• १६ भदौ २०८१, आइतबार

लाखौँ खर्च गरिएको नारायणी नदी किनार खण्डहर

blog

शालिग्राम नेपाल 

चितवन, भदौ ३ गते । लाखौँ खर्च गरेर समुद्री तट (सी बिच) झैँ बनाउन खोजिएको नारायणी नदी किनार बाढीले खण्डहर बनाएको छ ।  सात वर्षयता नारायणी नदी किनारमा हरेक वर्ष एक करोड रुपियाँको हाराहारीमा बजेट खर्च गरेर पूर्वाधार निर्माण गरिँदै आएको छ । नदी किनारलाई महानगरको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आकर्षक फुटपाथ निर्माणदेखि नमुना ‘सी बिच’ को भौतिक संरचना निर्माण गरिएको थियो तर यस वर्षको बाढीले ती सबै संरचनालाई भत्काएर खण्डहर बनाएको छ । 

पाँच वर्षअगाडि ९७ लाख रुपियाँको लगानीमा नदी किनारमा फुटपाथ निर्माण गरिएको थियो । गत वर्ष महानगरपालिकालाई भ्रमण वर्ष घोषणा गर्न औपचारिक कार्यव्रmम आयोजना गर्दा नदी किनारको मैदानलाई सम्याउन र दुवो रोप्न ठुलो रकम खर्च गरिएको थियो । अहिले ती स्थानमा पानी जमेको छ । 

भरतपुर महानगरपालिकाका इन्जिनियर साकार लामाले भन्नुभयो, “औपचारिक कार्यक्रमका लागि भनेर दुबो रोप्न तीन लाख रुपियाँ खर्च गरिएको हो, अन्य खर्च भएको छैन ।” खाल्डो भएको स्थानमा पुर्न र दुबो रोप्न, आकर्षक बनाउन अन्य खर्च गरिएको भए पनि महानगरपालिकाले खर्चको विवरण खुलाउन चाहेन । 

नदी किनारलाई आकर्षक बनाउन (सी बिच) को नमुना बनाउन १६ करोड रुपियाँ खर्च गरिएको छ । ढलानमा ठुलो असर नगरे पनि नदीले खोतलेर कमजोर बनाएको नारायणी नदी व्यवस्थापन कार्यालयका प्रमुख मनोहरकुमार साहले जानकारी दिनुभयो । ठाडो नदीमा बहाव तीव्र भएकाले त्यहाँ क्षतिको सम्भावना रहेको उहाँले बताउनुभयो ।  

मेला महोत्वस, सांस्कृतिक कार्यक्रम, कुनै जमघट तथा साँझ बिहान मानिसको भिड लाग्ने नदी किनारमा अहिले बस्ने स्थानसमेत छैन । नदी किनारमा साँझ आकर्षक बनाउन दर्जनाँै सोलार पोलमा बत्ती राखिएको र समुद्री किनारमा झैँ बिरुवाहरू रोपिएको थियो । अहिले सोलार बत्ती लडाएको र बिरुवा बाढीले बगाएको छ । 

हरेक दुई वर्षमा आयोजना हुने चितवन महोत्वसको समयमा खाल्डो पुर्न लाखौँ खर्च उद्योग वाणिज्य सङ्घ चितवनले गर्दै आएको छ । सङ्घका अध्यक्ष सुमनकुमार श्रेष्ठले भन्नुभयो, “नदी किनारमा हरेक वर्ष बाढीले क्षति गर्दै आएकोले संरक्षणको दीर्घकालीन उपाय सोच्नु पर्दछ । माटो नकाट्ने गरी तटबन्धन गरेर जोगाउने उपाय सोच्नु पर्छ ।” 

बिहान बेलुका टहल्न जानेलाई अहिले यो स्थान सकस भएको छ भने नदी किनारमा व्यापार गर्न बसेकाको व्यापार प्रभावित भएको छ । भदौमा पनि नारायणी नदीमा पानीको बहाव घटेको छैन । जलमापन केन्द्रले अझै केही हप्ता नदी किनारमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।