• ३० साउन २०८१, बुधबार

‘अक्वा त्रिदेव’ व्राण्डको पानीमा कोलिफर्म भएको पुष्टि : २ लाख रुपियाँ जरिवाना गर्ने निर्णय

blog

काठमाडौँ, साउन ३० गते । ‘अक्वा त्रिदेव’ व्राण्डबाट उत्पादित जारको पानीमा कोलिफर्म भेटिएपछि काठमाडौँ महानगरपालिकाले दुई लाख रुपियाँ जरिवाना गर्ने निर्णय गरेको छ । 

यो तारकेश्वर नगरपालिका वडा नं. १० मा सञ्चालित जाम्बुलिङ्गा ग्रुप इष्डष्ट्रीले उत्पादन गरेको पानी हो । निरीक्षण अधिकृत डा. अवधेश झाका अनुसार साउन २५ गते गोङ्गबु क्षेत्रबाट विभिन्न ५ वटा व्राण्डका नामबाट उत्पादन भएका २० लिटरका जारबाट पानीको नमुना लिइएको थियो । 

यसरी लिइएको नमुना काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । नमुना परीक्षणबाट मंगलबार रिपोर्ट प्राप्त भयो । प्राप्त रिपोर्टमा अक्वा त्रिदेव व्राण्डको पानीमा फिकल कोलिफर्म भेटियो । प्रति १ सय मिलिलिटर नमुनामा ३०० भन्दा बढी कोलनी फर्मिङ् युनिट (सिएफयु) देखिएको छ । यो शून्य हुनुपर्छ । 

खाद्य प्राविधिक अनिल बस्नेत भन्नुहुन्छ, ‘नेपाल सरकारको खाद्य तथा दाना पदार्थको अनिवार्य गुणस्तर मापदण्ड २०८० बमोजिम प्रशोधित पिउने पानीमा कोलिफर्म शून्य हुनुपर्छ । पानीमा सिएफयु ३ सयभन्दा धेरै देखिनु भनेको पानीको स्रोतमा सरसफाइ नभएको वा प्रशोधन प्रक्रिया पूरा नभएको भन्ने हो ।’ कोलिफर्मको स्रोत मानव वा पशुको दिशा हो । यसमा भिब्रो कोलेरा भने शून्य देखाएको छ । यो भनेको हैजा फैलिने जीवाणु नहुनु हो । बस्नेतले स्पष्ट पार्नुभयो । 

डा. झाका अनुसार जरिवाना गरिएसँगै यो व्याचमा उत्पादन भएको सबै पानी विक्रीमा प्रतिबन्ध लगाइएको छ । पानीको नमुनामा पानीको कोलिफर्म शून्य नभएसम्म यो प्रतिबन्ध कायम हुनेछ । जार र बोतलको पानीमा कीरा, फोहर र कोलिफर्म देखिएपछि महानगरपालिकाले उमालेर मात्र पानी प्रयोग गर्न आग्रह गरेको छ । 

जथाभावी निर्माण सामग्री थुपार्नेलाई जरिवाना

महानगर प्रहरी बलले  मङ्गलबार वडा नं. ३१ का विभु गोयललाई ५० हजार रुपियाँ जरिवाना गरेको छ । सार्वजनिक बाटोमा बालुवा माटो खसालेर फोहर गरेपछि जरिवाना गरिएको हो । 

यसैगरी वडा नं. ३२ को साथी निर्माण सेवालाई ५० हजार रुपियाँ जरिवाना गरिएको छ । सडक पेटी बिगारेर सार्वजनिक सम्पत्तिमा क्षति गरेकोले निर्माण सेवालाई जरिवाना गरिएको हो । 

मंगलबार साँझ करिब ८ बजे वडा नं. १५ सानो भर्‍याङ क्षेत्रमा पृथ्वीबहादुर थापाले सञ्चालन गरेको इचङ्खुनारायण काष्ठ उद्योगमा आगलागी भएको थियो । विद्युत सर्ट भएर सुरु भएको आगलागी नियन्त्रण गर्न जुद्ध वारुण यन्त्र कार्यालय न्यूरोड, रामहिटी र बालाजुबाट दमकल परिचालन गरिएका थिए । रातको पौने दश बजे आगो पूर्ण रूपमा नियन्त्रण भएको थियो ।  

राति परेको पानीले पानीपोखरीमा पहिरो गएपछि प्रहरी बलले क्षति व्यवस्थापनका लागि टोली परिचालन गरेको थियो । पहिरोले घरको पर्खाल भत्काएको छ । घरमा मानिस नभएकाले मानवीय क्षति हुन पाएन । बुधबार उत्तर क्षेत्रमा मापदण्ड विपरीत सञ्चालन भएका १२ वटा मोटरसाइकल वर्कसपमा ताला लगाइएको छ । 

स्वयम्भू क्षेत्रमा रुख ढलेर सडक अवरुद्ध भएको थियो । तार चुँडिएर जोखिम बढेको थियो । प्रहरी बलले यो अवस्थालाई व्यवस्थापन गरेर सहज आवागमन बनाएको छ ।