• ४ भदौ २०८१, मङ्गलबार

पहिराका कारण राष्ट्रिय राजमार्गका विभिन्न खण्ड अवरुद्ध

blog

फाइल तस्बिर

काठमाडौँ, भदौ ४ गते । राष्ट्रिय राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा सवारीसाधन आवतजावतमा समस्या उत्पन्न भएको छ । सडक विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार मुलुकभर पहिराका कारण राष्ट्रिय राजमार्गका सात वटा खण्ड अवरुद्ध भएका छन् भने दुई सय ४४ सडक खण्ड एकतर्फी रूपमा मात्रै सञ्चालनमा छन् । 

मदनभण्डारी राजमार्गको प्युठानस्थित एनएच जिरो नाइन सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । प्युठानस्थित गर्जेनीमा भालुवाङ-लिवाङ-रोल्पा-माडीचौर-दारबोट खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । मोरङको चतरा-मुलघाट-माझीटार-अमापु डाँडा-गणेशचोक राजमार्गस्थित चतरा पुलदेखि वराहक्षेत्र जाने सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध हुँदा सवारी साधन आवतजावतमा समस्या परेको छ । 

यसैगरी सुर्खेत तल्लो ढुङ्गेश्वर-सातखब्बा-दुल्लु-पिपलकोट-खुलालु-मन्मा-नग्मा-जुम्ला राजमार्गको कालीकोटस्थित गाल्जे खण्ड पनि पूर्ण रूपमा नै अवरुद्ध भएको छ । पुष्पलाल मध्यपहाडी लोकमार्गको पाँचथरस्थित यलम्बर सडकखण्ड पूर्ण अवरुद्ध भएको छ । यसैगरी तानसेन-रिडी-कोरला राजमार्गको गुल्मीस्थित अच्चेश्वर गुफा नजिकको सडकखण्ड र राप्ती राजमार्गको सल्यानस्थित चोरखोला सडकखण्ड समेत पूर्ण रूपमा अवरुद्ध भएको सडक विभागको तथ्याङ्क रहेको छ । 

भूगर्भविद डा.सुवोध ढकालले वर्षाका कारण माटो गलिसकेकाले हल्का वर्षा हुँदासमेत पहिरोको जोखिम बढी हुने भएकाले सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभएको छ । “अविरल वर्षाका कारण माटो गलाएको छ । अहिले त थोरै पानी पर्नासाथ पहिरो जान थालेको छ”, उहाँले भन्नुभयो, “त्यसैले अत्यावश्यक काममा मात्रै हिँडडुल अनुरोध छ ।” रासस