• १६ भदौ २०८१, आइतबार

रहरैरहरमा कलाकर्ममा व्यस्त रक्षा

blog

‘झिम्के मामा’ नाटकबाट अभिनय थाल्नुभएकी रक्षा थापा छ वर्षदेखि अभिनय कर्ममै हुनुहुन्छ । कक्षा १२ को परीक्षा दिएर बसेको समयमा लहैलहैमा रङ्गमञ्चमा पाइला राख्न पुगेकी रक्षा यतिबेला चाहिँ व्यावसायिक कर्मकै रूपमा जुट्नुभएको छ । रक्षाले झिम्के मामा, कन्नन हरलता, ताप, त्रयम, अङ्कुरन, बत्तीमुनिको उज्यालो जस्ता नाटकमा अभिनय गरिसक्नुभएको छ । चलचित्र क्षेत्रमा पाइला टेकाइसकेकी रक्षाको इच्छा छ, “वर्षमा एउटा भए पनि नाटकमा अभियन गर्ने रहर पुगेको छैन ।”

रक्षा अभिनीत चलचित्र ‘बाटो’ भर्खरै प्रदर्शनमा आएको थियो । चलचित्र ‘बाटो’ मा रक्षाको ‘नर्स’ भूमिकालाई दर्शकले रुचाए पनि । रक्षा अभिनीत चलचित्र ‘बेहुली फ्रम मेघौली’ प्रदर्शनको तयारीमा छ । साहित्यकार रेणुका सोलुकी छोरी हुनुको फाइदासमेत रक्षाले उठाउनुभएको छ । साहित्यिक जमघट, छलफल र बहसले कलाकर्मको क्षेत्रमा रक्षालाई सघाएकै छ । प्रस्तुत छ, केही व्यावसायिक विज्ञापन र म्युजिक भिडियोमा मोडलिङ गरिसक्नुभएकी रक्षासँग गोरखापत्र समाचारदाता सुकृत नेपालले गर्नुभएको कुराकानी– 


तपाईंको अभिनय यात्रा नाटकबाटै सुरु भएको थियो, नाटकमा अभिनय गरेबापत पारिश्रमिक चाहिँ कति पाइन्थ्यो ?

नाटकमा खासै कमाइ हुँदैन । नाटक चल्यो भने त्यही २०/२५ हजार रुपियाँ हो । नाटक घाटामा गएमा त डुबियो, पारिश्रमिक पाइँदैन  तर चलचित्रमा धेरथोर पारिश्रमिक पाइन्छ । मैले बाटोमा अभिनय गरेबापत ४० हजार पारिश्रमिक लिएकी थिएँ । त्यस्तै बेहुली फ्रम मेघौलीले एक लाख रुपियाँ पारिश्रमिक दिएको थियो । 

नाटकमा काम गर्दागर्दै चलचित्रमा प्रवेश गर्नुभएको हो ? 

मैले नाटकमा अभिनय गर्नुभन्दाअघि विभिन्न विज्ञापन र म्युजिक भिडियोमा अभिनय गरेकी थिएँ । त्यही क्रममा चलचित्र ‘बाटो’ को टिमसँग भेट भयो । नयाँ टिम हो दिउँ न त ‘अडिसन’ एक पटक भन्ने लाग्यो । अडिसनमा म छानिएँ । चलचित्र कथा पनि नयाँ लाग्यो । मुख्य पात्रको भूमिका पनि थियो । आफ्नो अभिनय क्षमता देखाउन सक्छु जस्तो पनि लाग्यो । त्यसैले पनि चलचित्रमा अभिनय गर्ने सोच बनाए । 

नाटकमा अभिनयमार्फत दर्शकसँग प्रत्यक्ष संवाद गर्न सकिन्छ । चलचित्रमा त निर्देशकमार्फत क्यामरासँग सहकार्य गर्नु पर्छ । चलचित्रमा अभिनय गर्दा के पाउनुभयो ? 

चलचित्र ‘बाटो’ को अभिनय गर्दाको छुट्टै अनुभूति छ । त्यसको केही महिनाअघि मात्र मैले एर्को एउटा चलचित्र ‘बेहुली फ्रम मेघौली’ मा अभिनय गर्ने मौका पाएको थिएँ । 

चलचित्र बाटोमा मैले धेरै परिश्रम गर्नु परेको थियो । यसमा निर्माणको कुरालाई लिएर चलचित्रको प्रदर्शनीमा ढिलाइ भयो । न खानाको समय हुन्थ्यो न त सुत्ने समय । बजेटको कुराले गर्दा साथीभाइसँग बोलचालसमेत हुँदैनथ्यो । सुटिङ गर्दा कति धेरै दुर्घटना भए । त्यसले पनि धेरै नै असर पा¥यो । यही कुराले गर्दा चलचित्रको छायाङ्कन सक्काउन करिब एक वर्ष लागेको थियो । ‘बेहुली फ्रम मेघौली’ मा खासै यस्तो भएन । रमाइलो थियो । सुटिङ पनि ३५ दिनमा नै सकिएको थियो । एक दिन बिदा एक दिन सुटिङ हुन्थ्यो । मलाई त घरबाट बिदा मनाउन आएको जस्तो लागेको थियो । 

चलचित्र ‘बाटो’ र ‘बेहुली फ्रम मेघौली’ गर्दा के फरकपन पाउनुभयो ?

पहिलो चलचित्र नै थ्रिलर किसिमको गरेको हुनाले पनि मलाई अन्य चलचित्र गर्न गाह्रो हुन्छ जस्तो लाग्दैन । फेरी ‘बेहुली फ्रम मेघौली’ गर्दा मलाई सुटिङ गरेको जस्तो अनुभव नै भएन, जे कुरा पनि सजिलो तरिकाले गर्ने गरिन्थ्यो । ‘बेहुली फ्रम मेघौली’ मा मैले गरेको पात्रको भूमिका भनेको भर्खरै २३/२४ वर्ष लागेकी नर्सिङ पढेकी केटीको हो । छोटो भूमिका भए पनि अन्त्यसम्म मेरो भूमिकालाई दर्शकले बिर्सन हुन्न । 

तपाईंले त विज्ञापनमा पनि अभिनय गर्नुभएको रहेछ ? कुन कुन विज्ञापनमा अभिनय गरिसक्नुभयो ? 

मैले काम गरेको विज्ञापन पठाओ, वाइवाई, एनसेल, फोन पे आदि रहेका छन् । आफूले गरेको विज्ञापन हेर्दा आफैँलाई नै चित्त बुझ्दैन । फेरि नाटक र चलचित्रका विज्ञापनमा राम्रो पारिश्रमिक पाइन्छ । फरक र भिन्न टिभिसी भयो भने १० देखि ५० हजार रुपियाँसम्म पाइन्छ, नत्र २५/३० हजार रुपियाँसम्ममा पनि गरिन्छ ।