• १० मंसिर २०८१, सोमबार

‘भक्ति’को भेषमा अवैध प्रेम : विवाहको प्रस्ताव आउँदा हत्या

blog

हत्या आरोपीलाई सार्वजनिक गर्दै प्रहरी । तस्बिर : राजु लामिछाने

राजु लामिछाने
रुकुमपश्चिम, साउन २८ गते ।
रुकुमपश्चिमको चौरजहारी नगरपालिका –११ माथिल्लो सर्केना निवासी २३ वर्षीय प्रेम मल्ललाई अधिकांशले ‘भक्ति’ भनेर चिन्थे । पहेंलो वस्त्र धारण गर्ने, त्रिशूल बोक्ने र पहेंलो टीका निधारमा लगाउने उनीसँग अधिकांश मानिसहरु हात हेराउन जान्थे ।

मल्ल प्रायः गरेर सानीभेरी गाउँपालिका –४ रिम्ना दोभान छेउमा रहेको शिव मन्दिरमा बस्थे । मेलापर्व, पूजापाठमा उनी कहाँ हात हेराउनेहरुको भिड नै हुने गरेको सानीभेरी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मनोज बुढाथोकीले बताउनुभयो ।

करिब डेढ वर्ष पहिला उनी सानीभेरी गाउँपालिका –४ को लामाचौर गाउँमा स्थानीयको घरमा भक्तिकै भेषमा करिब १५ दिन बसे । मल्लको बारेमा केही शङ्कास्पद कुरा सुनेपछि घरपट्टिले घर छोड्न लगाउँदा उनले गाउँ नै छोडेर हिँडेका थिए । यिनै भक्ति अर्थात् प्रेम मल्लसँग सानीभेरी गाउँपालिका –४ लामाचौर गाउँकी ४९ वर्षीया सुशीला मल्लको रिम्ना मेलामा डेढ वर्ष अघि चिनजान भएको थियो ।

सुशीला एकल महिला हुनुहुन्छ । तीन भाइ छोरा र एक छोरीकी आमा सुशीला पनि धर्मकर्म र भक्तिभावमा जोडिनुभएको थियो । घरमा छुट्टै पूजाकोठा थियो । पहेंलो वस्त्र लगाउने, पूजापाठमा सहभागी हुने उहाँको दैनिकी थियो । 

यी दुबै भक्तिहरु बिचमा झाँगिएको प्रेम सम्बन्धले गाउँमा कुरा काट्ने वातावरण बन्दै गइरहेको थियो । तिनै प्रेमले सुशीलाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ४९ वर्षीया सुशीला र २३ वर्षीय प्रेमबिचको अवैध प्रेम सम्बन्धकै कारण हत्या भएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले रिम्ना मेलामा भएको चिनजान घरमा उठबसको अवस्थासम्म पुगेको र हत्या भएको बताउनुहुन्छ ।

प्रहरीको भनाइ अनुसार गत साउन २२ गते राती सुशीलाको घरमै हत्या भयो । भोलिपल्ट २३ गते जिल्ला प्रहरी कार्यालयबाट डिएसपी पोखरेल, इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक नवीन मरासिनी र इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक ईश्वरदेव गिरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुग्यो ।

घाँटीमा सल बेरिएको, निधार र शरीरका अन्य भागमा गहिरो चोट लागेको, रक्ताम्य रहेको, घटनास्थलमा फलामको तावा, सिलौटो, लोहाेरो, चम्चासमेत रगतमा लत्पतिएको अवस्थामा प्रहरीले शव फेला पारेको थियो ।

त्यसलगत्तै घटनाको अनुसन्धानका लागि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी वरिष्ठ नायब निरीक्षक नारायणप्रसाद शर्माको नेतृत्वको विशेष अनुसन्धान टोली, नेपाल प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेश (हाल नेपागञ्ज) प्रहरी निरीक्षक बुद्धिप्रसाद शर्मा र केनाईन शाखा कोहलपुरबाट प्रहरी नायब निरीक्षक विष्णु पौडेलको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली आएर घटनाको अनुसन्धान सुरु गरेको थियो ।

हत्यापछि लिएको त्यो मोबाइल
मृतक सुशीलाले इन्फिनिक्स कम्पनीको मोबाइल चलाउने गर्नुहुन्थ्यो । अनुसन्धान टोलीले घटनास्थलमा मृतकको मोबाइल फेला पारेन । त्यसैको आधारमा हत्यारा पत्ता लगाउन प्रहरीलाई सहज भयो । मोबाइल कुराकानी, स्थानीयसँगको सूचनालगायतका आधारमा प्रहरीले उनै प्रेमलाई २५ गते घरबाटै पक्राउ गर्न सफल भयो । मृतकको मोबाइल पनि प्रेमकै घरबाट बरामद गरेको प्रहरीको भनाइ छ ।

यतिसम्म कि हत्या गरेपछि लिएर गएको मोबाइलबाट प्रेमले अरु महिलासँग कुराकानी गरेका थिए । मृतकको मोबाइलबाट अन्यसँग भएको कुराकानी पछ्याउँदै जाँदा उनै प्रेमले फोन गरेको पत्ता लागेपछि प्रेमले हत्या गरेको पत्ता लगाउन प्रहरीलाई सहज भएको हो ।

कर्णालीका विभिन्न अपराधका घटनाहरुको सूक्ष्म अनुसन्धान गरेर सफलता पाउन सफल नारायणप्रसाद शर्माको नेतृत्वको विशेष अनुसन्धान टोलीले प्रेमको घर, उनले कुराकानी गर्ने गरेका जिल्लाभित्र र बाहिरका अरु महिलाहरु, मृतकका छिमेकीहरु, आफन्तलगायतसँगको बयान तथा अनुसन्धानपछि सुशीलाको हत्यारा पत्ता लगाउन सफल भएको बताइएको छ ।

प्रहरीका अनुसार पछिल्लो समय प्रेम सुशीलाको घरमा २१ गते आएर बास बसेका थिए । २२ गते पनि जाजरकोटको रिम्ना बजार, रुकुम पश्चिमको चाइनाबगरतिर दिनभर घुमेर प्रेम साँझपख फेरि सुशीलाकै घरमा आएका थिए । सुशीलाले गाउँघरमा हाम्रो सम्बन्ध बारेमा सबैले थाहा पाइसके, अब विवाह गरौं भनेर प्रस्ताव राखेको र प्रेमले अस्वीकार गरेको प्रहरीको भनाइ छ । यहि विषयमा विवाद बढेपछि प्रेमले सुशीलाको हत्या गरेको बताइन्छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार प्रेमले सुशीलालाई फलामको तावा, सिलौटो, लोहाेरो, चम्चा लगायतले शरीरका विभिन्न भागमा हानेर गम्भीर बनाएपछि सलले घाँटी थिचेर मारेको देखिन्छ ।

सुशीलाको तीन छोरा रोजगारीको सिलसिलामा नेपाल बाहिर बस्ने गर्नुहुन्छ । घरमा एक बुहारीको साथमा बस्ने उहाँ एकदमै सोझो एकल महिलाको रुपमा चिनिनुहुन्थ्यो । बुहारी घटनास्थल भएको घरभन्दा अलि परको टहरामा बस्ने गर्नुहुन्छ ।

लेनदेनले आशङ्का
स्थानीयका अनुसार हत्या आरोपी र मृतकका बिचमा आर्थिक लेनदेन समेत भएको शङ्का रहेको छ । मृतकका गरगहाना र छोराहरुले विदेशबाट पठाएको पैसा देखेर हत्या गरेको हुनसक्ने उनीहरुको आँकलन छ । प्रहरीले पनि पाँच हजार रुपियाँ मात्र सुशीलासँगबाट आफूले लिएको प्रेमले स्वीकार गरेको जनाएको छ । तर यस बारेमा थप अनुसन्धानका क्रममा खुल्ने प्रहरीले जनाएको छ ।

हत्या आरोपी प्रेमलाई अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।