• ३२ साउन २०८१, शुक्रबार

शुद्ध शाकाहारी भोजनालयको खोजी

blog

मुक्तिनाथ मन्दिरमा आएका धार्मिक पर्यटकहरु । तस्विरः अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल

म्याग्दी, साउन ३१ गते । नेपालमै चर्चित कालिगण्डकी करिडोर सडक अन्तर्गत पर्वतको मालढुङ्गादेखि चीनको सीमा कोरला नाकासम्मको लामो दूरीमा शाकाहारी भोजन चाहने भक्तजनका लागि भोजनालय छैन । 

मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक अन्तर्गतको झण्डै दुई सय १० किलोमिटर लामो दूरीमा खाने बस्ने सुविधा सम्पन्न होटल, रेष्टुरेन्ट भएता पनि शुद्ध शाकाहारी खाना चाहनेका लागि त्यस्तो सुविधा लिन भने असम्भव छ । 

पर्वतको मालढुङ्गादेखि मुस्ताङ र चीनको सीमाना कोरलासम्म लामो धार्मिक क्षेत्रमा कुनै शाकाहारी भोजनालय छैन । मालढुङ्गादेखि कोरलासम्मको रुटमा तीन वटा पवित्र तीर्थस्थल पर्छन् । म्याग्दीको सदरमुकाम बेनी बजारनजिकै रहेको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वर धाम, मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका –१ मुक्तिनाथमा रहेको मुक्तिनाथ मन्दिर र लोघेकर दामोदर कुण्ड गाउँपालिका –४ को सुर्खाङमा रहेको दामोदर कुण्ड हिन्दूका लागि पवित्र तीर्थस्थल हो । 

नेपाल तथा भारतमा समेत चर्चित मुक्तिनाथ तथा दामोदर कुण्डमा दर्शनका लागि आउने धार्मिक पर्यटकलाई लक्षित गरी व्यवसाय सञ्चालन गरिनुपर्ने माग छ । मुस्ताङ क्षेत्रमा दुई वटा धार्मिक महत्वका स्थान हुँदैगर्दा शाकाहारी भोजनालय भने कहीं कतै नपाउने तीर्थयात्रीको भनाइ छ । 

हिन्दूहरुले पवित्र भगवानका रुपमा पूजा गर्ने शालिग्रामको उदगमस्थलकै रुपमा लिइने दामोदर कुण्ड क्षेत्रसम्म पुग्ने कागबेनी–दामोदर कुण्ड क्षेत्रमा पनि धार्मिक पर्यटकका लागि शाकाहारी भोजनका लागि छुट्टै भोजनालय छैन ।

म्याग्दीभित्र मात्रै होटल व्यवसायी सङ्घ म्याग्दीमा आबद्ध दुईसय ६५ भन्दा धेरै होटल तथा रेष्टुरेन्ट अनि खाजाघर भए पनि कुनै पनि शाकाहारी प्रकृतिका व्यवसाय धार्मिक पर्यटकलाई लक्षित गरी नरहेको होटल व्यवसायी महासङ्घका केन्द्रीय सचिव तारानाथ आचार्यले बताउनुभयो । 

बेनी–जोमसोम सडक अन्तर्गत गलेश्वरमा होटल याक प्रालिका सञ्चालक समेत रहनुभएका आचार्य भन्नुहुन्छ, ‘म्याग्दीको बेनीमा ताजा भन्ने खाजाघर बाहेक अन्य शाकाहारी भोजनका होटल छैनन्, धार्मिक पर्यटकको चाहनालाई मध्यनजर गर्दै म आफैं गलेश्वरमा शाकाहारी भोजनालय सञ्चालन गर्ने योजनामा रहेको भए पनि हालसम्म मालढुङ्गादेखि कोरलासम्म शाकाहारी भोजनालय छैन ।’ 

मुक्तिनाथ तथा दामोदर कुण्ड दर्शन तथा अवलोकनका लागि धेरै पाहुनाहरु मुस्ताङ भ्रमणका लागि आउने र उहाँहरुलाई शाकाहारी मात्र भोजनालय मुस्ताङमा नभएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक (डिएसपी) भोजराज पाण्डेयले बताउनुभयो ।