• ३२ साउन २०८१, शुक्रबार

शहिद केशव कोइरालाको स्मरण

blog

मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डल शहिद केशव कोइरालाको शालिकमा माल्यार्पणपछि सहभागीका साथमा ।

नागेन्द्रकुमार कर्ण

महोत्तरी, साउन ३१ गते । प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनमा महोत्तरी जिल्लाको मटिहानीमा शहादत दिनुभएका शहिद केशव कोइरालाको बिहीबार ५० औं स्मृति दिवस मनाइएको छ । 

सो क्रममा मटिहानीमा रहेको शहिद केशव कोइरालाको शालिकमा माल्यार्पण गर्नुका साथै उहाँको सम्झना गरिएको छ । शहिद केशव कोइराला स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा उहाँप्रति भावपूर्ण श्रद्धान्जलीसहित उहाँले गर्नुभएको योगदानको चर्चा समेत गरिएको थियो ।

शहिद केशव कोइराला स्मृति प्रतिष्ठानका अध्यक्ष उपेन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डल, लोसपाका नगर अध्यक्ष श्याम कुमार मण्डल, नेपाली काँग्रेसका बैजनाथ मण्डल, जवाहर साह कसेरा, माओवादीका उमाशंकर साह, नेकपा एमालेका जुगेश्वर खत्वे, श्रीराम उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रीष मिश्रसहित सो विद्यालयका शिक्षक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो । 

प्रजातान्त्रिक आन्दोलनको क्रममा वि.स.२०३१ साउन ३१ गते केशव कोइरालाले मटिहानीमा शहादत दिनुभएको थियो । शहादत दिनुभएकै ठाउँमा उहाँको शालिक निर्माण गरी राष्ट्रपति रामचन्द्र पौडेलबाट उद्घाटन गरिएको थियो । 

कार्यक्रममा नगरप्रमुख मण्डलले मटिहानीस्थित याज्ञबल्क्य लक्ष्मीनारायण विद्यापिठमा अध्ययनरत रहेकै बेला प्रजातान्त्रिक आन्दोलनमा होमिनुभएका शहिद केशव कोइरालाले मटिहानी प्रहरी चौकीमा बम विष्फोट गर्ने क्रममा प्रहरीको गोली लागेर बीरगति प्राप्त गर्नुभएको जानकारी दिनुभयो । 

उहाँले मटिहानी प्रहरी चौकीमा बिस्फोटको योजना बनाउने गणेश नेपाली, बलराम शर्मा, महेश कोइराला, श्रीधर झा र केशब कोइरालामध्ये सो दिन राती चौकीमा बिस्फोटको जिम्मेवारी लिनुभएका कोइरालाले बम बिस्फोट गराए लगत्तै प्रहरीले गरेको फायरिङ्गमा निधन भएको चर्चा गर्नुभयो ।

२००७ सालमा पूर्वी नेपालको ओखलढुङ्गामा जन्मेर महोत्तरीलाई प्रजातान्त्रिक आन्दोलनको कर्मक्षेत्र बनाउनु भएका शहिद कोइरालाको शहादतलाई चिरस्थायी बनाउन हरेक तह, तप्काको सहयोगको खाँचो रहेको चर्चा कार्यक्रममा गरिएको थियो ।