• १० मंसिर २०८१, सोमबार

कुपोषण अन्त्य गर्न अभियान

blog

अभियान घोषणा कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री यामलाल कँडेल । तस्बिर : नवीन सुवेदी

छिन्चु समाचारदाता

सुर्खेत, भदौ १ गते । कुपोषण अन्त्यका लागि कर्णाली प्रदेशस्तरीय ‘इनफ अभियान’ को घोषणा गरिएको छ । वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमबिच मुख्यमन्त्री यामलाल कँडेलले अभियानको शुभारम्भ गर्नुभएको हो । अभियानको शुभारम्भ गर्दै मुख्यमन्त्री कँडेलले कर्णालीमा कुपोषण अन्त्यलाई साझा अभियान बनाउन जरुरी रहेको बताउनुभयो । 

उहाँले कुनै समय दरबारलाई पोषिला र मूल्यवान् खाद्यान्न कोसेली पठाउने कर्णाली प्रदेश पछिल्लो समय कुपोषणयुक्त अवस्थामा आइपुगेको परिस्थितिलाई बदल्न जरुरी रहेको उल्लेख गर्नुभयो । यसका लागि निजी क्षेत्र तथा गैरसरकारी संस्थालाई सरकारसँग हातेमालो गर्दै काम गर्न पनि उहाँले आग्रह गर्नुभयो । विशेष गरी कर्णाली प्रदेशलाई आधार बनाएर काम गर्ने गैरसरकारी संस्थाले नतिजामुखी काम गर्न नसकेको उल्लेख गर्दै उहाँले आफूखुसी काम नगर्न सुझाव दिनुभयो । विकास साझेदारका नीति र उद्देश्य अनुसार प्रदेश सरकारसँग समन्वय गरेर अगाडि बढे शतप्रतिशत सहयोग गर्ने उहाँको भनाइ छ ।

कर्णालीमा सरकारी कार्यालयभन्दा गैरसरकारी संस्था धेरै रहेको उल्लेख गर्दै उहाँले ती संस्थाको काम र उद्देश्य अनुसार कर्णालीको अवस्था परिवर्तन हुन नसकेकोप्रति गम्भीर समीक्षा हुन जरुरी रहेको उल्लेख गर्नुभयो । 

मुख्यमन्त्री कँडेलले भन्नुभयो, “कर्णालीको वास्तविक अवस्था यहाँका नागरिकले प्रत्यक्ष अनुभूति गरे मात्रै परिवर्तन हुन्छ । दातालाई रिपोर्टिङ गरेर कर्णालीको अवस्था परिवर्तन हुँदैन ।”

वल्र्ड भिजन इन्टरनेसनल नेपाल, सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब), किर्डाक नेपाल, सामाजिक सेवा केन्द्र नेपाल र पाँचतारा युवा संरक्षक मञ्चको संयुक्त आयोजनामा अभियानको घोषणा गरिएको हो । अभियान अन्तर्गत जुम्ला, जाजरकोट र दैलेख गरी कर्णालीका ४३ वडामा वल्र्ड भिजनले कुपोषण न्यूनीकरणका लागि काम गरिरहेको जनाइएको छ ।