• ३ भदौ २०८१, सोमबार

बाँदर नियन्त्रणमा जुट्दै देवानगञ्ज गाउँपालिका

blog

जयकृष्ण यादव 

इनरुवा, भदौ ३ गते । सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकाले बाँदर नियन्त्रणको अभियान थालेको छ । देवानगञ्ज गाउँपालिका ३ र ४ कप्तानगञ्जका स्थानीय बासिन्दा बाँदरको उपद्रोले आजित भएपछि बाँदर नियन्त्रणका लागि गाउँपालिकाले नियन्त्रण अभियान थालेको हो । 

दशकयता बाँदरले किसानले लगाएको बालीमा क्षति गर्ने, बाटोमा हिँड्ने सर्वसाधारणलाई दुःख दिन थालेपछि बाँदर नियन्त्रणमा जुटेको देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताले जानकारी दिनुभयो ।

सीमका गाउँमा बाँदरले सर्वसाधारणले लगाएको तरकारी तथा फलफूल खाई नष्ट गर्ने, हुलकाहुल बालीमा पसेर कुल्ची दिने, मकैमा क्षति गर्ने दुःख दिन थालेपछि बाध्य भएर गाउँपालिकाले चालु आर्थिक वर्षमा बजेट नै विनियोजन गरेर बाँदर नियन्त्रण अभियान थालेको मेहताले बताउनुभयो । 

भारतबाट आउने बाँदरको समूहले देवानगञ्ज गाउँपालिकामा आतङ्क मच्चाएको सयौंको गुनासो आएले गाउँपालिकाले नियन्त्रण अभियानमा जुटेको जनाएको छ । बाँदरबाट त्रसित र आजित भएका किसानले नियन्त्रणका लागि गाउँपालिकालाई गुहारेपछि बाँदर नियन्त्रणका लागि प्रविधि टोली नै परिचालन गरेको जनाएको छ । खेतबारीमा लगाइएको बालीनाली बाँदरले नष्ट गर्नुकासाथै भान्सा कोठा भित्रका खानेकुरा समेत खाने तथा मानिसहरूलाई आक्रमण गर्न थालेपछि स्थानीयवासी बाँदर आतङ्कबाट त्रसित बनेका थिए । 

देवानगञ्ज गाउँपालिका-४ दक्षिणीबस्ती कप्तानगञ्ज पाचोसिम्बरमा प्रवासी बाँदरहरूले स्थायी रूपमा बस्न थालेपछि स्थानीयवासीलाई सास्ती भएको हो। दुई सयको सङ्ख्यामा गाउँ भित्रिएको बाँदरहरूले सागसब्जी, तरकारी र अन्नबाली खाने तथा खेदाउने क्रममा मानिसहरूलाई समेत आक्रमण गरेर घाइते बनाउने गरेको छ । आँगनमा सुकाइरहेको लुगाफाटो च्यातिदिने र मानिसहरूलाई चिथोरेर घाइते बनाउने समेत गर्छन् ।