• १० मंसिर २०८१, सोमबार

जुम्लाको चन्दननाथ नगरपालिकामा १४ जना नगर प्रहरी

blog

चन्दननाथ नगरपालिकामा नगर प्रहरीको अन्तिम दिक्षान्त समारोह । तस्बिर : नेत्र शाही

नेत्र शाही
जुम्ला, भदौ ४ गते ।
 जुम्लाको चन्दननाथ नगरपालिकाले १४ जना नगर प्रहरी भर्ना गरेको छ । नगरले नगर प्रहरी सहायक निरीक्षक जङ्गबहादुर बुढासहित १४ जना नगर प्रहरी भर्ना गरेको हो ।

नगरपालिकाले सशस्त्र प्रहरी बल नं ३३ त्रिपुरा गण जुम्लाले उनीहरूको नगर प्रहरी आधारभूत तालिम सम्पन्न गरेर अन्तिम दीक्षान्त समारोह गर्दै १४ जना नगर प्रहरी भर्ना भएको जानकारी गरिएको छ ।

सशस्त्र प्रहरी बल त्रिपुणागण जुम्लाले अन्तिम दीक्षान्त समारोह गर्दै नगर प्रहरीलाई पासआउट गरेको छ । उनीहरूलाई नगर उपप्रमुख रामदेवी खड्का, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, सशस्त्र प्रहरी उपरीक्षक लालबहादुर शाही, नेपाली सेनाका प्रमुख सेनानी लक्ष्मी गौतमले दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ भने चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेबाट नगर प्रहरीलाई शपथ ग्रहण गरिएको छ ।

तालिमसहित अन्तिम दीक्षान्तमा नगर प्रहरीमा सफल हुनेमा नगर प्रहरी सहायक निरीक्षक जङ्गबहादुर बुढा, नगर प्रहरी जवानहरू हर्ष बुढ्थापा, हर्क कुलाला, भैरव सिंह रावल, अनिता सुनार, महेन्द्र विष्ट, रामबहादुर गुरुङ, लीलामणि न्यौपाने, सुनिता हमाल (खत्री), दिपेश न्यौपाने, शक्ति सुनार, धिरेन्द्रनाथ योगी, पुष्पा भण्डारी र सरस्वती जिसी रहेका छन् । उनीहरू सबै चन्दननाथ नगरपालिका भित्रका रहेका छन् ।

सशस्त्र प्रहरी नं ३३ त्रिपुरा गण जुम्लाका प्रमुख लालबहादुर शाहीका अनुसार एक महिने आधारभूत तालिमबाट १० पुरुष र चार जना महिला गरी १४ जनालाई एक महिने तालिम दिइएको र उहाँहरूलाई अन्तिम दीक्षान्त समारोह गरेर तालिम पूर्णता गरी नगर प्रहरीको दर्ज्यानी चिन्ह दिएको छ । उहाँले तालिम अवधिमा सहयोग गर्ने सर्वलाई धन्यवाद ज्ञापन गर्नुभयो । 

नगर प्रहरी दीक्षान्त समारोहमा बोल्दै चन्दननाथ नगरपालिकाका नगर उपप्रमुख खड्काले नगरपालिकाको विकास र समृद्धिमा नगरप्रमुखको मुख्य भूमिका रहने भएकाले कानुन अनुसार काम गर्नुपर्ने बताउनुभयो । उहाँले नगर प्रहरी सहायक निरीक्षकसहित सबैलाई बधाई दिनुहुँदै नगरको शान्ति सुरक्षासहित सफा नगर अभियानदेखि नगरपालिकाका विभिन्न काममा सघाउने उहाँको भनाइ रहेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले नगर प्रहरीले नगरको प्राविधिक शान्ति सुरक्षा दिने, कानुनको कार्यान्वयन गराउने, सार्वजनिक सेवा प्रवाहमा सहजता ल्याउने, फोहोरमैला व्यवस्थापन, राजूव सङ्कलनमा जोड दिने, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको सुरक्षा गर्ने, नगर र वडा कार्यालय माताहातका कार्यालयको सुरक्षा व्यवस्था मिलाउने, विपत व्यवस्थापन, हाट बजार लगायतका कामहरू व्यवस्थापन गर्ने लगायतका कामहरू हुने जानकारी दिनुभयो । उहाँका अनुसार सुरुमा नगर प्रहरीका लागि नगरपालिकामा १२८ जनाले आवेदन दिएका थिए ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले स्थानीय तह अधिकार प्रयोग गर्दै नगर प्रहरी राखेर नगरपालिकाको समृद्धिका लागि काम गरेकोमा नगरपालिकालाई धन्यवाद ज्ञापन गर्दै नगर प्रहरीले नियम कानुन अनुसार काम गर्नेमा जोड दिनुभयो । उहाँले नगरपालिकाले जनशक्ति उत्पादन गरेको तर अब व्यवहारमा कसरी काम हुन्छ भन्ने विषय महत्त्वपूर्ण भएकाले राम्रो काम गर्न अनुरोध गर्नुभयो ।