• १६ भदौ २०८१, आइतबार

दैनिक २० सवारीसाधन कारबाहीमा

blog

सन्तोष सुवेदी

कास्की, साउन २८ गते । पोखरा–बागलुङ सडक खण्ड अन्तर्गत मध्यपहाडी लोकमार्ग हेम्जाको सडक ‘भाइरल रोड’ को नामले परिचित छ । फराकिलो सडक, रङ्गराेगन र ट्राफिक सङ्केत जनाउने अनेक रेखा र चिन्हले सडकलाई आकर्षक बनाएको छ । डोरी तन्काएजस्तो सिधा सडकमा परसम्मको अवस्था वरैबाट प्रस्ट देख्न सक्ने भएपछि सवारीको तीव्र गतिले दुर्घटना निम्तिने गरेको छ ।

दुर्घटनाको जोखिम बढ्दै गए पनि चालकहरूले त्यहाँ अनियन्त्रित गतिमा सवारी दौडाउने गरेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले पनि हेम्जाको सडकमा विशेष निगरानी बढाउँदै आएको छ । प्रहरीले एकवर्ष यता दुर्घटना कम गर्नको लागि ‘राडर गन’ (सवारीको गति मापन गर्ने यन्त्र) सहित चेकजाँच सुरु गर्दै आएको छ । वडा प्रहरी कार्यालय बगरमा रहेको ट्राफिक प्रहरीको टोलीले हरेक दिनजसो हेम्जाको सडकमा चेकजाँच गर्दै आएको छ। वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक बोधराज रेग्मीले नियमित चेकजाँचपछि दुर्घटनामा कमी आएको बताउनुभयो । 

"राडर गनबाट चेकजाँच गरेको गतर्ष साउनदेखि हो । अहिले केही मात्रामा दुर्घटनामा कमी आएको छ । बाटो फराकिलो हुँदा ओभर स्पिड, मापसे गरेर सवारी चलाउने क्रमलाई कारबाही गर्दै आएका छौं," उहाँले भन्नुभयो ।

सुरुवातको चरणमा राडर गनले सवारीको गति नापेर हेर्दा प्रति घण्टा १ सय १५ किलोमिटरसम्मको गतिमा सवारी कुदेको देखिने उहाँले जानकारी दिनुभयो । "बाक्लो बस्ती भएको क्षेत्रमा बढीमा ६० भन्दा बढी स्पिड हुनुहुँदैन । ७० भन्दा माथि स्पिड गर्नेलाई सवारीलाई गरेका छौं," उहाँले भन्नुभयो । उहाँका अनुसार अहिले पनि दैनिक रुपमा १५-२० जना सवारी चालकहरु कारबाही पर्ने गर्छन् ।

"राडर गनमा रहेको सेन्सरमा परेको सवारीको गति सवारीमा जति छ गनमा पनि त्यति नै देखिन्छ । चालकले हामीलाई देखेको हुँदैन तर हामीले सवारीको गति थाहा पाइसकेका हुन्छौँ," उहाँले भन्नुभयो । मध्यपहाडी लोकमार्ग ‘हाइवे’ भए पनि हेम्जा खण्डमा भने चालकले चाहेको गतिमा सवारी कुदाउन नपाइने उहाँले प्रस्टाउनुभयो ।  विशेषगरी मोटरसाइकल र निजी चारपाङ्ग्रे सवारी बढी कुदेको र त्यसपछि बलेरो, स्कोरपियो लगायतका सवारी  रहेको उहाँले जानकारी दिनुभयो ।

जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख भानु शर्माले गत आर्थिक वर्षमा कास्कीमा ९० वटो दुर्घटना भएको जानकारी दिनुभयो । यसमा एक सय २१ सवारी साधन संलग्न रहेको उहाँको भनाइ छ । "आर्थिक वर्ष ०८०-०८१ मा सवारी दुर्घटनाबाट ४५ जनामको मृत्यु भएको छ । दुर्घटनामा बढी दुई पाङ्ग्रे सवारी छन् । यो वर्ष ओभर स्पिडबाट तीन हजार चार सय ८७ कारबाही परेका छन् । जसबाट ३४ लाख ६० हजार रुपियाँ राजस्व सङ्कलन भएको छ," उहाँले भन्नुभयो । उहाँका अनुसार गत आवको तुलनामा यो पटक दुर्घटना कम भएको हो ।