• ३२ साउन २०८१, शुक्रबार

एकीकृत सहरी पूर्वाधार विकास अन्तिम चरणमा

blog

चितवन समाचारदाता

चितवन, साउन ३२ गते । भरतपुर महानगरलाई सुन्दर सहर निर्माणका लागि सुरु भएको एकीकृत सहरी पूर्वाधार विकास कार्यव्रmम सम्पन्न हुने चरणमा पुगेको छ । सघन सहरी तथा भवन निर्माण कार्यालयमार्फत तीन वटा क्षेत्रमा विभाजन गरी गरिएको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको सघन सहरी तथा भवन निर्माण कार्यालय भरतपुरका प्रमुख झपटबहादुर थापाले जानकारी दिनुभयो । व्यवस्थित सुविधासम्पन्न सहर निर्माण गर्न तीन वटा खण्डमा २०७९ फागुन महिनाबाट काम थालनी भएको थियो । 

तीन वटा खण्डमा काम थालनी गरिएको सहरी पूर्वाधार अन्तर्गत आयआर्जनको क्षेत्रमा हाटबजार निर्माण, बसपार्क निर्माणका कार्यक्रम रहेका छन् । भौतिक निर्माण अन्तर्गत फराकिलो बाटो, फुटपाथ, कलभर्ट रहेको छ । त्यस्तै सामाजिक पूर्वाधार अन्तर्गत आरती स्थल निर्माण रहेको कार्यालयका सूचना अधिकारी द्रोण कटुवालले जानकारी दिनुभयो । 

सहरी पूर्वाधार विकास निर्माणका लागि ५० करोड रुपियाँको कार्यव्रmम भए पनि अहिले ३१ करोड रुपियाँ बजेट विनियोजन भई ठेक्का सम्झौता भएर काम सुरु भएको सूचना अधिकारी कटुवालले जानकारी दिनुभयो । विनियोजित बजेटको ५० प्रतिशत भौतिक निर्माणमा खर्च हुने छ । बाँकी बजेट आर्थिक आयआर्जन र सामाजिक पूर्वाधार क्षेत्रमा लगानी हुने उहाँले जानकारी दिनुभयो । 

भौतिक निर्माण अन्तर्गत बसेनी–बाइपास सडक, शुक्रनगर–देवीस्थानको सडक, पटिहानी–मङ्गलपुर–काँडाघारी क्षेत्रमा सडक निर्माण कार्य पूरा भएको छ । यी क्षेत्रमा निर्माण गरिएको सडक सातदेखि १२ मिटरसम्म फराकिलो छ । ग्रामीण क्षेत्रमा भएका सडक साँघुरो भएका कारण सवारीसाधन दोहोरो सञ्चालन गर्न कठिनाइ भएको थियो । सहरी पूर्वाधार कार्यक्रम अन्तर्गत निर्माण गरिएका साँघुरा सडक अहिले कम्तीमा सात मिटर चौडा भएका छन् । ढलसहित निर्माण भएका सडकमा सवारीसाधन निर्बाध सञ्चालन गर्न सकिन्छ भने स्थानीय उत्पादन बजारसम्म ल्याउन कुनै समस्या नभएको कार्यालय प्रमुख थापाले जानकारी दिनुभयो । 

आर्थिक आयआर्जनको क्षेत्र अन्तर्गत दुई करोड रुपियाँ बजेट विनियोजन भई देवघाटधाममा सुविधासम्पन्न बसपार्क निर्माण कार्य भइरहेको छ । बसपार्क निर्माणपछि देवघाटधाममा आउने सवारीसाधनको सुरक्षा र पार्किङ समस्या समाधान हुने कटुवालले बताउनुभयो । नारायणी नदी किनारमा निर्माण हुने आरती स्थलको काम भने सुरु हुन सकेको छैन । सामाजिक पूर्वाधार अन्तर्गत निर्माण हुने आरती स्थल सुरक्षित स्थानको खोजी भइरहेको छ । कार्यालयका प्रमुख थापाले भन्नुभयो, “पहिचान गरेको स्थानमा बर्सातमा बाढी आएर जान नसकिने हुन्छ । हिउँदमा अत्यन्त उपयुक्त भए पनि बर्सातमा जोखिम हुने भएकाले उपयुक्त स्थानको खोजी भइरहेको छ ।” सुरक्षित स्थान पहिचान भएपछि यसको निर्माण कार्य सुरु हुने कार्यालय प्रमुख थापाले जानकारी दिनुभयो । 

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विकास निर्माणका पूर्वाधारमा महानगरपालिकाले फड्को मारेको बताउनुभयो । “भरतपुरको मुख्य क्षेत्रमा पानी निकास नहुने समस्या थियो, त्यसलाई विस्तारै समाधान गरेका छौँ । व्यवस्थित सहर निर्माणका लागि धेरै विषयमा ध्यान दिनुपर्ने हुन्छ, त्यसैले एकीकृत विकास अन्तर्गत काम भइरहेको छ,” उहाँ भन्नुहुन्छ । गाउँ गाउँमा अहिले फराकिलो सडक पुगेको छ । कुनै पनि कुनाबाट सामान ल्याउन लैजान समस्या छैन । सडकको पहुँच पुगेपछि आयआर्जनको बाटो खुलेको प्रमुख दाहालले बताउनुभयो ।