• १६ भदौ २०८१, आइतबार

मेघौली जङ्गल सफारीमा पर्यटकको आकर्षण

blog

शालिग्राम नेपाल 

चितवन, साउन २९ गते  ।  बाघ, गैँडा देखिन थालेपछि पश्चिम चितवनको मेघौली क्षेत्रमा जङ्गल सफारी गर्ने पर्यटकको सङ्ख्या बढेको छ । सफारीका लागि चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्र सौराहाबाट प्रवेश गरेर पश्चिमतर्फ कसरासम्म आउने गर्छन् । सौराहाको प्रवेश क्षेत्रमा गैँडाको सङ्ख्या कमी हुँदै गएको र निकुञ्जको पश्चिम मेघौली, अमलटारीको विभिन्न स्थानमा जनावरको सङ्ख्या बाक्लो हुन थालेपछि सफारीको आकर्षण मेघौली बनेको हो । 

केही वर्षयता निकुञ्जको पूर्वी क्षेत्रबाट पश्चिममा बाघ, गैँडासहित अन्य जनावरको सङ्ख्या वृद्धि भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । पूर्वी क्षेत्रमा भन्दा पश्चिममा सजिलै जनावर देखिन्छ । यस क्षेत्रमा जनावरका लागि बासस्थान उपयुक्त छ । पानीको व्यवस्था, मानिसको चहलपहल कमसहित उपयुक्त स्थान भएकाले गैँडा, बाघ पश्चिम क्षेत्रमा वृद्धि भएको तिवारीले जानकारी दिनुभयो । 

“पश्चिममा गैँडाको सङ्ख्या धेरै भयो भनेर सौराहाबाट पूर्वी क्षेत्रमा स्थानान्तरणसमेत गरेका थियौँ,” तिवारीले भन्नुभयो, “जङ्गल, फराकिलो घाँसे मैदान, पानीको पर्याप्त स्रोत भएपछि मेघौली र त्यसबाट पश्चिम जनावरको सङ्ख्या वृद्धि भएको पाएका छौँ । एकै स्थानमा जनावर धेरै सङ्ख्यामा हुँदा जुधेर मर्ने घटना वृद्धि भएपछि स्थानान्तरण गरेका थियौँ ।”  

निकुञ्ज आएका पर्यटकले जङ्गली जनावर हेर्न मन पराउने भएकाले पश्चिम क्षेत्रमा जान थालेको उहाँले जानकारी दिनुभयो । निकुञ्जभित्र बर्सातमा बाटोको व्यवस्था राम्रो नहुने, रुख लडेर बाटो छेकिने भएपछि असारबाट तीन महिनाका लागि जिप सफारी बन्द गरिएको छ तर निकुञ्जसँग जोडिएका मध्यवर्ती सामुदायिक वनले भने सफारी कार्य रोकेका छैनन् । मेघौलीको राधाकृष्ण मध्यवर्ती सामुदायिक वन र सदावहार मध्यवर्ती सामुदायिक वनमा अहिले जिप सफारी चढ्न आउनेको सङ्ख्या वृद्धि भएको छ । 

राधाकृष्ण मध्यवर्ती सामुदायिक वनका अध्यक्ष वेधनिधि सुवेदीले भन्नुभयो, “यहाँ सौराहामा मात्र केन्द्रित हुने पर्यटक अहिले मेघौली आउन थालेका छन् । पर्यटकको सङ्ख्या वृद्धि भएपछि सफारीका लागि जिप नै सञ्चालनमा ल्याएका छौँ ।” बर्सातमा समेत पर्यटक आएका बताउँदै अध्यक्ष सुवेदीले भन्नुभयो, “गैँडा हेर्न चाहनेले सजिलै देख्न सक्छन् । आहाल बस्ने ठाउँ र चरन गर्ने निश्चित स्थान छन् त्यहाँ गएपछि फरक पर्दैन,” उहाँले भन्नुभयो । राप्तीको घाँसे मैदान क्षेत्र छ । जङ्गलको बिच क्षेत्रमा पनि घाँसे मैदान, पानीका स्रोत प्रशस्त भएकाले यहाँ गैँडा, हरिण, मृग, लगुना, मयूर, बँदेल, बाघलगायत जनावर हेर्न सकिन्छ । 

मेघौली आउने पर्यटकले सफारी रोजेपछि यहाँ जिप थपिएको छ । एउटा जिपमा नौ जनाको सिट हुन्छ । समूहमा आए सस्तो पर्छ । स्थानीय सञ्चारकर्मी बद्री अर्यालका अनुसार सौराहा आएका पर्यटक बाघ, गैँडा हेर्न मेघौली आउने गरेका छन् । यहाँका थारू होमस्टेमा बस्ने, नाच हेर्ने र सफारी गर्ने भनी धेरैले सम्पर्क गरी आउने गरेका छन् । 

मेघौली विमानस्थलको स्तरवृद्धि र यहाँ सुविधासम्पन्न होटेल निर्माणले विदेशी पर्यटकको आकर्षण वृद्धि भएको भरतपुर महानगरपालिकाका पर्यटनविज्ञ डाक्टर विश्व सुवेदीले बताउनुभयो । यहाँको निकुञ्ज र मध्यवर्ती जहाँ प्रवेश गरे पनि गैँडा सजिलै देख्न सकिन्छ भने बाघ पनि देख्न पाइने उहाँले बताउनुभयो । पश्चिम क्षेत्रमा बाघ, गैँडा सजिलै देखिने भएकाले टाइगर टप्स विश्वमा परिचित छ । निकुञ्जभित्र होटेल सञ्चालनमा रोक लगाएपछि टाइगर टप्स होटेल बन्द भएको छ । सुविधासम्पन्न होटेलमा आएका पर्यटकले निकुञ्जमा सफारी गर्ने गरेको सुवेदीले बताउनुभयो ।