मुसीकोट समाचारदाता
रुकुमपश्चिम, भदौ ४ गते । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पताल रुकुमपश्चिमका समस्या समाधानबारे कार्ययोजना पेस गर्न निर्देशन दिएको छ । साउन ३१ को गोरखापत्र दैनिक र गोरखापत्र अनलाइनमा जिल्ला अस्पताल रुकुमपश्चिममा बिरामी बढेपछि त्रिपालमुनि उपचार गर्नुपर्ने बाध्यताका विषयमा समाचार प्रकाशन भएपछि मन्त्रालयले सो विषयमा चासो देखाएको छ । समाचार प्रकाशनपछि मन्त्रालयद्वारा समस्या समाधानका लागि अस्पतालसँग कार्ययोजना माग गरिएको हो ।
सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले स्वास्थ्य सेवा कार्यालय रुकुमपश्चिमलाई साउन ३२ गते च.नं. ३ को पत्र पठाएर गोरखापत्रमा प्रकाशित उक्त समाचारपछि ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ । उहाँले अस्पतालमा के कति कारणले त्रिपालको व्यवस्थापन गरेर उपचार गर्नुपर्ने अवस्था आएको हो भनेर कारणसमेत खुलाउन पत्रमार्फत जानकारी गराउनुभएको छ । पत्रमा समस्या समाधानका लागि कार्ययोजनासहित भदौ ५ भित्र प्रतिवेदनसमेत माग गरिएको छ । यसका साथै मन्त्री भण्डारीले अस्पताल स्तरोन्नतिको कार्य के कति कारणले समयमा सम्पन्न हुन नसकेको हो भन्नेबारे आवश्यक समन्वय गरेर समयमै सम्पन्न गर्नसमेत निर्देशन दिनुभयो ।
जिल्ला अस्पतालमा बिरामीको चाप बढेपछि अस्पताल विकास समितिले त्रिपालले बेरेर वैकल्पिक शय्याको व्यवस्थापन गरेको थियो । अस्पताल विकास समितिका अध्यक्ष टेकबहादुर कुसारीले अस्पतालको क्षमता १५ शय्याको मात्र रहेको तर दैनिक ४० बिरामी भर्ना गर्नुपर्ने बाध्यता रहेकाले वैकल्पिक व्यवस्था गरिएको जानकारी दिनुभयो । अस्पतालका स्वास्थ्य सेवा व्यवस्थापक डा. महेश चौलागाईंले मन्त्रालयबाट ध्यानाकर्षण भएको र कार्ययोजना माग गरिएको पत्र प्राप्त भएको जानकारी दिनुभयो । उहाँले दुई दिनभित्र कार्ययोजना मन्त्रालयमा पठाउने तयारी सुरु गरिएकोसमेत बताउनुभयो । मनसुनजन्य तथा विपत्का घटना, मौसमी फ्लुलगायतका बिरामी बढिरहेका बताउँदै डा. चौलागाईंले अस्पतालको क्षमता विकास हुन नसक्दा यो समस्या आएको बताउनुभयो । साधारण र इमर्जेन्सी वार्ड दिनहुँ बिरामीले भरिने गरेको उहाँले जनाउनुभयो । अहिले जिल्ला अस्पतालमा सुविधासम्पन्न भवन निर्माणाधीन अवस्थामा छ । गत असार मसान्तमा सम्पन्न हुनुपर्ने भवन समयमै निर्माण सम्पन्न हुन नसकेको र अब तीन महिनाभित्र सम्पन्न हुने गरी ठेकेदार कम्पनीले काम गरिरहेको अस्पताल व्यवस्थापक डा. चौलागाईंले उल्लेख गर्नुभयो । हाल जिल्ला अस्पतालबाट बालरोग र स्त्रीरोग गरी दुई वटा विशेषज्ञ सेवा प्रवाह भइरहेका छन् । यसअघि हाडजोर्नी र नसासम्बन्धी विशेषज्ञ सेवा सञ्चालन भए पनि जनशक्ति अभावले रोकिएका छन् । २०४५ सालमा स्थापित यस अस्पतालको क्षमता तथा जनशक्ति विकास हुन सकिरहेको छैन ।