• ५ भदौ २०८१, बुधबार

वैदेशिक लगानी प्रतिबद्धता, पर्यटन र सेवा क्षेत्रमा आकर्षण

blog

काठमाडौँ, भदौ ३ गते । चालु आवको पहिलो महिना (साउन) मा आठ अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएका छन् ।उद्योग विभागका तथ्याङ्क अनुसार साउन महिनामा विभिन्न देशका लगानीकर्ताले ५९ परियोजनामार्फत आठ अर्ब ५५ करोड ५० लाख रुपियाँ बराबरको लगानी प्रतिबद्धता गरेको हुन् ।

आर्थिक वर्ष २०८०/८१ को साउन महिनामा मात्र ११ अर्ब ९३ करोड रुपियाँको लगानी प्रतिबद्धता आएको थियो । गत आवको साउनको तुलनामा चालु आवको साउनमा तीन अर्ब रुपियाँले लगानी प्रतिबद्धतामा कमी आएको विभागको तथ्याङ्कले देखाएको छ । साना परियोजना ५७ र ठुला दुई वटा परियोजनामा विदेशी लगानी प्रतिबद्धता आएको छ । सबैभन्दा धेरै लगानी प्रतिबद्धता साना परियोजनामा रहेको छ । 

नेपालमा लगानी गर्ने भनेर लगानीकर्ताको सबैभन्दा बढी आकर्षण पर्यटन र सेवामूलक क्षेत्रको परियोजनामा रहेको विभागले जनाएको छ । नेपालमा लगानी प्रतिबद्धता जाहेर गरेका ५९ परियोजनामध्ये सबैभन्दा बढी ६८ प्रतिशत अर्थात् ४० परियोजना पर्यटन क्षेत्रका छन् । 

एक महिनामा सेवामूलक क्षेत्रका १२ परियोजनामार्फत कुल लगानीको १६ प्रतिशत लगानी प्रतिबद्धता आएको छ । उत्पादनमूलक क्षेत्रका तीन र सूचना प्रविधि र कृषि क्षेत्रका समान दुई परियोजनामार्फत विभागमा लगानीको प्रतिबद्धता आएको छ ।

विभागका अनुसार यस अवधिमा अटोमेटिक रुटमा (स्वचालित) मार्र्गबाट ३१  परियोजनामा ५९ करोड ७५ लाख ६० हजार रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । लगानीकर्तालाई ५० करोडसम्म लगानी स्वचालित मार्गबाट गर्न सक्ने व्यवस्था छ । 

यस्तो लगानी अटोमेटिक रुटबाट हाल आठ अर्ब ७१ करोड ३७ लाख रुपियाँ बराबरको प्रतिबद्धता आएको छ । विभागले गत वैशाख १७ गतेदेखि अटोमेटिक रुटमार्फत वैदेशिक लगानी स्वीकृत गर्ने व्यवस्था मिलाएको हो ।

विभागका अनुसार यस अवधिमा अटोमेटिक रुटमार्फत दर्ता भएका कुल ३१ परियोजनामध्ये २२ परियोजना सूचना प्रविधि क्षेत्रका छन् । यी २२ परियोजनामार्फत साउनमा २० करोड २५ लाख ५० हजार रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

चालु आवको पहिलो महिना साउनमा सेयर पर्चेज एग्रिमेन्ट, सेयर सब्सक्रिप्सन एग्रिमेन्ट र प्रविधि हस्तान्तरण शीर्षकमा थप ३१ करोड २० लाख १२ हजार रुपियाँ लगानी प्रतिबद्धता आएको छ । 

आठ अर्ब चालिस करोड वैदेशिक लगानी

आव २०८०/८१ मा ६१ अर्ब ९० करोड रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएकोमा आठ अर्ब ४० करोड रुपियाँ मात्र भित्रिएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । आव २०७९/८० मा ३८ अर्ब प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएकोमा छ अर्ब १७ करोड रुपियाँ भित्रिएको थियो ।