• १६ भदौ २०८१, आइतबार

'ट्राफिक लाइट' सञ्चालन नहुँदा सास्ती

blog

सन्तोष सुवेदी

कास्की, साउन ३० गते । पोखराको सवारी चाप बर्सेनि बढ्दो छ । सवारी चापलाई व्यवस्थापन गर्न गत वर्ष सडक विभागले पोखराका मुख्य चोकमा ट्राफिक लाइट राख्यो । 

विभागले पोखराका मुख्य पाँच वटा चोकमा ट्राफिक लाइट राख्ने काम भए पनि अहिलेसम्म पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । पहिलो चरणमा पृथ्वीचोक, सभागृह चोक, सृजना चोक, जिरो किलोमिटर र विरौटा चोकमा लाइट जडान गरिएको हो । 

सडकमा ट्राफिक लाइट त छन् तर प्रयोगमा आएको छैन । ट्राफिक लाइट जडान गरे पनि ट्राफिक प्रहरीले हात र सिठीको सहारामा लाखौँ सवारी साधनको चाप व्यवस्थापन गर्नुपर्ने बाध्यता छ ।

२२ वर्षअघि पोखरामा पार्किङ ठेक्का लिएको पोखरा कमर्सियल अटो पार्किङ (पिक्याप)ले पहिलो पटक ट्राफिक लाइट राखेको थियो । जनयुद्ध र आन्दोलनको समय थियो । राम्रोसँग चल्न नपाइ लाइटहरू तोडफोड भए । त्यस यता पोखराको सवारी व्यवस्थापन ट्राफिक प्रहरीले गर्दै आएका छन् ।

प्रविधिमैत्री व्यवस्थापन नहुँदा भद्रगोल छ । पहिलो चरणमा ट्राफिक लाइट जोडिएको करिब २ दशकदेखि ०७५ सालमा सडक विभागले पोखराका विभिन्न ठाउँमा लाइट जोड्न अध्ययन सुरु गरेको थियो । पोखराका विभिन्न १० चोकमा ट्राफिक लाइट जोड्न सडक विभाग पोखरा र पोखरा महानगरले ४ वर्षअघि नै संयुक्त अध्ययन गरेका थिए । तर योजना लामो समय बितिसक्दा समेत पूरा हुन सकेको थिएन । विभागले अध्ययन सुरु गरेको ३ वर्षपछि ०७८ कात्तिकमा पोखराका २६ ठाउँमा ट्राफिक लाइट जोड्ने महानगरसँग सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार सडक विभागबाट तत्काललाई ५ ठाउँमा ट्राफिक लाइट राख्ने गरी टेन्डर गरिएको थियो । 

टेन्डर भएको केही वर्षपछि पाँच ठाउँमा ट्राफिक लाइट जडान भए पनि पूर्णता पाएको छैन । नयाँ विमानस्थल सञ्चालनमा आएपछि केही दिनअघि महेन्द्रपुलमा भएको ट्राफिक लाइट पनि चलाउन सुरु गरिएको थियो । तर उक्त ट्राफिक लाइट पनि करिब ३ दिन चलेर बन्द भयो । रातो, पहेँलो र निलो बत्ती बल्ने ट्राफिक लाइटमा अहिले बन्द जस्तै छ ।

जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख भानु शर्माका अनुसार ट्राफिक लाइट व्यवस्थापन तयारी अवस्थामा रहेको बताउनुभयो । "विभागबाट लाइटसँग सम्बन्धित सिस्टम हामीलाई ह्यान्डओभर भएको छैन । सडक विभाग र सडक डिभिजन कार्यालयसँग समन्वय गरेका छौँ । हामी सिस्टममा काम गर्न तयारीमा छौँ," उहाँले भन्नुभयो । उहाँले सम्भवतः भदौ १ गतेदेखि सुरु गर्नसके सहज हुने सङ्केत गर्नुभयो । उहाँले ट्राफिक लाइड जडान भएसँगै ट्राफिक व्यवस्थापनमा निकै सहज हुने सुनाउनुभयो । 

जिल्ला ट्राफिक कार्यालयसँग अहिले २८ जनाको दरबन्दी छ । जसमा कास्की जिल्ला वरपर कामकाजको लागि एक सय एक ट्राफिक प्रहरीहरू व्यवस्थापनमा खटिएका छन् । "म्यानुअलभन्दा ट्राफिक लाइटले काम गर्दा सहज हुन्छ । ट्राफिक लाइट सञ्चालन भएसँगै च्यालेन्स त छ । पोखराको सडकमा सबै नियमसँग अभ्यस्त हुनुहुन्न । त्यसैले सिकाउनको लागि पनि सुरुमा च्यालेन्स छ पछि बिस्तारै सहज हुनेछ," उहाँले भन्नुभयो । 

यातायात कार्यालय गण्डकी अनुसार अहिलेसम्म प्रदेशभर ३ लाख बढी २ पाङ्ग्रे र ६० हजार चार पाङ्ग्रे सवारीसाधन दर्ता छन् । त्यसमध्ये ९० प्रतिशत पोखराकै सडकमा गुड्छन् । दैनिक २ लाखभन्दा बढी सवारीसाधन गुड्ने पोखरा महानगर भने ट्राफिक लाइट विहीन जस्तै बन्दिदा जसको मार ट्राफिक प्रहरीले खेप्नु परेको छ ।

सडक विभाग सडक सुरक्षा तथा ट्राफिक शाखा प्रमुख प्रकाशचन्द्र भण्डारीले सम्झौता अनुरूप काम सम्पन्न भए पनि पूरै हस्तान्तरणको काम अझै बाँकी रहेको बताउनुभयो । "पोखरा महानगरसँग २०८० चैत १५ गते दुई वर्षभित्र ट्राफिक लाइट हाल्ने सम्झौता भएको हो । जडान कार्य सकिएको छ । दुई वर्षपछि औपचारिक रूपमा पोखरा महानगरलाई हस्तान्तरण गर्ने हो । यो बिचमा जिल्ला ट्राफिकले सञ्चालन गर्ने र बिग्रेको खण्डमा त्यसको मर्मत सम्भार विभागले गर्ने कन्ट्राक भएको हो । तर सिस्टम जडान भएपछि पनि सञ्चालन भएको छैन," उहाँले भन्नुभयो । 

पाँच ठाउँमा ट्राफिक लाइट राख्नेको लागि सडक विभागले १ करोड २६ लाखमा ठेक्का लिएको थियो । उहाँका अनुसार विभागले पोखरा महानगर र ट्राफिक कार्यालयमा सञ्चालन गर्नको लागि पत्र काटेको छ ।