• १० मंसिर २०८१, सोमबार

योग्यता प्रणालीका आयाम

blog

लोक सेवा आयोगले प्रशासन सेवाको प्रवेशविन्दु मानिने शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको पाठ्यक्रम संरचनामा सामान्य परिमार्जन गरी नयाँ परीक्षा योजना सार्वजनिक गरेको छ । विभिन्न अप्राविधिक सेवा समूहहरू अन्तर्गत उक्त पदहरूको पदपूर्ति गर्न आयोगले एकीकृत तथा संयुक्त परीक्षा प्रणाली अवलम्बन गर्ने गरेको छ । 

यस आलेखमा लोक सेवा आयोगले सञ्चालन गर्ने राजपत्राङ्कित तृतीय श्रेणी अप्राविधिक शाखा अधिकृत पदको परीक्षा प्रणालीको दायराभित्र रही चर्चा गर्ने प्रयत्न गरिएको छ । आर्थिक वर्ष २०८१/८२ को विज्ञापनदेखि लागु हुने गरी जारी गरिएको उक्त परीक्षा योजनालाई तीन चरणमा विभाजन गरिएको छ । प्रथम चरणलाई प्रारम्भिक परीक्षाको रूपमा लिइएको छ, जुन छनोट परीक्षाको रूपमा मात्र रहने छ । प्रारम्भिक परीक्षा अन्तर्गत साविकबमोजिम नै रहेको प्रशासनिक अभिरुचि परीक्षणमा सामान्यज्ञान, बौद्धिक परीक्षण (आई क्यु) र अङ्ग्रेजी भाषा सक्षमता परीक्षण रहेका छन् । यस पटक जारी भएको परीक्षा योजना अनुसार परीक्षार्थीले प्रारम्भिक चरणमा ल्याएको अङ्क बाँकी चरणका परीक्षामा नजोडिने व्यवस्था गरिएको छ । 

उपरोक्त परीक्षा योजना कार्यान्वयनमा गएपछि बढी अङ्क प्राप्त गरी योग्यताक्रममा माथि आउनकै लागि सेवा प्रवाहसँग प्रत्यक्ष सम्बन्ध नराख्ने विषयमा परीक्षार्थीले लामो समय मेहनत गर्न आवश्यक नपर्ने भएको छ । सामान्य सचेतना, बौद्धिकता तथा सक्षमता भएका उम्मेदवारले आयोगले तोकेको पैँतालिस प्रतिशत अङ्क हासिल गर्न सक्ने देखिन्छ, जसको आधारमा मूल परीक्षा तथा अन्तिम चरणको परीक्षा बढी प्रतिस्पर्धात्मक बन्न गई योग्यतम उम्मेदवार छनोट हुने अवस्थाको सिर्जना हुन जान्छ । 

यसरी प्रतिस्पर्धामैत्री नीतिगत व्यवस्था गरिरहँदा लोक सेवा आयोगको कार्यविधि तथा संस्थागत कार्यप्रणालीमा समेत व्यापक सुधार गरिन आवश्यक भएको छ । आयोगबाट जारी भएको नयाँ परीक्षा योजनाको अन्य व्यवस्था हेर्दा प्रतिस्पर्धात्मक प्रणालीलाई पूर्ण रूपमा सुधार गर्न आयोग त्यति गम्भीर नभएको प्रतीत हुन्छ । उक्त नयाँ परीक्षा योजनामा छुटेका आवश्यक सुधारका विषयलाई यहाँ प्रस्तुत गरिएका छन् ।

भाषिक मापदण्ड

विगतको परीक्षा योजनामा भएको जस्तै नयाँ परीक्षा योजनामा समेत ‘लिखित परीक्षाको माध्यम भाषा नेपाली वा अङ्ग्रेजी अथवा नेपाली र अङ्ग्रेजी दुवै हुने छ’ भनी उल्लेख गरिएको छ । झट्ट हेर्दा भाषासम्बन्धी यो नीति उदार देखिए पनि यसले उम्मेदवारको योग्यता मापनको दायरालाई सङ्कुचित बनाउने सम्भावना रहन्छ । कुनै एउटा भाषामा कूटनीतिक रूपले सुझबुझपूर्ण अभिव्यक्ति दिन सक्ने उम्मेदवारमाथि सतही विषयवस्तु प्रस्तुत गरी परीक्षकले सजिलै बुझ्ने भाषा प्रयोग गर्ने उम्मेदवार हाबी हुने देखिन्छ । 

पछिल्लो समयमा नेपालमा यस्तो पुस्ताको उदय भएको छ, जसले पूर्ण रूपमा नेपाली भाषामा पनि दखल राख्न सक्दैन । साथै अङ्ग्रेजी भाषामा पनि विज्ञता हासिल गर्न सकेको पाइँदैन । नेपाली बोल्दा बोल्दै बिचमा अङ्ग्रेजी शब्द मिसाउने तर त्यस शब्दको अर्थ नेपाली भाषामा उल्था गर्न नसक्ने फेरि त्यो वाक्यलाई पूरै अङ्ग्रेजी भाषामा मिलाएर व्यक्त गर्न नसक्ने प्रवृत्ति युवा पुस्तामा रहेको छ । लोक सेवा आयोगको हालसम्मको परीक्षा प्रणालीले पनि त्यही पुस्ताको भावनालाई कदर गरेको पाइन्छ, जसको कारण नेपाली वा अङ्ग्रेजी भाषामा व्यावसायिक अभिव्यक्ति दिन सक्ने कुशलता भएका उम्मेदवारको दक्षतामाथि कुनै भाषिक आधार नभएको ठिमाहा पुस्ता हाबी हुन पुगेको छ । 

लोक सेवा आयोगको परीक्षामा उत्तीर्ण धेरै जसो उम्मेदवारको भाषिक अभिव्यक्ति ठिमाहा किसिमको रहेको उनीहरूले आफैँ स्वीकार गर्ने गरेका छन् । नेपाली भाषामा कुनै विषय अभिव्यक्त गर्दै गर्दा बिचमा अङ्ग्रेजी भाषाको शब्द जोडेर पुनः नेपाली भाषामै वाक्य पूरा गर्ने ठिमाहा भाषालाई अघोषित रूपमा स्वीकार गरिनु योग्यतातन्त्रको बर्खिलाप रहेको छ । त्यसैले लिखित परीक्षाको भाषा माध्यम नेपाली वा अङ्ग्रेजी मात्र राखी एउटै प्रश्नको उत्तरमा दोहोरो भाषाको प्रयोगलाई निषेध गरिनु पर्छ ।

भाषा माध्यम मात्र हो मुख्य कुरा त ज्ञान नै हो तर भाषिक आधारबिनाको ज्ञान पनि ठिमाहा हुने भएकाले भविष्यमा मुलुकको नीति निर्माण तहमा कुशल भाषिक तथा वैचारिक धरातल भएका योग्यतम उम्मेदवार छनोट गर्ने मापदण्डको विकास गरिन आवश्यक हुन्छ ।

उत्तर संरचना

परीक्षामा सोधिने प्रश्न सङ्ख्या, अङ्क र अङ्कभार यथासम्भव सम्बन्धित पत्र/विषयमा दिइए अनुसार हुने साविकको व्यवस्था नयाँ परीक्षा योजनामा समेत उल्लेख गरिएको छ । हालसम्मको प्रश्नपत्रमा व्यावसायिक ढाँचामा उत्तरको अपेक्षा गरी प्रश्नहरू तयार भएको पाइँदैन । सोधिएको प्रश्नको उत्तरको ढाँचा परीक्षार्थीले आफैँ निर्धारण गर्न पाउने स्वतन्त्रता रहेको छ । 

निबन्धात्मक उत्तर लेख्ने, विश्लेषणात्मक उत्तर लेख्ने, बुँदागत उत्तर लेख्ने, सकेसम्म धेरै विषयवस्तु उल्लेख गर्ने, मुख्य विषय उल्लेख गर्ने, प्रशासनिक ढाँचामा उत्तर लेख्ने वा अनुसन्धानात्मक ढाँचामा उत्तर लेख्ने जस्ता मार्गदर्शन प्रश्नपत्रमा उल्लेख भएको पाइँदैन, जसका कारण सकेसम्म धेरै कुरा लेख्ने, सबै विषयलाई खोतल्दै वस्तुपरक विश्लेषण नगरी अगाडि बढ्ने, पृष्ठभूमिदेखि निष्कर्षसम्म नै बुँदागत उत्तर लेख्ने परीक्षार्थीले उच्चतम अङ्क ल्याउने गरेको प्रवृत्ति विद्यमान रहेको छ । यसरी लेखेको उत्तरमा विषयवस्तुको प्रस्तुति त भएको हुन्छ तर एउटा योग्यतम व्यक्तिले प्रयोग गर्ने सामान्य लेखनको सर्वस्वीकार्य तथा पठनयोग्य मानकको उल्लङ्घन भइरहेको हुन्छ । 

अङ्क विभाजन

लोक सेवा आयोग (कार्य सञ्चालन) निर्देशिका, २०७९ को अनुसूची ३२ मा उत्तरपुस्तिका परीक्षण आधार तालिका राखिएको छ, जसमा विषयगत उत्तरपुस्तिका परीक्षण गर्दा अपनाउनुपर्ने आधारहरू तथा त्यसको अङ्क विभाजन प्रतिशत उल्लेख गरिएको छ ।  पूर्णाङ्कको प्रश्नमा विषयवस्तुको तथ्यपूर्ण र तर्कपूर्ण अभिव्यक्तिमा ४५ प्रतिशत, मौलिकतामा ३० प्रतिशत, समालोचना तथा आलोचनामा १५ प्रतिशत, प्रस्तुतीकरणमा पाँच प्रतिशत र शुद्धाशुद्धि तथा सफाइमा पाँच प्रतिशत अङ्क विभाजन गरिएको छ । 

यसरी हेर्दा शुद्धाशुद्धि तथा सर्फामा १० पूर्णाङ्क मध्ये ०.५ अङ्क निर्धारण भएको पाउन सकिन्छ । त्यस्तो अङ्क विभाजनमा भाषाको प्राविधिक शुद्धता, व्याकरणात्मक शुद्धता, संरचनात्मक शुद्धता, शब्द चयनमा शुद्धता जस्ता महìवपूर्ण विषयहरू उल्लेख भएका छैनन्, जसको कारण हेर्दा चिटिक्क परेको अक्षर लेख्ने परीक्षार्थीले उपरोक्त अङ्क विभाजन अनुसार बढी अङ्क पाउने तर भाषिक शुद्धता भए पनि सफा अक्षर लेख्न नसक्ने परीक्षार्थी पछि पर्ने प्रवृत्ति व्यावहारिक रूपमा विद्यमान रहेको छ । सम्पूर्ण लेखनहरू कम्प्युटरमा आधारित हुन थालेको वर्तमान परिप्र्रेक्ष्यमा हस्तलेखनको सफाइलाई योग्यता प्रणालीको मानकको रूपमा लिइनु उचित हुँदैन । बरु भाषिक शुद्धता, शब्द चयनको कला, वाक्य संरचनाको क्षमता जस्ता मानकको विकास गरी योग्यता प्रणालीको आयामको खोजी गरिनु पर्छ । यसका लागि ‘शुद्धाशुद्धि तथा सरसफाइ’ शीर्षकलाई अझ बढी विशिष्टीकृत बनाउँदै अङ्कभार समेत बढाउन आवश्यक हुन्छ ।

विज्ञको दक्षता

लोक सेवा आयोगद्वारा सञ्चालन हुने परीक्षाहरूको प्रश्नपत्र तयार गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, उम्मेदवारको सक्षमता परीक्षण गर्ने तथा अन्तर्वार्ता लिने जस्ता महत्वपूर्ण कार्यहरू सम्बन्धित विषयविज्ञमार्फत सञ्चालन हुने व्यवस्था रहेको छ । 

वर्तमान परीक्षा योजनाले विषयगत लिखित परीक्षालाई नै मूल परीक्षा मानेको हुँदा त्यसको उत्तरपुस्तिका परीक्षणमा संलग्न हुने विषयविज्ञहरू सम्बन्धित विषयमा प्राविधिक, व्यावसायिक, भाषिक तथा अनुभूतिगत रूपमा दक्ष हुन आवश्यक हुन्छ । यस आलेखको अघिल्लो खण्डमा उल्लेख गरिएको उत्तरको माध्यम भाषा नेपाली वा अङ्ग्रेजी अथवा नेपाली र अङ्ग्रेजी दुवै भाषा हुने व्यवस्थाले विषयविज्ञको दक्षतामा समेत प्रभाव पारेको हुन्छ । आयोगको कार्यसञ्चालन निर्देशिका अध्ययन गर्दा लिखित परीक्षाको उत्तरपुस्तिका भाषिक आधारमा नछुट्याइ सम्बन्धित विषयविज्ञद्वारा परीक्षण गरिने व्यवस्था रहेको पाउन सकिन्छ ।

यसरी हेर्दा कुनै विषयको विज्ञ व्यक्ति नेपाली वा अङ्ग्रेजी जुनसुकै भाषामा लेखिएको उत्तरपुस्तिका परीक्षण गर्न योग्य छ भन्ने पूर्वानुमान लोक सेवा आयोगले गरेको देखिन्छ । उदाहरणका लागि नेपाली भाषामा खोज अध्ययन अनुसन्धान गरी शैक्षिक तथा व्यावसायिक योग्यता हासिल गरेको विज्ञले अङ्ग्रेजी भाषामा लेखिएको उत्तरपुस्तिका समेत परीक्षण गर्ने गरेको छ । त्यस्तो विज्ञले विषयवस्तुको परीक्षण त गर्न सक्ला तर लेखनको अन्य आयामको मूल्याङ्कन गर्न नसकी चतुर परीक्षार्थीको शब्दजालमा फस्न सक्ने सम्भावना बढी हुन्छ । यसै गरी नेपाली वा अङ्ग्रेजी कुनै भाषामा प्रयोग गरिएको शब्दचयन, वाक्य संरचना, उखान तुक्का, विद्वान्को भनाई, प्रचलित मान्यतालगायत समग्र अभिव्यक्ति कलाको मूल्याङ्कन सोही भाषामा दखल राख्ने विज्ञले मात्र गर्न सक्छ । फरक भाषामा दखल राख्ने विज्ञले गरेको मूल्याङ्कन वस्तुगत हुन नसकी पूर्वाग्रहयुक्त हुन पनि सक्छ, जसको परिणामस्वरूप योग्य परीक्षार्थी पछि पर्ने र सतही ज्ञान मात्र भएको परीक्षार्थी अगाडि आउने अवस्थाको सिर्जना हुन जान्छ । 

त्यसका लागि परीक्षार्थीलाई कुनै एउटा खण्डको उत्तर लेख्नुपूर्व नै नेपाली वा अङ्ग्रेजी भाषा छनोट गर्न लगाई सोहीबमोजिम नेपाली र अङग्रेजी उत्तरपुस्तिकाहरूलाई फरक फरक रूपमा वर्गीकरण गरी राख्नु पर्छ । उत्तरपुस्तिका परीक्षणका लागि विज्ञ छनोट गर्दासमेत सम्बन्धित भाषामा दखल राख्ने विज्ञलाई सोही भाषाको उत्तरपुस्तिका मात्र परीक्षण गर्न दिइनु पर्छ । यसरी विषयगत दक्षता सँगसँगै भाषिक दक्षतासमेत भएको विज्ञमार्फत उत्तरपुस्तिका परीक्षण गराउन सकेमा मात्र सफा अक्षर लेखेर परीक्षकलाई मन्त्रमुग्ध बनाई बढी नम्बर प्राप्त गर्ने प्रवृत्तिको अन्त्य हुन सक्छ ।

अन्त्यमा

योग्यता प्रणालीलाई व्यावहारिक रूपमा आत्मसात् गर्दै योग्यतम उम्मेदवारलाई सार्वजनिक प्रशासनमा प्रवेश गराउन लोक सेवा आयोगले उपरोक्त आयामको गहन रूपमा समीक्षा गर्दै अवधारणागत, नीतिगत, कार्यगत तथा आचरणगत सुधार गरी योग्यताका मानकमा समयसापेक्ष पुनर्विचार गर्न आवश्यक छ ।

  

Author

द्वारिकाधीश घिमिरे