• ३ भदौ २०८१, सोमबार

एक पुरुषको हत्या आरोपमा दम्पती पक्राउ

blog

राजु लामिछाने

रुकुमपश्चिम, भदौ ३ गते । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४ दम्दुका एक पुरुषको हत्या आरोपमा प्रहरीले सोही गाउँका एक दम्पतीलाई पक्राउ गरेको छ । 

अन्दाजी ४३ वर्षीय डिलबहादुर बुढाको हत्या आरोपमा प्रहरीले २६ वर्षीय सन्तोष केसी र २४ वर्षीया मिना बुढाथोकी केसीलाई पक्राउ गरेको हो । सन्तोष र मिना श्रीमान् श्रीमती हुनुहुन्छ । 

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखत बहादुर शाहीका अनुसार आइतबार बेलुका बुढाको हत्या भएको थियो । बुवा मोहवीर खत्रीको साथमा आफ्नै घरमा आएका बुढालाई केसी दम्पतीले हत्या गरेको खुल्न आएको उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार बुवाको साथमा आएका बुढाले मादक पदार्थ सेवन गरेका थिए । सन्तोष घरभन्दा केही पर गएको बेला उहाँको श्रीमती मिनालाई मृतक बुढाले अश्लील शब्द प्रयोग गर्दै हातपात गरेका थिए ।

सोही क्रममा मिनाले प्रतिकार गर्ने क्रममा नजिकै रहेको दाउराको चिर्पटले हानेको र उक्त बेला सन्तोष समेत आएर सोही चिर्पटले टाउकोमा हानेको खुल्न आएको प्रहरी निरीक्षक शाहीले बताउनुभयो । त्यसपछि बुढाको टाउकोमा चोट लागेको र रक्ताम्मे भएर ढलेको बताइएको छ । 

बुढा मृत अवस्थामा फेला परेको भन्दै प्रहरीलाई सोमबार बिहान जानकारी गराइएको थियो । प्रहरी निरीक्षक शाहीले घटनास्थल पुगेर अनुसन्धान गर्दा हत्या भएको पत्ता लागेको र हत्यामा संलग्न दुवै जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय ल्याइएको बताउनुभयो । 

घटनास्थलबाट मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको छ । प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको पनि जनाएको छ ।