• १६ भदौ २०८१, आइतबार

पुँजीगत खर्च वृद्धि गर्न र अनावश्यक निकाय कटौती गर्न जोड

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ । तस्बिर : सञ्चार मन्त्रालय

काठमाडौँ, साउन २८ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पुँजीगत खर्च वृद्धि गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । उहाँले मन्त्रालयअन्तर्गतका सबै निकाय र विभागमा ९० प्रतिशतभन्दा बढी खर्च गर्न निर्देशन दिनुभएको हो ।  

मन्त्रालयमा आज आयोजित गत आर्थिक वर्ष २०८०/८१ का कार्य प्रगतिबारे समीक्षा कार्यक्रममा बोल्नुहुँदै मन्त्री गुरुङले विषयगत मन्त्रालयको पुँजीगत खर्च हुन नसक्नु अहिलेको मुख्य चुनौती रहेको बताउनुभयो । “जुन देशमा पुँजीगत खर्च गर्न सकिँदैन, त्यस्तो देशमा विकासको सम्भावना कम हुन्छ”, उहाँले भन्नुभयो, “यो वर्ष हामीले खर्च गर्ने सामर्थ्य बढाउँछौँ ।” उहाँले विकासका अवरोधका रूपमा पुराना ऐन, कानुन र नीति रहेको उल्लेख गर्नुभयो । 

 मन्त्रालयले डिजिटल नेपाल बनाउने, स्याटलाइट र सुरक्षण मुद्रण केन्द्र (प्रिन्टिङ प्रेस) आफ्नै बनाउने उहाँले बताउनुभयो । “अबको विकास सूचना प्रविधिको हो”, उहाँले भन्नुभयो, “हामीले यी विषयलाई हिरो मिसन मानेका छौँ ।” 

आवश्यकताभन्दा बढी कर्मचारी भर्ना गर्नुले पनि कार्यप्रगतिमा अवरोध भएको उहाँको भनाइ थियो । सेवामा खटिने कर्मचारीलाई प्रोत्साहन गर्ने र अनावश्यक निकाय कटौती गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा प्रस्तुत प्रगति विवरण सुनेपछि मन्त्रालयअन्तर्गतका निकाय र विभागीय प्रतिनिधिसँग मन्त्री गुरुङले राजस्व बढाउनेतर्फ ध्यान दिन निर्देशन दिनुभयो ।


गोरखापत्र स‌ंस्थान, राष्ट्रिय समाचार समिति (रासस), नेपाल टेलिभिजन, रेडियो नेपाललगायत संस्थानका आफ्नै चलअचल सम्पत्तिको संरक्षण र परिचालन गर्न उहाँले निर्देशन दिनुभयो । “हामीले हाम्रै सम्पत्तिको संरक्षण र परिचालन गर्न नसकिरहेको अवस्था छ”, उहाँले भन्नुभयो, “चलअचल सम्पत्तिको भरपुर सदुपयोग गरेर राजस्व बढाउनेतर्फ ध्यान दिऊँ ।” उहाँले राष्ट्र गौरवका योजनाहरूमध्ये ‘डिजिटल नेपाल’, ‘स्याटलाइट’ र ‘सुरक्षण मुद्रण केन्द्र’ पनि हुनुपर्ने जिकिर गर्नुभयो ।

मन्त्रालयले यिनै मुख्य तीन विषयलाई समेटेर ‘हिरो मिसन’ का रूपमा लिएको जानकारी दिनुभयो । मन्त्रालयले डिजिटल नेपाल बनाउने, स्याटलाइट र सुरक्षण मुद्रण केन्द्र (प्रिन्टिङ प्रेस) आफ्नै बनाउने उहाँले बताउनुभयो । “अबको विकास सूचना प्रविधिको हो”, उहाँले भन्नुभयो, “हामीले यी विषयलाई हिरो मिसन मानेका छौँ ।”

राष्ट्रिय योजना आयोगका सदस्य डा.प्रकाशकुमार श्रेष्ठले समस्यामा अल्झिएर नभई समाधानसहितको बैठक बस्न आवश्यक रहेको बताउनुभयो । 


उहाँले प्रविधि र रोजगारका विकासको सन्दर्भमा मन्त्रालयसँग आयोगले सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा मन्त्रालयले हालसम्म गरेका नीतिगत तथा कानुनी सुधारसहित प्रविधिमा भएका उपलब्धिबारे समीक्षा गरिएको थियो । आमसञ्चारअन्तर्गतको उपलब्धिहरूमा राष्ट्रिय समाचार समिति (रासस) ले अवधि भाषामा समाचार सेवा प्रारम्भ गरेको, एफटिपीमार्फत राससको श्रव्यदृश्य (भिडियो) सेवा सम्प्रेषण सुरु भएको, रासस र कतार न्युज एजेन्सी (क्युएनए) बिच समाचार सामग्री आदानप्रदान गर्ने सम्बन्धी सम्झौता भएको मन्त्रालयले उल्लेख गरेको थियो । 

कार्यक्रममा मन्त्रालयका सचिव राधिका अर्यालले सरकारको डिजिटल दशक बनाउने लक्ष्य पूरा गर्न सबै कर्मचारीबिच सहकार्यको अपेक्षा रहेको बताउनुभयो । कार्यक्रममा मन्त्रालयअन्तर्गतका निकाय, विभागीय प्रतिनिधि र सरोकारवाला मन्त्रालयका प्रतिनिधिको उपस्थिति रहेको राससले जनाएको छ । 

यसैगरी, गोरखापत्र संस्थानका तर्फबाट संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले उपलब्धि र मन्त्रालयबाट हुनुपर्ने सहजीकरणलगायत विभिन्न विषयमा आफ्नो मन्तव्य राख्नुभयो । उहाँले गोरखापत्र संस्थान कर्मचारी सेवा सर्त विनियमावली स्वीकृतिको प्रक्रिया र भवन निर्माणको विषयमा मन्त्रालयको सहयोग अपरिहार्य रहेको छ भन्नुभयो । 

गोरखापत्र संस्थानका तर्फबाट महाप्रबन्धक लालबहादुर ऐरी, नि. नायब महाप्रबन्धक यमप्रसाद कँडेल तथा योजना शाखा प्रमुख रामबहादुर शाहको सहभागिता थियो ।