• १६ भदौ २०८१, आइतबार

बेनी-जोमसोम सडक मर्मत हुँदै

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, साउन २९ गते । बेनी–जोमसोम–कोरला कालिगण्डकी कोरिडोर पहिरो र नदी कटानले सताएपछि अहिले गुइँठे तथा बैसरीमा प्लाष्टिकले छोपेर सडक जोगाउने काम गरिएको छ । 

वर्षात्को सुरुवातसँगै पवित्र तीर्थस्थल मुक्तिनाथ दर्शन तथा चीनको स्वसासित क्षेत्र तिब्बतसँगको सिमाना कोरला नाका पुग्ने उक्त सडकको पहिरोले निकै धेरै सताउने अन्नपूर्ण गाउँपालिका–३ दानाको गुइँठेमा सडकको बेस सहितको पर्खाल उठाउने काम गर्दा वर्षाले बाधा पुर्‍याउने भएकाले प्लाष्टिकले छोप्ने गरिएको छ । अन्नपूर्ण गाउँपालिका–३ का पर्यटन व्यवसायी एवम् बेनी–जोमसोम–कोरला कालिगण्डकी कोरिडोर सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले दिनुभएको जानकारी अनुसार अहिले साँघुरो भएको सडकलाई अलिक फराकिलो बनाउनुका साथै पहिरोबाट जोगाउनका लागि प्लाष्टिकको सहारा लिइएको छ । वर्षात्को पानीले जमिन भिजेर सडकै बगाउने जोखिमलाई न्यूनीकरणका लागि प्लाष्टिक राम्रो उपाय हुन सक्ने भएकाले यस्तो गरिएको उहाँको भनाइ छ ।

अन्नपूर्ण गाउँपालिका–३ दानाका वडा अध्यक्ष रमेश पुर्जाका अनुसार बेनी–जोमसोम सडक खण्डको दाना क्षेत्रको गुइँठे, खामभित्ता, लाटा खोला, रुप्से र काभ्रे अति धेरै पहिरो जाने क्षेत्र हो । यी ठाउँहरूमा वर्षाको समयमा सबै भन्दा धेरै अवरुद्ध हुने गर्दछ । उल्लेखित सबै ठाउँ वर्षामा पहिरोले सताउने ठाउँ हो र यी मध्ये पनि गुइँठे भीरमा अति धेरै जोखिमको क्षेत्र हो । त्यसैले गुइँठेमा सडकको बेस नै बग्न सक्ने जोखिम बढेको हुनाले हालका लागि प्लाष्टिक ओढाएर त्यसलाई जोगाउने प्रयास कालिगण्डकी कोरिडोर सडक आयोजनाले गरेको अध्यक्ष पुर्जाको भनाइ छ ।

त्यस्तै रघुगंगा गाउँपालिका–३ बैरीमा सडकभन्दा माथिबाट आउने पानीको श्रोतलाई अन्यत्रै लैजान पनि कुलो काटेर कुलोमा पनि पानी नचुहियोस् भन्ने हेतुले प्लाष्टिकले नै कुलो बनाइएको छ । पानीको श्रोत जथाभाबी हुँदा लगातार पहिरो झरेर सडक अवरुद्ध हुने गरेकोले उक्त जोखिम कम गर्नका लागि प्लाष्टिक प्रयोग गरेर कुलो काटेर पानी तर्काइएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । कुलो बनाएपछि प्लाष्टिकको सापो हालेर पानी चुहिन रोक्ने प्रक्रिया गरेपछि अहिले पहिरो झर्ने क्रम कम भएको उहाँको भनाइ छ । 

सामान्य ढुङ्गा अलिअलि झर्न सक्छ तर पहिला जस्तो पहिरो झरेको छैन अध्यक्ष भण्डारीले भन्नुभयो । सडक नियमित सञ्चालनका लागि हरेक तवरले प्रयास गरिएको बेनी–जोमसोम–कोरला कालिगण्डकी कोरिडोर सडक आयोजनाका मीन बानियाँले बताउनुभयो । सडक बाढी पहिरोबाट जोगाउनका लागि र नियमित रूपमा सवारी आवागमनलाई सञ्चालन गराई राख्नकै लागि प्रयास सधैँ भइरहेको उहाँले जानकारी गराउनुभयो ।