• २ भदौ २०८१, आइतबार

प्रदेश सरकारका सय दिन

पुराना आयोजना सम्पन्न निर्माणाधीनले गति दिँदै

blog

विराटनगर समाचारदाता

विराटनगर, भदौ २ गते । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा गठन भएको प्रदेश सरकारले एक सय दिन पूरा गरेको छ । सय दिन पूरा गरेको सन्दर्भमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा विशेष कार्यक्रम आयोजना गरी सरकारका ६० उपलब्धि सार्वजनिक गरिएको छ । 

विगतमा सुरु गरेका कतिपय आयोजना यस अवधिमा सम्पन्न भएको विषयलाई सरकारले उपलब्धिका रूपमा उल्लेख गरेको छ । विशेष गरी सिधुवा–शुक्रबारे–ओख्रे १३ किलोमिटर प्रदेशस्तरीय सडकको निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ  । 

त्यस्तै सुनसरीको सर्दु खोलामा पुल निर्माण सम्पन्न र थुप्रै निर्माणाधीन आयोजनालाई तीव्र गतिमा सञ्चालन गर्न लागिएको जनाइएको छ । प्रदेशप्रतिको नकारात्मक धारणा जबरजस्ती स्थापित गर्ने प्रयत्न भइरहेको बेलामा सडक पूर्वाधारतर्फ उल्लेख्य प्रगति गरेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनुभयो ।

“प्रदेश सरकारले काम गरेन भन्ने गलत प्रचारलाई हटाउन पहिले नै सुरु भएका योजनालाई उपलब्धिका रूपमा सार्वजनिक गरेका छौँ, सय दिनमा सुरु गरेर सम्पन्न भएका योजना होइनन् तर यस अवधिमा सम्पन्न भएका हुन्,” मुख्यमन्त्री कार्कीले भन्नुभयो । यसले प्रदेश सरकारले विकास निर्माणको काममा प्रगति गरिरहेको छ भन्ने सन्देश दिएको दाबी सरकारको छ । मुख्यमन्त्री कार्कीले आउँदो २०८२ साललाई प्रदेश पर्यटन वर्ष घोषणा गर्ने तयारी अगाडि बढाइएको र प्रदेश राजधानी विराटनगरको व्यस्त रहने वरगाछी चोकमा ट्राफिक लाइट जडान गरिएको जानकारी दिनुभयो । 

त्यस्तै भेटेरिनरी अस्पताल जिल्लाहरूमा विस्तार गरेको आदि कार्य सय दिनभित्र भएका उपलब्धि भएको उहाँले बताउनुभयो । वैशाख २७ गते तेस्रो पटक मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीले धनकुटाको भेडेटारमा प्रदेश योजना आयोगको समन्वयमा ‘स्काई वाक’ स्थापना गरी पर्यटन प्रवर्धनमा महत्त्वपूर्ण काम गरेको जानकारी दिनुभयो । 

“प्रदेश सरकारले गरेका कामको सही ढङ्गले जनतामाझ प्रचारप्रसार नभएको गुनासो राख्दै पर्याप्त सूचनाको अभावमा नकारात्मक धारणा विकास हुन थालेकोले सरकारले गरेका प्रगतिलाई यसरी सार्वजनिक गरेका हौँ,” उहाँले थप्नुभयो । 

कोशीलाई पूर्ण खोप प्रदेश घोषणा, सुनसरीको हरिनगरमा प्रदेशस्तरीय सडक निर्माण सम्पन्न हुनुलाई पनि सरकारले उपलब्धिका रूपमा राखेको छ । मुख्यमन्त्री कार्यालयमा प्रदेशवासीको गुनासो सुन्न ‘हेल्लो सिएम’ कार्यक्रम आरम्भ गरेको छ । विपत् सूचना पोर्टल सञ्चालनमा ल्याएको छ भने प्रदेशका पाँच पालिकामा उद्यमशीलता कार्यक्रम, अन्तर्राष्ट्रिय चिया सम्मेलनको तयारी, जडीबुटी प्रशोधन केन्द्र स्थापनालगायत विकास निर्माणका काम अघि बढाएको छ । 

यस्तै शान्तिसुरक्षातर्फ अस्थायी प्रहरी पोस्ट स्थापना, धार्मिक पर्यटकीय क्षेत्रको विकासका लागि पर्यटन विकास समिति गठन र विपत्मा परेकालाई तत्काल उद्धार र राहत वितरण गर्ने कार्यलाई प्राथमिकतामा राखेको जनाइएको छ । सङ्खुवासभा र चीनसँग जोड्ने किमाथाङ्का नाका मार्ग पनि आफ्नै कार्यकालमा भएको र त्यसले भोटखोला क्षेत्रका स्थानीय र सङ्खुवासभाका जनताका लागि समृद्धिको ढोका खोलेको उहाँले बताउनुभयो । 

यसैबिचमा सत्ता गठबन्धनमा परिवर्तन आएसँगै नेकपा (माओवादी केन्द्र) साउन ११ गते सरकारबाट बाहिरिएको थियो । माओवादी सरकारबाट हटेको २१ दिन बितिसक्दा पनि नेपाली कांग्रेस सरकारमा सहभागी नहुँदा मन्त्रीपरिषद्ले पूर्णता पाउन सकेको छैन । मुख्यमन्त्री कार्कीले भन्नुभयो, “माओवादी सरकारबाट बाहिरिएपछि कांग्रेसले सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ, मन्त्रालय बाँडफाँटको टुङ्गो पनि भइसकेको छ, सायद दुई चार दिनभित्रै कांग्रेस सरकारमा आउँछ होला ।”