• १० मंसिर २०८१, सोमबार

श्रमबजारका परिदृश्य

blog

उत्पादकत्व बढाई आर्थिक विकास गर्न श्रमशक्तिको मुख्य भूमिका रहन्छ । उत्पादन क्रियामा श्रमिक सक्रिय साधनसहित उपभोगकर्ता पनि हो । श्रमिक सबल भए आर्थिक पक्षको सबै पाटो सक्रिय हुन्छन् । विश्वमा श्रमिकको बेग्लै पहिचान भएकाले कार्लमाक्र्सको दास क्यापिटलमा श्रमिक उत्पादनका महत्वपूर्ण साधन हुन् भन्ने व्याख्या गरिएको पाइन्छ । कम्युनिजमको अवधारणा श्रमिकको भूमिकाबाट आएको हो । आर्थिक रूपान्तरणको बलियो र सक्रिय जीवित साधन श्रमिक भएकाले उत्पादन क्रिया गरी स्वआर्जन गर्न सक्रिय हुन्छन् भने श्रमदातासँगको सहमतिमा उत्पादनमुखी भूमिकामा क्रियाशील भएको पाइन्छ ।

विश्वबजारमा एकातिर प्रविधिको विकाससँगै अत्यधिक अवसर देखिएका छन् भने अर्कातिर चुनौतीका चाङ पनि देखिन्छन् । श्रम गर्ने सम्बन्धमा बङ्गलादेशका प्रधानमन्त्री मुहम्मद युनुसले जागिर खोज्नेभन्दा पनि जागिर सिर्जना गर्नेबारे ध्यान दिन अनुरोध गर्नुभएको छ । उहाँको भनाइको तात्पर्य उद्यमी बन भन्ने हो । नेपालका उद्योगपति विनोद चौधरीले श्रमबजारमा आवश्यक जनशक्ति नपाइने तर सिप र योग्यता कमजोर भएको जनशक्तिका लागि भने भनसुन बढी भएको बताउनुभएको छ । उहाँको भनाइले हाम्रो शिक्षा प्रणाली श्रमबजार पे्ररित हुन सकेन भन्ने हो । 

नेपालको श्रम बजारमा प्रतिवर्ष ५,५०,००० थप श्रमिक आउँछन् । ती श्रमिकमध्ये करिब ४० प्रतिशत वैदेशिक रोजगारीमा जान सक्रिय देखिन्छन् । बाँकी स्वदेशमै उपयोग गर्नु पर्ने दबाब छ । श्रमिकको स्तर हेर्दा अदक्ष श्रमिक धेरै सङ्ख्यामा छन् । उनीहरूसँग श्रमबजारमा बिकाउ हुने सिपको अभाव देखिन्छ । प्रायः अदक्ष श्रमिक मौसमी रोजगारीमा सक्रिय हुन्छन् भने आर्थिक उपार्जनको पक्ष कमजोर भएको पाइन्छ । भारतको श्रम बजारमा मौसमी श्रमिकको माग बढी देखिन्छ । खाडी मुलुक र मलेसिया अदक्ष श्रमिकको श्रम गन्तव्य हो । अवैधानिक तवरले आर्थिक अवसर खोज्न जाने भिडमा पनि अदक्ष श्रमिकको सङ्ख्या बढी नै देखिन्छ । 

श्रमबजारमा मोलमोलाइले कमजोर अवस्थाका कारण श्रमिकको ज्याला र सुविधा पर्याप्त भएको पाइँदैन । ‘थ्री डी’ (कठिन, फोहोर र खतरनाक) काम गर्नु पर्दा मृत्युदर पनि उच्च नै रहेको छ । अदक्ष श्रमिकको माग पक्ष कमजोर छ भने आपूर्ति पक्ष अधिक छ । वैदेशिक रोजगारीमा धकेल्ने सिद्धान्त प्रेरित हुने हुँदा अदक्ष श्रमिकको छनोटदेखि काम सुरु गर्दासम्मका अवरोध धेरै छन् । विद्यालय शिक्षा र तालिम अदक्ष श्रमिकको सिप अभिवृद्धि गर्न अनुकूल भएनन् भन्ने गुनासो छ । 

अदक्ष श्रमिकको दक्षता अभिवृद्धि गर्न राज्यले प्रभावकारी काम गर्नु पर्छ । सङ्घ र प्रदेश सरकारको सहयोगमा स्थानीय सरकारले श्रमिकको अभिलेख राख्ने र विद्यालय शिक्षा तथा तालिम श्रमबजार पे्ररित बनाउनु पर्छ । अनि स्थानीय श्रमबजार र वैदेशिक श्रमिक मागका आधारमा व्यावसायिक र रोजगारमूलक सिप सिकाएर श्रमबजारमा तुरुन्तै बिकाउ हुने बनाउनु पर्छ । वैदेशिक रोजगारीमा पनि अदक्ष श्रमिक बढी शोषणमा रहेको गुनासो रहेकाले त्यस्ता विकृति अन्त्य गर्न श्रम कूटनीति र प्रशासन प्रभावकारी बनाउन आवश्यक छ । अदक्ष श्रमिकको अरू श्रमिकभन्दा ‘थ्री डी’ मा काम गर्नु पर्दा मृत्युदर बढी भएकाले श्रम सुरक्षामा ध्यान दिन जरुरी देखिन्छ । श्रमिकको माग पक्ष बलियो बनाई दक्ष र योग्य भएपछि धकेल्ने होइन कि आउ भन्ने सिद्धान्तबाट प्रेरित गरी विदेशमा श्रम आपूर्ति गर्नु पर्छ । श्रम व्यवस्थापनमा आन्तरिक श्रमबजारको मागमा प्रतिकूलता हुने गरी काम गर्नुहुँदैन । 

सामान्य सिप र योग्यता भएको विद्यालय शिक्षा र सामान्य सिप विकासको तालिम प्राप्त तथा कार्य अनुभवबाट श्रमिक अर्धदक्ष भएको बताइन्छ । अर्धदक्ष श्रमिकले सिप अनुसार काम गर्ने अवसर पाएमा दक्ष हुन सक्छ । विश्वविद्यालय शिक्षा प्राप्त कमजोर योग्यता भएको मानिसलाई पनि अर्धदक्ष श्रमिकका रूपमा राखेको पाइन्छ । निर्माण, होटल, कृषि, उद्योग जस्ता व्यवसायमा सामान्य सिप भएका जनशक्तिलाई अर्धदक्षमा लिइन्छ । अर्धदक्ष जनशक्तिको माग पक्ष अदक्षकोभन्दा बढी हुन्छ भने ज्याला र सुविधामा मोलमोलाइ गर्न सक्छन् । वैदेशिक रोजगारीमा धकेल्ने र तान्ने दुवै सिद्धान्त पे्ररित भएको पाइन्छ । वैदेशिक रोजागरीका अवसरमा अदक्षकै गन्तव्यमा अर्धदक्ष श्रमिकको आकर्षण देखिन्छ । काममा लगाव, अनुभव र सिप कौशल बढी भएका अर्धदक्ष श्रमिकको विश्व श्रमबजारमा माग हुने देखिन्छ ।

अर्धदक्ष श्रमिकका लागि सङ्घ सरकारको सहयोगमा प्रदेश सरकारले समयसापेक्ष शिक्षा र तालिमका कार्यफ्रम सञ्चालन गर्न आवश्यक छ । वैदेशिक रोजगारीमा जान अनिवार्य अर्धदक्ष वा दक्ष भएको प्रमाणित गरेर पठाउने व्यवस्थामा ध्यान जानु पर्छ । शारीरिक अवस्था र रुचि अनुसार अदक्ष श्रमिकलाई अर्धदक्ष बनाउन विद्यालय शिक्षा र प्रभावकारी तालिम दिई श्रमको उत्पादन बढाउन सके आर्थिक योगदान बढोत्तरी गर्न सकिन्छ । अर्धदक्ष श्रमिक कामका लागि तयार भएको जनशक्ति हो । त्यसैले सिप प्राप्त हुनासाथ श्रमबजारमा माग र आपूर्तिको सम्बोधन गर्न सूचना प्रवाह गरी अर्धदक्ष श्रमिकको उपयोग गर्न ध्यान दिन आवश्यक छ  । 

सिपयुक्त सक्षम, योग्य र कामको अनुभवी व्यक्ति दक्ष कामदारका रूपमा लिइन्छ । विद्यालय र विश्वविद्यालय शिक्षा प्राप्त सिपमूलक तालिम लिएका आफ्नो कार्यक्षेत्रमा निपुण व्यक्तिको उत्पादकत्व पनि बढी हुन्छ । श्रमबजारमा माग पक्ष बलियो भएका कारण ज्याला र सुविधाको मोलमोलाइ श्रमिकको पक्षमा रहने आफ्नै बलबुताले अन्तर्राष्ट्रिय क्षेत्रमा कामका लागि तान्ने सिद्धान्त पे्ररित हुन्छ । दक्ष श्रमिकलाई तलब र सुविधासहित कामले खोजेको हुन्छ । व्यावसायिक र सिपपमूलक योग्यताका आधारमा कार्य क्षेत्रमा दक्षले नेतृत्व लिने अर्धदक्ष र अदक्षलाई पनि परिचालित गरेको हुन्छ । श्रमिकलाई दक्ष बनाई उत्पादकत्व र उत्पादनबिच सौहार्दता हुनु पर्छ । दक्ष श्रमिकले श्रम बजार गतिशील बनाई उत्पादनलाई गति दिन रणनीतिक कार्यदिशा आवश्यक छ ।

दक्ष जनशक्तिको स्वदेशमै उपयोग गर्न लगानी बढाउने, वैदेशिक लगानी आकर्षित गर्ने र अन्तर्राष्ट्रिय श्रम बजारमा सुखद अवस्थाका लागि आर्थिक कूटनीति प्रभावकारी बनाउनुपर्ने हुन्छ । अहिले नेपालका दक्ष जनशक्ति विदेश पलायनले आन्तरिक श्रम बजारमा प्रतिकूलता हुने अनुमान गर्न थालिएको छ । विशेषतः विदेशमा अध्ययन गर्न जाने र अध्ययनपछि स्वदेशमा नफर्कने युवाशक्तिको विषयमा चर्चा हुने गरको छ । 

काम गर्ने उमेरका राष्ट्रिय स्रोत पलायनले आर्थिक क्रियाशीलतामा अवरोध हुन सक्ने हुँदा जनशकित उपयोगका आकर्षक रणनीतिक योजनासहित जनशक्तिको विकास र व्यवस्थापनमा जोड दिनु पर्छ । दक्ष श्रमिक विश्वबजारका आकर्षक जनशक्ति भएकाले स्वदेशमै श्रम उपयोग गर्ने रणनीतिसहितको मार्गचित्र बनाई अघि बढ्न आवश्यक छ । 

दक्ष जनशक्तिको माथिल्लो श्रेणीमा व्यवस्थापक, कार्यकारी प्रमुख, नेतृत्व तह एवं विषय विज्ञको समूह पर्छन् । यो समूहले सम्पूर्ण तहका श्रमिकको श्रम जिम्मेवारी, कार्य विभाजन र समयतालिका र अन्य स्रोतसँगको संयोजनलगायत व्यवस्थापन गर्छ । समग्रमा श्रमिकलाई दक्ष बनाउने उत्पादकत्व बढाउने, श्रमिक उपयोग गर्न लगानी आकर्षित गर्ने विषयमा सक्रियताको खाँचो छ । नेपालमा आन्तरिक अवसर वृद्धि र आकर्षण बढाउन नसक्दा जनशक्ति टिकाउन सकिएन, सबैको विदेश मोह भयो भनिन्छ । हुन पनि युवाशक्ति पलायनले राष्ट्रिय आवश्यकता कमजोर हुन्छ । यही कुरो अनुमान गर्न थालिएको छ ।

श्रम शक्तिको उपयोग गर्न लगानी बढाउने, वैदेशिक लगानी बढाई दक्ष जनशक्ति र उत्पादकत्व बढाउन जोड दिने, श्रम कूटनीति र श्रम व्यवस्थापनमा सुधार गर्ने, सिपयुक्त श्रमिक मात्र वैदेशिक रोजगारीमा पठाउने, वैदेशिक रोजगारीमा महिला श्रमलाई व्यवस्थित र सम्मानजनक बनाउने रणनीति बनाउन जरुरी छ । बालश्रम निर्मूल गर्ने, स्वदेशको अवसर बिर्सेर अवैध तरिकाले बिदेसिन खाज्ने कार्य निरुत्साहित गर्ने, आन्तरिक श्रमबजारलाई प्रभावकारी बनाउने, श्रमिक सुरक्षामा ध्यान दिने, श्रमिक सङ्गठनलाई उत्पादकत्व वृद्धिमा प्रेरित गर्ने अभियानमा प्रोत्साहित गर्नु पर्छ । अवैध श्रमको प्रभावलाई निरुत्साहित गर्ने, अदक्ष श्रमिकलाई अर्धदक्ष र दक्ष बनाई उत्पादन क्षेत्रमा सक्रिय पार्ने जस्ता विषयमा रणनीतिक सुधारको खाँचो छ ।    

Author

भरत गौतम