतको खोजीमा जुटे तर कतै भेट्टाएनन् । पछि उहाँलाई गैरसरकारी संस्था महासङ्घ सल्यानका अध्यक्ष दीपेन्द्र शाहीले रगत दिनुभयो । त्यसको केही दिनमा फेरि उहाँलाई रगत चाहियो । पछि छत्रेश्वरी गाउँपालिका–५, लेखपोखराका प्रकाश नेपालीले रगत दिनुभयो र इन्द्राको ज्यान बच्यो ।

केही महिनाअघि रुकुमकी दीपा पुनलाई सुत्केरी व्यथा लाग्यो । उहाँलाई जसोतसो आफन्तले जिल्ला अस्पताल सल्यानमा पु¥याए । उहाँलाई पनि रगत अभाव देखियो । रगत चढाउन हारगुहार गर्नु प¥यो । रगतका लागि उहाँका आफन्तले धेरै व्यक्तिसँग सम्पर्क गरे । घण्टौँपछि मात्र उहाँलाई छत्रेश्वरी गाउँपालिका–५, लेखपोखराका धनबहादुर परियारले ‘ए पोजिटिभ’ रगत दिनुभयो । त्यसपछि उहाँको ज्यान बच्यो । यी दुई घटना त उदाहरण मात्रै हुन् । 

कतिपय बिरामीलाई अस्पतालमा कार्यरत कर्मचारीले समेत रगत दिएर बचाउनुपर्ने अवस्था छ । हरेक शल्यक्रियामा रगतको पूर्वतयारी गर्नुपर्ने हुन्छ तर त्यो सम्भव छैन । कहिलेकाहीँ शल्यक्रिया गर्दागर्दै स्वास्थ्यकर्मी तथा कर्मचारी आफैँले पनि रगत दिनुपर्ने बाध्यता छ । जिल्लामा ‘ब्लड बैङ्क’ नहुँदा बिरामी र उनीहरूका आफन्तले लामो समयदेखि सास्ती भोग्नु परेको छ ।

पटक पटक जिल्ला अस्पतालमा ब्लड खोज्नेहरूको दौडधुप भइरहन्छ । जिल्लामा ‘ब्लड बैङ्क’ स्थापनाका लागि प्रयास पटक पटक गरिए पनि सफल भएको छैन । जिल्ला अस्पतालमा सेना, प्रहरी, पत्रकार, स्वास्थ्यकर्मी र अरू व्यक्तिबाट रगतको पूर्ति भइरहेको छ । १९ औँ पटक रक्तदान गरिसक्नुभएका रक्तदाता हिमाल यात्रीले जिल्लामा ब्लड बैङ्क नभई नहुने बताउनुभयो । 

उहाँले भन्नुभयो, “उपचारका लागि अस्पताल पुग्यो, रगत चाहियो भने रगत हुँदैन । जिल्लामा यो समस्या समाधान कसरी गर्ने होला ?” विशेष गरी गर्भवतीको शल्यक्रिया गरेर सुत्केरी गराउनु पर्दा बढी रगत खोजिन्छ । जिल्लामा रगतको आवश्यकता रहेको र जिल्लामै रगत सङ्कलन गर्ने र खपत हुन नसकेको रगतलाई जिल्लाबाहिर पठाउने गरी  समन्वयात्मक ढङ्गबाट ब्लड बैङ्क सञ्चालन गर्न अनिवार्य रहेको उहाँको भनाइ छ ।

१५ शययाको जिल्ला अस्पतालमा रगतका लागि दाताको भर पर्नुपर्ने एक मात्र विकल्प छ । आवश्यक परेको समयमा चाहिएको समूहको रगत भएको व्यक्तिलाई फोन गरेर बिरामीलाई रगत दिन गुहार गर्नुपर्ने बाध्यता छ ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढामगरले रेडक्रस, जिल्ला अस्पताल सल्यानको सहकार्यमा ब्लड बैङ्क सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य कार्यालय तथा अस्पताललाई ब्लड बैङ्क सञ्चालन गर्ने अनुमति छैन, त्यही भएर रेडक्रसले सञ्चालन गर्ने तयारी गरेको छ ।’’ 

सुत्केरी हुने र अन्य रोगका लागि रगत चाहिने बिरामी महिनामा आठ/१० जना आउने गरेका र ब्लड बैङ्क नभएकाले आपत्कालीन रक्तसञ्चार केन्द्रमार्फत रगत सङ्कलन गरेर शल्यक्रिया गर्ने गरिएको उहाँको भनाइ छ ।