• ३२ साउन २०८१, शुक्रबार

पहिरो प्रभावित बालबालिकालाई सहयोग

blog

बालबालिकालाई लत्ताकपडा र शैक्षिक सामग्री वितरणपछि ।

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन ३२ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाका पहिरो प्रभावित बालबालिकालाई आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले सहयोग गरेको छ । फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमका बाढीपहिरोबाट प्रभावित भएका बालबालिकालाई कम्पनीको ताप्लेजुङ शाखाले सहयोग गरेको हो । लत्ताकपडा र शैक्षिक सामग्री प्रदान गरेको छ ।

पहिरो प्रभावित बालबालिकालाई लत्ता कपडा र शैक्षिक सामग्री सहयोग गरिएको आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका शाखा प्रमुख सूर्य गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार पहिरो प्रभावित खेजेनिको तिङ्दु, सिबु टोल र खेजेनिम माध्यमिक विद्यालय आसपास क्षेत्रका १६ जना बालबालिकालाई उक्त सामग्री वितरण गरिएको छ । 

कम्पनीको सातौं वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बालबालिकालाई लत्ताकपडा र शैक्षिक सामग्री सहयोग गरिएको शाखाले जनाएको छ । कम्पनीका पदाधिकारी, खेजेनिमका वडाध्यक्ष भूपेन्द्र चौलागाई, खेजेनिम माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिलकुमार लिम्बू, प्रधानाध्यापक सञ्जय लिम्बूसहितको उपस्थितिमा सहयोग सामग्री वितरण गरिएको बताइएको छ ।

गत असार पहिलो साता गएको पहिरोमा परी खेजेनिममा एकै परिवारका चारजनाले ज्यान गुमाएका थिए । यस्तै बाढीपहिरोका कारण दर्जनौं परिवारले विस्थापित हुनु परेको थियो ।