• १६ भदौ २०८१, आइतबार

गन्तव्य देशमै श्रमिकको स्वास्थ्य परीक्षण

blog

काठमाडौँ, साउन ३० गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैदेशिक रोजगारीमा जानेको मृत्युदर घटाउन श्रम गन्तव्य देशमा रहेका दूतावासमार्फत नै स्वास्थ्य परीक्षण गर्ने रणनीति अघि सारेको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले वैदेशिक रोजगारीमा जानेमा स्वास्थ्य समस्या देखिने क्रम बढेपछि वैदेशिक रोजगारीमा जानेलाई विदेशस्थित नेपाली दूतावासमार्फत नियमित स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने तयारी भएको जानकारी गराउनुभएको हो । 

उहाँका अनुसार वैदेशिक रोजगारीका क्रममा हुने अधिक दुर्घटना, विभिन्न रोगका सङ्क्रमण र मृत्युका कारण पहिचान गरी न्यूनीकरणको रणनीति बनाएर छिट्टो कार्यान्वयनमा जाने तयारी छ । देशमा बढिरहेको मिर्गौला रोगको क्षति रोक्न बेलैमा उपचार थाल्न ‘मिर्गौला स्क्रिनिङ अभियान’ थाल्ने तयारी पनि मन्त्रालयको योजनामा रहेको स्वास्थ्यमन्त्री पौडेलले जानकारी दिनुभयो । हाल वैदेशिक रोजगारबाट फर्किनेमा मिर्गौलाको समस्या अत्यधिक छ । 

काठमाडौँस्थित नेपाल किड्नी सेन्टरमा हाल डायलासिस गराइरहेकामध्ये करिब ३३ प्रतिशत वैदेशिक रोजगारबाट फर्केका रहेको र अन्य अस्पतालमा पनि डायलासिस सेवा लिनेमा युवा उमेरका तथा वैदेशिक रोजगारबाट फर्केकाको सङ्ख्या यसकै हारहारीमा रहेको छ ।