• ११ पुस २०८१, बिहिबार

मौलिक प्रणाली जलद्रोणी

blog

सुनाकोठीमा बालकुमारी मन्दिरसँगै रहेको जलद्रोणी । हरिप्रसाद शर्माद्वारा लिखित चित्र ।

लिच्छविकालदेखि विकसित हुँदै आएको सफा पानी उपलब्ध गराउने जलद्रोणी अहिले सडक विस्तार र बस्ती विकासका कारण पूर्ण रूपमा लोप हुने अवस्थामा पुगिसकेको छ । भविष्यमा यी अमूल्य सम्पदालाई इतिहासमा मात्र सीमित रहन नदिन नयाँ पुस्ताले यसको महत्व एवं उपयोगितालाई बुझ्न जरुरी छ । 

पञ्च तत्वका रूपमा रहेको पानी मानव जीवनका लागि अति आवश्यक छ । पानीमा मानिसको जीवन अडिएको हुन्छ । पानीको खाँचो पूरा गर्न लिच्छविकालदेखि नै पुर्खाहरूले विभिन्न किसिमका ढुङ्गेधारा, जलद्रोणी, पोखरी, इनार आदि बनाउन लगाएका थिए । तिर्खाएका मानिसले पानी पिउन पाउनुलाई मानिसहरू धर्म सम्झन्थे । अहिले पनि तिर्खा लागेको मानिसलाई पानी पिलाएमा पुण्य प्राप्त हुने विश्वास गरिन्छ । ललितपुरमा हुने करुणामयको रथ जात्रामा तिर्खाएका मानिसलाई गाग्रीमा पानी बोकी पिलाउँदै गरेको दृश्य अहिले पनि देख्न सकिन्छ । 

लिच्छविकालमा जलद्रोणी लोकप्रिय भएको थियो । मुहानदेखि पानी ल्याउनुपर्ने हुँदा धारा बनाउन नसक्ने व्यक्तिले जलद्रोणी बनाउने गर्थे । पुण्य प्राप्तिका लागि नै राजादेखि प्रजासम्मले जलद्रोणी बनाई संरक्षणको बन्दोबस्त गरेको इतिहास हामीसामु छ । भक्तपुरको सुकुलढोका दक्षिणोत्तर तेर्सो परेको बजारको मूल सडकमा रहेको पूर्वाभिमुख घरको पेटीमा कुँदिएको अभिलेखमा ‘तगस्य कृतादोप शैलद्रोणी...’ भनी जलद्रोणी जनाउनका लागि शैलद्रोणी शब्द उल्लेख गरिएको हुँदा त्यस समयमा ढुङ्गाको जलद्रोणी बनाइन्थ्यो भन्ने प्रस्ट हुन्छ । संवत् २०० मा ढुङ्गे जलद्रोणी बनाई त्यसको हेरचाह ‘श्रीपश्चिमाधिकरण’ ले गर्ने कुरा यो अभिलेखबाट बुझिन्छ । (मजदुर दैनिक, २०७८ माघ १६) धार्मिक विश्वासका कारण मध्यकालमा दानपतिहरू जलद्रोणी बनाई दान गर्थे । यसै कारण मानव बस्ती, मन्दिर, सडक, बाटोछेउमा जलद्रोणीहरू देख्न सकिन्छ । काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न सहर बस्तीमा जलद्रोणीहरू देख्न सकिन्छ । यस्ता जलद्रोणीहरू अहिले मानव सभ्यताको विकास, संस्कृति, परम्परा सम्झाउने इतिहासको साक्षी बनेका छन् । जलद्रोणी निर्माणका क्रममा राखिएका शिला अभिलेखबाट विभिन्न ऐतिहासिक घटनाक्रम, मानव सभ्यता र संस्कृतिलाई बुझ्न मद्दत मिलेको छ । 

संस्कृत शब्द ‘जलद्रोणी’ को नेपाल भाषाको नाम ‘जरुँ’ हो । जरुँ शब्दको अर्थ पानी राख्ने भाँडो  हो । जरुँबाट पानी आउने हुँदा अहिले यसलाई ‘जरुँहिटी’ पनि भन्ने गरिन्छ । यसलाई अर्को शब्दमा ‘टुटेधारा’ भनेर पनि चिन्ने गरिन्छ । यसलाई सम्बोधन गर्न ऐतिहासिक अभिलेखहरूमा ‘जरपनि’, ‘जलधेनु’, ‘टुटेपानी’ शब्दहरूको प्रयोग गरिएको अध्ययनका क्रममा हामी पाउँछौँ । 

तिर्खा लाग्दा प्यास मेटाउन पिउने पानीका लागि बनाइएको पुरानो प्रविधिको विशेष धारा जस्तै हो । यसलार्ई अझ परिष्कृत रूपमा भन्दा ठुलो ढुङ्गालार्ई भित्रबाट ज्यावलको सहाराले खोपेर खोक्रो (खाल्डो) बनाइएको हुन्छ । यस्तो खाल्डोमा पानी राख्ने गरिन्छ । करिब तीन/चार फिट अग्लो पर्खाल जस्तो ढुङ्गा वा इँटाको गारो उठाई त्यसमाथि जलद्रोणीको ढुङ्गालाई राखी माथिबाट छोपिएको हुन्छ । जलद्रोणीभित्र हावाको आवतजावत होस् भन्नाका लागि टम्म नढाकीकन प्वालहरू रहने गरी मिलाई राखिएको हुन्छ । यो एक किसिमको पानी जम्मा गर्ने अहिलेको ट्याङ्की नै हो । जलद्रोणीभित्र पानी सकिएको खण्डमा पानी भर्नका लागि यसको दायाँ, बायाँ वा पछाडि रहेको गोलाकार ढुङ्गाबाट आवश्यकता अनुसार पानी भर्न मिल्ने व्यवस्था गरिएको हुन्छ । यसमा सधैँ पानी रहिरहनुपर्ने मान्यताका कारण कुनै पनि व्यक्तिले धारा, पँधेरो, कुवा, इनारबाट पानी भरेर घर फर्किंदा बाटोमा जलद्रोणी देखेमा अलिकति पानी त्यसमा खन्याउनुपर्ने प्रचलन थियो । कुनै पनि व्यक्तिले पानी लिएर फर्किंदा जलद्रोणीमा पानी नखन्याए त्यो व्यक्ति मृत्युपछि अतृप्त आत्मा भएर रहने जनश्रुति अहिले पनि समाजमा सुन्न पाइन्छ । समाजमा प्रचलित यस्ता जनश्रुतिका कारण जलद्रोणीमा पानीको कमी हुन दिइँदैन ।  

सबै प्रकारका जलद्रोणी बलौटे ढुङ्गाबाट बनाइएका हुन्थे । यस्तो ढुङ्गामा पानीको चिस्यान लामो समयसम्म रहिरहन्छ । पानी भर्न खोपेको ठाउँमा विशेष प्रकारको लेपन गरिएको हुन्थ्यो । यसका कारण पानीमा चाँडै लेउ लाग्दैन । जलद्रोणीमा रहेको प्वालबाट हावा आवतजावत हुने हुँदा पानी तातो हुन पाउँदैन । मानिसमा रहेको धार्मिक आस्थाका कारण जलद्रोणीको भित्तामा विभिन्न देवदेवीका मूर्ति पनि स्थापना गरिएको हुन्छ । ठुलो बलौटे किसिमको ढुङ्गा खोपेर बनाइने यस किसिमको जलद्रोणीमा पानी रहने र महिलाको स्तन आकृतिको डँुडबाट बाहिर पानी झर्न मिल्ने गरी त्यसमा सानो प्वाल राखी पानी पिउनका लागि खोल्न र बन्द गर्न मिल्ने व्यवस्था गरिएको हुन्छ । बालबच्चा नभएका महिलाले धारा, इनार, कुवाबाट ल्याएको पानी जलद्रोणीमा खन्याई अरूलाई खुवाउँदा आफ्ना सन्तानलाई दुध खुवाए जस्तो पुण्य प्राप्त हुने धार्मिक विश्वास गरिन्थ्यो । यसै धार्मिक विश्वासका कारण जलद्रोणी चिरकालसम्म जीवित रहन्थे । 

पहिले पहिले यातायातका साधन नहुँदा मानिसहरू हिँडेरै एक ठाउँबाट अर्को ठाउँमा पुग्ने गर्थे । मानिसहरू तीर्थस्थल पुग्न, मन्दिर दर्शन गर्न, व्यापार/व्यवसाय गर्न, आफन्तजन, इष्टमित्र भेट्न जतिसुकै लामो बाटो पनि हिँडेरै पुग्ने गर्थे । लामो बाटो हिँड्दा थकानका कारण पानीको तिर्खा लाग्नु स्वाभाविक हो । यस्तो अवस्थामा तिर्खा मेटाउन बाटोछेउ, बस्तीभित्र बनाइएको जलद्रोणीबाट पानी पिएर आफ्नो गन्तव्यस्थलमा पुग्नुलाई सहज मान्न सकिन्छ । 

पानीको खाँचो पूर्तिका लागि आर्थिक रूपले सम्पन्न दानपतिहरू पहिले ढुङ्गेधारा बनाउने गर्थे । भित्री सहर, प्रवेशद्वार र बस्तीभित्र ढुङ्गेधारा बनाउने गरिन्थ्यो । यस्तो धारा बनाउन पानीको मुहान बन्दोबस्त हुनुपर्ने, खाली जग्गा आवश्यक पर्ने, पानीको निकासको व्यवस्था हुनुपर्ने र ठुलो धनराशि खर्च गर्नुपर्ने हुँदा मध्यम वर्गका दानपतिहरू कम खर्चमा जलद्रोणी बनाउने गर्थे । ढुङ्गेधाराहरू जमिनको सतहभन्दा अलि तल खाल्डोमा सिँढी बनाएर राखिएका हुन्थे; जहाँबाट विशेष गरी महिला आफ्नो घरमा पानी लिएर आउँथे र अलिकति पानी जलद्रोणीमा खन्याएर जान्थे । यसबाट बटुवा तथा बस्ती वरपरका मानिसका लागि पानी पिउन सहयोग मिल्थ्यो । बटुवाका लागि पिउने पानीको सहज आपूर्ति यस्ता जलद्रोणीबाट हुने गर्थ्यो । 

जलद्रोणीको इतिहास

लिच्छविकालमा जलद्रोणी निर्माण गर्ने कार्यको थालनी भइसकेको थियो । त्यस समयमा सामाजिक सेवाको प्रतिविम्बका रूपमा जलद्रोणी, धारा निर्माण गरिन्थ्यो । दानपतिहरू सामाजिक सेवालाई ध्यानमा राखी बटुवाका लागि थकाइ मेटाउन जलद्रोणीसँगै फल्चा (पाटी) पनि बनाइएको हुन्थ्यो । लामो बाटो हिँड्दा थकाइ लाग्ने, एकान्त बाटोमा मानव बस्ती नहुने हुँदा राति बास बस्न र तिर्खा मेटाउन सजिलो होस् भनेर जलद्रोणी तथा पाटी सँगसँगै बनाइन्थ्यो । पाटन, सुबहालको पूर्वपट्टिको इनारअगाडि टाँसिएको जलद्रोणी संवत् १८७ मा निर्माण गरिएको अभिलेखबाट देखिन्छ । पाटनबाट लुभुतिर जाँदा बाटोमा मोतीटार भन्ने ठाउँमा एउटा जलद्रोणी रहेकोमा हाल सडक विस्तारका  क्रममा भत्काइसकिएको छ । संवत् २५० मा बलिराजले पुण्य बढोस् भनेर यो ढुङ्गले जलद्रोणी निर्माण गर्न लगाएका थिए । चापागाउँ एकुटोलमा गणेश देवलभन्दा दक्षिणतिर एउटा जलद्रोणी रही सोमाथि ब्रह्माको मूर्ति रहेको छ । मूर्ति कमलासनमा बसेको, तीन मुख, दुई हात भई दायाँ हातमा जपमाला र बायाँ हातमा कमण्डलु लिइएको छ । यो देवमूर्ति जलद्रोणीमाथि रहेको र मूर्तिमै पनि ‘मकर’ को मुख भाग अलिकता यसो निकाली देखाइएकाले जलद्रोणीमाथि नै मूर्ति स्थापना गरिएको भनी इतिहासविद् धनवज्र वज्राचार्यले आफ्नो पुस्तक ‘लिच्छविकालका अभिलेख’ (पृष्ठ १५३, १५४) मा लेख्नुभएको छ । गुप्तहरूको प्रभुत्व रहेको समयमा स्थापना भएको ब्रह्मा मूर्ति सो ठाउँमा संरक्षित रहे पनि जलद्रोणी भने रहेको छैन । त्यस समयमा जलद्रोणीमा देवताको मूर्ति स्थापना गर्ने चलन रहेको बुझ्न सकिन्छ ।  

लिच्छविकालमा जलद्रोणीमा नियमित सफा पानी राख्न, मर्मतसम्भारको कार्य गर्नका लागि जग्गा राखी गुठीको व्यवस्था गरिएको हुन्थ्यो । संवत् ४२८ मा वसन्तदेव राजा भइसकेपछि धारा टुटफुट भएमा मर्मत गर्न उनले जग्गा निर्धारित गरिदिएको कुरा सीतापाइलाको अभिलेख (इतिहासविद् धनवज्र वज्राचार्यद्वारा यसको संवत् ४३० देखि ४३९ सम्म हुन सक्ने अनुमान गरिएको) बाट देखिन्छ । पानीको बन्दोबस्त गुठीमार्फत हुने गरी लिच्छविकालमा पाणीय गोष्ठी, प्रणाली गोष्ठी जस्ता विभिन्न गुठीको बन्दोबस्त गरिएको वास्तविकता ललितपुर जिल्लाको लेले भेगको माझटोलमा रहेको शिवदेव, अंशुवर्माको संवत् ५२६ को अभिलेखबाट प्रस्ट हुन्छ । अभिलेखमा प्रणाली (धारा) गोष्ठीका गुठियारलाई आठ मानिका खेत हालेको देखिएको छ । राजा रुद्रदेवको शासनकालमा नेसं २९२ मा ललितपुर गाःबहाल, वलटोलमा जयचन्द्र भन्ने व्यक्तिले दायाँबायाँ पेटीयुक्त जलद्रोणी बनाएका र बाटो सफा गर्न तीन रोपनी खेतसहितको गुठी राखेको देखिन्छ । 

मानदेवको विजयराज्यमा दनिश्वरको दक्षिणतिर तोग्र भन्ने स्थानका बासिन्दाले नदी जस्तै पानी कहिल्यै पनि आउन बन्द नहुने गरी जलद्रोणी प्रतिस्थापन गरेको कुरा नेसं २५९ को अभिलेखमा उल्लेख छ । काठमाडौँको ब्रह्मटोलमा रहेको यो जलद्रोणी दिवङ्गत भएका मानिसको उद्धारका लागि राखिएको देखिन्छ । नेसं २९५ मा राजा अमृतदेवको विजय राज्यमा विजैकति भारीले आफ्ना दिवङ्गत पुत्र जैद्रथजीवको स्वर्ग प्राप्तिको कामनासहित भक्तपुर खौमाटोलस्थित जलद्रोणी बनाई दान गर्नुभएको देखिन्छ । ललितपुर वटुक भैरवस्थित जलद्रोणी नेसं ३१४ मा पिता मद्देवधरचन्द्रको जलद्रोणी प्रतिस्थापन गर्ने मनोरथ पूरा नहुँदै मृत्यु भएको हुँदा तिनका छोरा दिवाकरचन्द्रले प्रणालीका निर्माण गरेको कुरा अभिलेखमा वर्णन गरिएको छ । ललितपुर टेटाथुरको जलद्रोणी नेसं ३६२ मा सरजीव भारोले राखेको देखिन्छ । नेसं ४३७ को अभिलेख अनुसार राजा जयानन्ददेव, जयरुद्र मल्लदेवको शासनकालमा श्री देवी, गौ (गाई), ब्राह्मण तथा पात्रहरूको सुखका लागि र यजमानको इच्छा सिद्धिको उद्देश्यले दिवङ्गत पितृहरूको स्वर्गमा बास होस् भनी देवपाटन, दक्षिणामूर्ति समीप जलद्रोणी प्रतिस्थापन गरेको देखिन्छ । अभिलेखमा जलद्रोणी शब्द परेको देखिँदैन । राजा यक्ष मल्लदेवले आफ्ना दिवङ्गत छोरा राज मल्लदेवको शिवलोक, विष्णुलोक प्राप्तिका साथै राजाको छोरा नातिको आयु आरोग्य, जन धन र महाराज्यलक्ष्मीको उत्तरोत्तर वृद्धिको उद्देश्यले विष्णु भगवान्को मन्दिर, पादपीठ, ध्वजा स्थापना गरी ऋषिकेशको मूर्ति बनाउन लगाई सुनको तोरणसहित प्रतिस्थापन गरी आवास, इनार र सात वटा टुटेधारा व्यवस्था गरेको कुरा भक्तपुर त्रिपुरसुन्दरी देवीको नेसं ५८८ को अभिलेखमा वर्णन गरिएको छ । यस अभिलेख अनुसार राजा यक्ष मल्लको जीवनकाल छँदै छोरा राज मल्लको मृत्यु भएको देखिन्छ । 

नेसं ७७७ मा पाटन, क्वालखुमा कल्याण सिङ, श्रीजय रत्नजूसमेतले टुटेधारा स्थापना गरी पानी हाल्नुपर्ने व्यवस्था गरेको अभिलेखबाट देखिन्छ । अभिलेखमा ‘जलधालि’ शब्द उल्लेख गरी जलद्रोणी प्रतिस्थापन गरेको कुरा परेको छ । त्यस्तै ललितपुरको गुइतटोलमा टुटेधारा रहेको नेसं ८०८ को अभिलेखबाट देखिन्छ । नेसं ७७६ मा काशी भारो, गङ्गाराम भारो, णिव भारोसमेत तीन जना व्यक्तिले जलद्रोणी बनाई प्रतिस्थान गरेको कुरा सोही जलद्रोणीमा कुँदिएको छ । जलद्रोणी चापागाउँको पाउलीटोलमा मूल सडकसँगै पूर्वतिर फर्केको अवस्थामा अहिले पनि छ । अभिलेखमा जलद्रोणीलाई जनाउन ‘जरपनि’ शब्द उल्लेख गरिएको छ ।

दानवीर दाताले जलद्रोणी प्रतिस्थापन गर्दा त्यससँगै विभिन्न देवदेवीको मूर्ति, मन्दिर स्थापना गर्ने, सत्तल, पाटी निर्माण गर्ने गरेको पाइएको छ । यसको हेरचाह, सुरक्षा तथा मर्मतसम्भारका लागि गुठी राख्ने गरेको पाइएको छ । पाटन, क्वाछेँटोलको बालकुमारी देवलको नेसं ८११ को अभिलेख अनुसार योगनरेन्द्र मल्लको विजय राज्यमा भवनसिंह भारोले दिवङ्गत छोरा शङ्करसिंह भारोका नाममा बालकुमारी भट्टारकको स्थापना गरी सँगै फले (पाटी), जलधेनु र नारायण मूर्ति पनि स्थापना गरेका थिए । दाताले यसको बन्दोबस्तका लागि मनबु रोपनी नासित्या दुई खेत राखी गुठीको व्यवस्था गरी दानपतिको छोरा वीरभद्रसिंह भारो, महासिंह भारो, लक्ष्मीसिंह भारो, देव भारो, कृष्णसिंह भारोले यस विषयमा चिन्ता लिनुपर्ने कुरा उल्लेख गरिएको छ । त्यसै गरी चापागाउँ झ्यालपाटी टोलमा मूल सडकसँगै अहिले पनि पूर्व फर्केको अवस्थामा नेसं ८१८ मा निर्माण गरिएको एक पुरानो जलद्रोणी रहेको छ । यससँगै वादेश (चापागाउँ) लिपछें बस्ने ल्वंपा भारो, वासिंह भारो, पभाराम भारो, देवराम भारोसमेत चार जहानले सरस्वती यमी र मणिकर्णिका यमीका नामबाट देवदेवीको मूर्ति राखी पाटी बनार्ई चैत्र शुक्ल चतुर्दशीका दिन पूजा गर्नुपर्ने, दान दिनुपर्ने, पाटी, जलद्रोणी सफा गर्नुपर्ने व्यवस्था गरेको र सोका लागि इतको रोपनी पित्या चार खेत राखी गुठी बन्दोबस्त गरेको अभिलेखबाट देखिन्छ । अभिलेखमा जलद्रोणीलाई जनाउन ‘जलधेन’ शब्द परेको छ । अभिलेख त्यस ठाउँमा नदेखिएकाले जमिनमुनि पुरिएको हो कि भनी अनुमान गर्न सकिन्छ । प्रतिमन खत्रीकी श्रीमती नर्मदा देवी, छोराहरू गुमानसिं खत्री, माथवरसिं खत्री, जमानसिं खत्रीद्वारा विसं १९४५ वैशाख ८ गते निर्माण गरिएको पाटी, इनार र जलद्रोणी ललितपुर, ठेचोको कान्ति लोकपथछेउ हेल्थपोस्टसँगै रहेको छ । पाखो तीन रोपनी खेत राखी गुठी स्थापना गरिएको कुरा उक्त पाटीमा रहेको अभिलेखमा उल्लेख छ । जलद्रोणीमा पानी हाल्न इनार र बाटोमा हिँड्दा थकाइ लागेमा आराम गर्न पाटी निर्माण गरेको कुरा सोही अभिलेखबाट बुझ्न सकिन्छ । लिच्छविकालदेखि निरन्तरता पाएको जलद्रोणी निर्माण गर्ने कार्य मध्यकाल हुँदै आधुनिककालसम्म पनि पुगेको देखिन्छ । 

लिच्छविकालमा जलद्रोणी लोकप्रिय भएको थियो । मुहानदेखि पानी ल्याउनुपर्ने हुँदा धारा बनाउन नसक्ने व्यक्तिले जलद्रोणी बनाउने गर्थे । पुण्य प्राप्तिका लागि नै राजादेखि प्रजासम्मले जलद्रोणी बनाई संरक्षणको बन्दोबस्त गरेको इतिहास हामीसामु छ ।   

विभिन्न ऐतिहासिक कालखण्डमा निर्माण गरिएको जलद्रोणी समय समयमा मर्मतसम्भार हुने गरेको इतिहास छ । राजा अभय मल्लको राज्यमा ललितपुर मोतीटार, सुतीगलस्थित जलद्रोणी नेसं ३५३ मा जीर्णोद्धार गरिएको छ । पाटन, पिम्बहालभित्र देवलको नेसं ८८४ को अभिलेख अनुसार रुद्रशङ्कर शर्मा, उनकी श्रीमती धनलक्ष्मी मयी, पिथुं वहालका भाजुदेव भारोले थंथुदेवको ठाउँमा जलधेनु जीर्णोद्धार गरेको देखिन्छ । यहाँ जलद्रोणीलाई ‘जलधेनु’ भनिएको छ । ललितपुर, चापागाउँमा पनि यस्ता पुराना जलद्रोणी देख्न सकिन्छ । दुन्थरिगाउँ ग्वथननी बस्ने प्याकुभारो प्रमुख भई राम, संतटी, नाथ, मयतसिंको गुठी समूहले जलद्रोणी मर्मत गरेको कुरा नेसं ५९२ को अभिलेखमा उल्लेख छ । यसै अभिलेखलाई आधार मान्दा चापागाउँको गाङ्धवुटोलमा यो समयभन्दा पहिलेदेखि नै जलद्रोणी रहेको पुष्टि हुन्छ । साथै यस ठाउँमा त्यतिबेलादेखि नै गुठी अस्तित्वमा रहेको र यसैबाट सार्वजनिक निर्माण कार्य हुने गथ्र्याे भन्ने प्रस्ट हुन्छ । अहिले भने चापागाउँमा अभिलेखसहितको यो जलद्रोणी भेटिँदैन । चापागाउँकै वज्रवाराही मन्दिर छेउमा रहेको जलद्रोणी बिग्रेकाले मर्मत गरेको र त्यसमा पानी हाल्न प्रयोग गरिएको ब्वंगा (कुवा) सुकेकाले सफा गरेको कुरा नेसं ७२५ को अभिलेखमा परेको छ । यसलाई आधार मान्दा त्यस ठाउँमा प्यागोडा शैलीको वज्रवाराही मन्दिर बन्नुभन्दा पहिल्यै जलद्रोणी रहेको प्रस्ट हुन्छ । जलद्रोणी दानपति विशुनमान, ग्वसिरा, जुजुमान, जयराजसमेतका व्यक्तिले मर्मत गरेको सोही अभिलेखबाट देखिन्छ । अभिलेखमा जलद्रोणीलाई ‘जरपनि’ भनिएको छ । मन्दिर दर्शन गर्न आउने भक्तजनले यही जलद्रोणीको पानी प्रयोग गर्थे भन्ने सजिलै अनुमान गर्न सकिन्छ । विसं २०१५ मा मन्दिरपरिसर मर्मत गर्दा जलद्रोणी भत्काइएको भनी स्थानीयवासी भन्ने गर्छन् । पानी राख्ने जलद्रोणीको ढुङ्गा र शिलापत्र अहिले बेवारिसे अवस्थामा मन्दिरपरिसरमा रहेको छ ।   

विभिन्न स्थानमा मानिस आवतजावत हुने सडक, बाटो, देवदेवीको मन्दिरपरिसर, बस्तीभित्र जलद्रोणी देख्न पाइन्छ । विभिन्न कालखण्डमा सफा पानीको आवश्यकता पूरा गर्न निर्माण गरिएका कतिपय जलद्रोणी अहिले इतिहासको पानामा मात्र पढ्न पाइन्छ त कतिपय बेवारिसे अवस्थामा रहेका छन् । कसैलाई पनि यसको बारेमा बुझ्ने र जान्ने फुर्सद छैन । यसै जलद्रोणीको निर्माण तथा पानीको उपयोग गर्ने प्रणालीबाटै अहिलेको पानी ट्याङ्की प्रणाली विकास भएको हो । अहिले मानिसले घर घरमा पानी ट्याङ्की प्रयोग गर्ने कार्य यसै जलद्रोणीको उपज हो भन्दा फरक नपर्ला । पाइपको सहयोगबाट घर घरमा पानी वितरण गर्ने आधुनिक पानी वितरण प्रणालीको विकाससँगै यस्ता ऐतिहासिक जलद्रोणीको उपयोग ठप्प हुन पुगेको छ ।

मानव बस्तीको आधुनिक विकाससँगै पानीको खाँचो पूरा गर्न लिच्छविकालदेखि नै पुर्खाहरूले विभिन्न किसिमका ढुङ्गेधारा, जलद्रोणी, पोखरी, कुवा, इनार आदि निर्माण गर्न लगाएका थिए । ऐतिहासिक कालखण्डमा पुर्खाहरूले निर्माण गरेको यस किसिमको पानी प्रणालीलाई अहिले पुरातात्त्विक सम्पदाका रूपमा लिनु पर्छ । पुरातत्वसम्बन्धी ऐतिहासिक वा कलात्मक वस्तुहरूको संरक्षणका निमित्त प्राचीन स्मारक संरक्षण ऐन, २०१३ रहेको छ । प्रागैतिहासिक कालमा मानिसहरूले निर्माण गरी उपभोग गरेको वस्तु वा कुनै पनि देशको इतिहास बोध गराउने हस्तलिखित शिलापत्र आदिलाई यस ऐनले पुरातात्त्विक वस्तुका रूपमा परिभाषा गरेको छ । यो परिभाषा हेर्दा जलद्रोणी, सोसँगै निर्माण गरिएको पाटी, इनार, कुवा र तिनको निर्माणको उद्देश्य झल्कने गरी राखिएको शिलापत्रलाई पुरातात्त्विक वस्तुका रूपमा लिनुपर्ने हुन्छ । यस्ता पुरातात्त्विक वस्तुको संरक्षण पहिले गुठीमार्फत हुँदै आइरहेका थिए । दाताले गुठी सञ्चालनका लागि राखिएको जग्गा बिक्री भइसकेको र धार्मिक विश्वास एवं परम्परालाई मान्यता दिन छोडेका कारण जलद्रोणी र त्यससँगै निर्माण गरिएका पाटी, इनार, कुवा, ढुङ्गेधारा संरक्षणमा समेत कमी आएको छ । त्यसैले यस्ता ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको संरक्षणका लागि अहिले पुरातत्व विभाग, प्रत्येक स्थानीय तहलगायत स्थानीयवासीले आवश्यक कार्य गर्नु पर्छ । मानव बस्तीभित्र देख्न सकिने यस किसिमका सम्पदालाई पहिचानका रूपमा संरक्षण गरिराख्नु जरुरी छ । 

पाइप प्रणालीको सुरुवात

आजभन्दा १३३ वर्षअघि राणा प्रधानमन्त्री वीरशमशेरले काठमाडौँका विभिन्न ठाउँमा पाइप प्रणालीमार्फत खानेपानी आपूर्ति गरेसँगै नेपालमा पाइप प्रणालीको सुरुवात भएको मानिन्छ, जसलाई ‘वीरधारा’ को नामले चिनिन्छ । खानेपानी आपूर्तिका लागि पहिलो पटक पानी गोश्वारा अड्डा स्थापना गरी काठमाडौँका केही स्थानमा निजी तथा सार्वजनिक खानेपानीका धाराहरूमार्फत पानी वितरणको व्यवस्था मिलाइएको थियो । पाइपको सहयोगबाट घर घरमा पानी वितरण गर्ने आधुनिक प्रविधिको विकाससँगै ढुङ्गेधारा, जलद्रोणी, इनार, कुवा जस्ता ऐतिहासिक सम्पदाको निर्माण तथा प्रयोगमा कमी आएका हुन् । पाइप प्रणालीको मोहले जलद्रोणीको पानी उपयोग गर्ने चलन पूर्ण रूपमा हराइसकेको छ । सडक, चोक, बस्ती, मन्दिरपरिसरभित्र ठिङ्ग उभिनु, फोहोर, माटोको थुप्रोले पुरिनु, जथाभाबी मिल्किनु यसको नियति बनेको छ । लिच्छविकालदेखि विकसित हुँदै आएको सफा पानी उपलब्ध गराउने जलद्रोणी अहिले सडक विस्तार, बस्ती विकासका कारण पूर्ण रूपमा लोप हुने अवस्थामा पुगिसकेको छ । भविष्यमा यी अमूल्य सम्पदाहरूलाई इतिहासमा मात्र सीमित रहन नदिन नयाँ पुस्ताले यसको महत्व एवं उपयोगितालाई बुझ्न जरुरी छ । जलद्रोणी पानी प्रणालीको आधुनिक रूप नै सिमेन्ट, प्लास्टिक र स्टिलको ट्याङ्की प्रणाली हो भनेर अहिलेको नयाँ पुस्ताले बुझ्दा फरक नपर्ला । अहिले मानिसले यही पाइप तथा ट्याङ्की प्रणालीमार्फत आफ्नो गाउँबस्ती तथा घर घरमा पानीको उपयोग गर्दै आएका छन् ।   

लेखक बाट थप