• १० मंसिर २०८१, सोमबार

बिरामीको चाप बढेपछि त्रिपालमुनि उपचार

blog

त्रिपालले घेरेर व्यवस्थापन गरिएका वैकल्पिक शय्या । तस्बिर : राजु लामिछाने

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, साउन ३१ गते । मुसीकोट नगरपालिका–१, सल्लेमा रहेको जिल्ला अस्पतालमा बिरामीको चाप बढेपछि त्रिपालले बेरेर वैकल्पिक शय्या थपिएको छ । दिनहुँ बिरामीको चाप बढ्दै जाँदा अस्पताल विकास समितिले वैकल्पिक शय्या व्यवस्थापन गरेको हो । समितिका अध्यक्ष टेकबहादुर कुसारीले १५ शय्याको अस्पतालमा दैनिक ४० बिरामी भर्ना गर्नु परेको जानकारी दिनुभयो । शय्याकै अभाव देखिएपछि अस्पताल परिसरमा त्रिपालले बेरेर वैकल्पिक शय्या व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । 

अस्पतालले गाडी पार्किङका लागि ग्रिल र जस्तापाताले निर्माण गरिएको छाप्रोलाई त्रिपालले बेरेर अहिले शय्या राखेको छ । तत्कालका लागि चार वटा शय्या राखिएको र आवश्यक परेमा केही बेड थप्न सकिने अध्यक्ष कुसारीको भनाइ छ । इमर्जेन्सी वार्डसमेत बिरामीले भरिएपछि वैकल्पिक रूपमा शय्याको व्यवस्थापन गरिएको हो ।

हिजोआज अस्पतालको भर्ना कक्ष र आकस्मिक कक्षमा बिरामीको चाप हुने गरेको छ । मनसुनजन्य विपत्का घटना, मौसमी फ्लुलगायतका बिरामी बढिरहेकाले वैकल्पिक शय्या थपिएको अध्यक्ष कुसारीले बताउनुभयो । बिरामीको चाप दिनप्रतिदिन बढ्दै गएको तर दरबन्दी र क्षमता भने १५ शय्याको हुँदा व्यवस्थापनमा निकै समस्या झेलिरहेको छ । २०४५ सालमा स्थापना भएको यस अस्पतालको क्षमता तथा जनशक्ति विकास हुन सकिरहेको छैन । छिमेकी जिल्ला सल्यान, जाजरकोट, रुकुमपूर्वको अस्पतालको क्षमता वृद्धि गरिएको छ तर रुकुमपश्चिमको जिल्ला अस्पताललाई बेवास्ता गरिएको गुनासो स्थानीयको रहेको छ ।

सेवा प्रवाहका हिसाबले भने यो अस्पताल अब्बल रहेको बताइन्छ । हाल जिल्ला अस्पतालबाट बालरोग र महिला तथा स्त्रीरोग गरी दुई वडा विशेषज्ञ सेवा प्रवाह भइरहेका छन् । यसअघि हाडजोर्नी र नसासम्बन्धी विशेषज्ञ सेवा सञ्चालन भए पनि जनशक्ति अभावले सो सेवा रोकिएका छन् । रोकिएको विशेषज्ञ सेवासमेत तत्कालै सञ्चालन गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ । पछिल्ला वर्षमा अस्पतालको सेवा प्रभावकारी बन्दै गएपछि बिरामीको चापसमेत बढ्दै गएको छ ।