• १६ भदौ २०८१, आइतबार

भरतपुरको मुख्य बस्तीमा घाइते बाघको त्रास

blog

शालिग्राम नेपाल 

चितवन, साउन २७ गते  ।  बाघले पशुचौपायामाथि आक्रमण गर्न थालेपछि भरतपुर–११ का स्थानीय त्रसित भएका छन् । दुई हप्तायता बाघले बस्तीनजिकै पाडा, बाख्रालाई खाएपछि जङ्गलनजिकैका बस्तीमा त्रास छाएको हो । भरतपुर महानगरपालिका–११ घना बस्ती भएको क्षेत्र हो । केही दिनअगाडि नारायणी नदी किनारमा बिहान पैदल हिँडेको बाघले आक्रमण गर्दा पशुपति श्रेष्ठ घाइते हुनुभएको थियो । त्यो बाघलाई नियन्त्रणमा लिएर निकुञ्जको मुख्य क्षेत्रमा छाडिएको छ । 

अहिले वडा नंं. ११ को भोजाड, लामाटोल, जखडीमाई, राइनोताल चोक वडा नंं. १२ को क्षेत्र, वडा नं. ९ र ८ वडाका क्षेत्रमा बाघको त्रासले जनजीवन प्राभावित भएको छ । घरनजिकबाट बाघले गाई लगेपछि स्थानीयमा डरत्रास बढेको वडा नंं. ११ का वडाध्यक्ष कमल मल्लले जानकारी दिनुभयो । “बाघको गतिविधि बढेपछि जङ्गल जान रोक लगाइएको छ,” उहाँले भन्नुभयो, “सूचना जारी गरेर बाघ नियन्त्रणमा नलिएसम्म एक्लै जङ्गलको बाटो नहिँड्न सूचित गरेका छौँ  ।”

भरतपुर महानगरपालिकाको बाइपास चोकदेखि भोजाड हुँदै कालिका नगरपालिकाको पदमपुर खोलेसिमल जाने मुख्य राजमार्ग छ । यही बाटो भएर साइकल, पैदल, मोटरसाइकल, बस, ट्याम्पोमा सयौँले यात्रा गर्दै आएका छन् । बाघको त्रास बढेपछि समूहमा यात्रा गर्न लगाइएको छ । 

त्रास फैलाउने बाघलाई नियन्त्रणमा लिने प्रयास भइराखेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । “अहिले त्रास फैलाएको बाघले करिब १० किलोमिटर क्षेत्रमा दैनिक यात्रा गर्दै आएको पाएका छौँ,” उहाँले भन्नुभयो, “नियन्त्रणका लागि प्राविधिकको टोली परिचालन भएको छ । अन्य क्षेत्रभन्दा वडा नंं. ११ को जङ्गलमा मानिसको चहलपहल धेरै हुने गरेको छ ।”

पहाड र तराई जोड्ने एक मात्र कोरिडोर रहेकाले यस क्षेत्रमा बाघको गतिविधि धेरै हुने गरेको छ । मुग्लिङ–नारायणगढको सडकखण्ड अन्तर्गत रामनगर क्षेत्र, आँपटारी क्षेत्र, जलदेवी वन, जखडीमाई हुँदै बिसहजारी तालसम्म बाघ हिँड्ने गर्दछ । वन्यजन्तुको अधिकारलाई सुरक्षित गर्ने दायित्व मानिसकै भएकाले सजग भएर हिँड्न अनुरोध गरिएको सूचना अधिकारी तिवारीले बताउनुभयो । 

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख मधु क्षेत्री भन्नुहुन्छ, “कुमरोज क्षेत्रमा बाघ जुधेर दाँत भाँचिएपछि भड्किएर बाघ भरतपुर क्षेत्र पुगेको अनुमान गरेका छौँ । हामीले तीन दिनदेखि क्यामराको ट्र्याप गर्दै आएका छौँ । क्यामरासँगै नियन्त्रणका लागि धराप बनाएका छौँ । धरापनजिकैबाट हिँडेको पाइएको छ तर नियन्त्रणमा पर्न सकेको छैन ।” दाँत भाँचिएको घाइते बाघ अझ आव्रmामक हुने भएकाले स्थानीयलाई सजग हुन अनुरोध गरिएको क्षेत्रीले बताउनुभयो । 

उहाँका अनुसार बाघ प्रभावित क्षेत्रका अध्ययन गर्दा जङ्गलमा मानिसको अत्यधिक चाप भएको पाइएको छ । उसैको वासस्थानमा मानिसको चाप बढेपछि आव्रmमण हुन सक्छ । बस्तीनजिक डुलेको बाघ वयस्क रहेको निकुञ्जले जानकारी दिएको छ । 

स्थानीय हरि आचार्य बाघको वासस्थान रहेका जङ्गल क्षेत्रमा पर्यटक भिœयाउने भन्दै विभिन्न गतिविधि सञ्चालन गर्नाले अझ समस्या आएको बताउनुहुन्छ । वासस्थानलाई मानवीय गतिविधिबाट मुक्त गर्न स्थानीय सरकार जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ । निकुञ्ज र नदीको तटीय क्षेत्रमा बाघका गतिविधि हुने गरेको भए पनि केही हप्तायता भरतपुर र नारायणगढको बाक्लो बस्तीकै नजिक त्रास बढेको छ ।