• १६ भदौ २०८१, आइतबार

साउनमै सकियो हुलाकी कार्यालयको बजेट

blog

नेपालगञ्जस्थित हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय । तस्विरः गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, साउन ३१ गते । सामान्यतया नेपालमा आर्थिक बर्षको अन्तिममा मात्र विकासे बजेट खर्च गरेर सकिने गरेको छ । तर बाँकेको एक सरकारी कार्यालयको चालु आर्थिक बर्ष २०८१–८२ को विनियोजित बजेट पहिलो महिना साउनमै सकिएको छ ।  

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लिलाबहादुर भण्डारीले चालु आवको सम्पूर्ण बजेट साउनमै सम्पन्न भएको जानकारी दिनुभयो । 

चालु आवमा ७९ करोड बजेट विनियोजन भएकोमा ७७ करोड रुपियाँ साउन २५ गतेभित्र भुक्तानी गरिसकेको भण्डारीले बताउनुभयो । 

प्रमुख भण्डारीले भन्नुभयो, ‘गत आवको काम सम्पन्न भएको तिर्नुपर्ने दायित्व रकम बुझाएपछि हाल कार्यालयमा बजेट शुन्यताको अवस्था आएको छ ।’ बजेट अभावका कारण गत बर्ष काम सम्पन्न गरेका निर्माण ब्यवसायीलाई महालेखा परीक्षक फाराम नं. २२१ भरी प्रमाणित भएको रकम निर्माण ब्यवसायीलाई बुझाएपछि विभागसँग थप रकम माग गर्न लागिएको कार्यालयले जनाएको छ । 

कार्यालय प्रमुख भण्डारीले निर्माण ब्यवसायीलाई कानुन बमोजिम र नियमसंगत ठेक्काको दायित्व भुक्तानी गर्न नसक्दा निर्माण ब्यवसायीसँगै सरकारलाई पनि थप दायित्व सिर्जना हुन सक्ने बताउनुभयो । 

निर्माण ब्यवसायीलाई समयमा भुक्तानी दिन नसक्दा नेपालगञ्ज–गुलरिया चार लेन सडकको काम प्रभावित भएको जानकारी दिदैं राष्ट्रिय गौरवका आयोजनामा बजेट अभाव हुन नदिन प्रधानमन्त्री केपी शर्मा वलीले चासो देखाएकाले चालु आवमा बजेट अभावको सामना गर्नु नपर्ने आशा देखिएको बताउनुभयो ।

समयमै भुक्तानीको काम सम्पन्न भएको भए दशैंभित्र बर्दिया सदमुकाम गुलरियासम्म चारलेन सडकको काम करिब सम्पन्न हुने निर्माण ब्यवसायीको दाबी भए पनि बजेट अभाव देखिएको कार्यालयले जनाएको छ ।