• १६ भदौ २०८१, आइतबार

रामधुनीमा एक सय आठ धारा बनाइने

blog

बाबुराम कार्की 

वराहक्षेत्र, भदौ ४ गते । धार्मिक, पौराणिक एवं ऐतिहासिक धरोहरका रूपमा रहेको सुनसरीको रामधुनी मन्दिरमा १०८ धारा बनाउने भएको छ । रामधुनी मन्दिर व्यवस्थापन समितिको अगुवाइमा भएको सरोकारवालाको भेलाले मन्दिर परिसर क्षेत्रमा धारा बनाउने निर्णय गरेको हो । 

रामधुनी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्की ऐतिहासिक धरोहरका रूपमा रहेको मन्दिरमा गुरुकुल सञ्चालन गर्ने निर्णयसमेत गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “मन्दिर परिसरमा गुरुकुल सञ्चालन गरी आध्यात्मिक गतिविधि बढाउने योजना पनि छ । भेलाले यस वर्षदेखि कृष्ण जन्माष्टमीका अवसरमा राधाकृष्ण रथ यात्रा निकालिने पनि निर्णय गरिएको छ ।” 

अध्यक्ष कार्कीले सबैसँगको छलफल र सरसल्लाहबाट मन्दिर परिसरमा सन्ध्याकालीन आरती गर्ने निर्णय पनि गरिएको छ ।

पौराणिक कथन अनुसार त्रेता युगमा श्री रामचन्द्र वनवासको व्रmममा यस तपोवनको पुण्य स्थलमा धुनी लगाएर एक रात बास बसेको र आफ्ना पाउका एक जोर खराउ बास बसेकै ठाउँमा छाडी गएको भन्ने भनाइछ । रामको चरण परेको भूमि र उनले बालेको धुनी हेर्न दैनिक देश तथा विदेशबाट श्रद्धालु दर्शन गर्न आउने गरेका छन् । सरोकारवालाको चासो पुग्दा ओझेलमा परेको मन्दिरको मुहार फेरिने व्रmम बढ्दै गएपछि मन्दिरमा धार्मिक पर्यटकको आकर्षण बढेको छ ।

सुनसरीको वराहक्षेत्र नगरपालिका, भोक्राहा नरसिङ्गा गाउँपालिकाको सीमामा पर्ने रामधुनी नगरपालिका–४, जङ्गलको बिचमा मन्दिर रहेको छ । मन्दिरको विकासका लागि सङ्घीय सरकार र स्थानीय सरकारले बजेट उपलब्ध गराउँदा मन्दिर क्षेत्रको विकासमा सहयोग पुगेको रामधुनी बाबा वनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिका उपाध्यक्ष रामप्रकाश कोइरालाले बताउनुभयो । 

परिसरमा अष्टचिरञ्जीवीको मन्दिर, श्रीयन्त्रको मन्दिर, मन्दिर क्षेत्रमा श्री चन्द्र बाबा वनखण्डी र प्रितम दासकोे मन्दिर निर्माण भएको छ । यहाँ राम दरबारसमेत निर्माण भइरहेको छ । यहाँ रामनवमी, विवाह पञ्चमी, ऋषी पञ्चमी, शिवरात्रि, तिज आदि पर्वमा स्वदेश एवं विदेशबाट समेत श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गरेको छ ।