• ४ भदौ २०८१, मङ्गलबार

संविधान संशोधनका लागि सबै दललाई साथ लिएर अघि बढ्छौँ : देउवा

blog

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ।

काठमाडौँ, भदौ ४ गते । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका लागि सबै राजनीतिक दलहरूलाई साथमा लिएर अघि बढ्ने बताउनुभएको छ ।

लोकतन्त्रप्रति प्रतिबद्ध कांग्रेस र एमालेले संविधान संशोधनका लागि गरेको सहमति सबै दललाई साथमा लिएर अघि बढाउनका लागि भएको देउवाको भनाई थियो । मंगलबार नेपाली काँग्रेसका नेता एवं समाजवादी चिन्तक स्व।प्रदीप गिरीको स्मृतिमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले ठुलो दुई पार्टी बिचको संविधान संशोधन गर्ने सहमतिलाई अन्य दलहरूले आफ्नो खिलाफको रूपमा लिन नहुने पनि बताउनुभयो । 

सभापति देउवाले संविधान संशोधनको क्रममा उपराष्ट्रपतिलाई नै राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिने विषयमा पनि अन्य दलको सहमति भए आफूहरूले सो विषयमा पनि संविधान संशोधन गरेर अघि बढन तयार रहेको बताउनु भयो । सभापति देउवाले सबै पक्षसँग छलफल गरेर मात्रै आफूहरू अघि बढ्ने पनि बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘बहुलवादमा आधारित प्रजातान्त्रिक समाजवाद उन्मुख सिद्धान्तको आधारमा हामी अघि बढिराखेका छौँ। अहिले पनि संविधान संशोधनको विषयमा ओलीजी र मेरो बीचमा सहमति भएको हो । केही कुराहरू छन् । त्यसमा नौलो कुरा केही छैन हेर्नुस् । सबैसँग सल्लाह गरेर गर्ने कुरा हो । अव यो राष्ट्रिय सभाको अध्यक्ष को बन्ने रु यही सहमति बन्छ भने उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने दुनियाँभरको चलन छ । यावत कुराहरूमा गर्ने गरेर अघि बढेका हुन । त्यसकारण यी विषयमा दुईटा पार्टीबिच सहमति भएको छ । यो दुई पार्टीबिचको सहमति कुनै पार्टीको खिलाफमा होइन । यो सहमतिमा अरू सबै पार्टीहरूलाई समेट्दै लैजाने हो ।’ 

उहाँले भन्नुभयो, ‘नेपालमा अझ प्रजातान्त्रिक सिद्धान्तलाई समाजवाद उन्मुख बनाउने विषयलाई ध्यानमा राखेर हामी अघि बढन खोजिराखेका छौँ । हाम्रो पार्टी हो । त्यसकारण यसमा कुनै पनि साथीभाइहरूले आशङ्का गरिरहनुपर्ने आवश्यकता छैन । ओलीजी पनि प्रजातन्त्रको मूलभूत सिद्धान्तको पक्षमा हुनुहुन्छ । नेपाली काँग्रेस प्रजातन्त्रप्रति प्रतिबद्ध हुने नै भइहाल्यो ।

त्यसैले जुन हामी बिचमा सहमति भएको छ । त्यो सोची विचारकन भएको सहमति हो । दुई वटा पार्टी मिले भइहाल्यो नि भन्ने पनि सुनियो । दुई वटा पार्टी मिल्नुको मतलब अरू कुनै पार्टीको खिलाफमा होइन । त्यसकारण नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), माधवकुमार नेपालजीको पार्टी नेकपा एसलगायत हामी सबै दलहरूलाई एकसाथ लिएर अघि बढाउने हो । सबै पार्टीहरूलाई साथसाथै लिएर जाने हो ।’’

सभापति देउवाले दुई ठुला पार्टीबिचको सहमतिमा आउनु मुलुकका लागि आवश्यक रहेको पनि बताउनुभयो ।