• २ माघ २०८१, बुधबार

आनन्द सुवेदी मेरो शिष्य पनि, गुरु पनिः सञ्चार मन्त्री गुरुङ

blog

पोखरामा शुक्रबार आयोजित एमाले नेता आनन्द सुवेदीको श्रद्धाञ्जलीसभामा बोल्नुहुँदै सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ। तस्बिरः फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी 

लेखनाथ, साउन २५ गते।  सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मृत्यु अनिश्चित हुने उल्लेख गर्दै जीवन कालमा सकारात्मक काम गर्नुपर्नेमा जोड दिनुभएको छ। एमाले नेता आनन्द सुवेदीको स्मृतिमा शुक्रबार पोखरामा आयोजित कार्यक्रममा उहाँले बाचुञ्जेल सबैलाई राम्रो व्यवहार गर्नुपर्ने र समाजलाई केही योगदान दिनुपर्ने विचार राख्नुभयो।

जनकल्याण मावि भूपू विद्यार्थी मञ्चले आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले सुवेदीसँग गरेको अन्तरङ्ग सहकार्य स्मरण गर्नुभयो। “आनन्द सुवेदी मेरो कमिटीको सदस्य भएकाले मेरो शिष्य हुन्, धेरै कुरा मलाई सिकाएकाले गुरु पनि हुन्,” उहाँले भन्नुभयो। कास्कीको मादीमा २०२३ सालमा जन्मिनुभएका सुवेदी २०४६ सालको जनआन्दोलनपछि लमजुङमा क्रियाशील हुनुहुन्थ्यो।

नेपाल सरकार प्रवक्तासमेत रहनुभएका गुरुङले सुवेदीकै प्रेरणाले आफू २०४८ सालमा एमाले सचिव बनेको सम्झना गर्नुभयो। उहाँले भन्नुभयो, “मेरो सचिव उठ्ने मनस्थिति नै थिएन। आनन्दसहितको टिम आएर लमजुङका लागि उठ्नैपर्छ भनेपछि उम्मेदवार बनेर जित हाँसिल गरेको थिएँ।” उहाँको कमिटीमा सुवेदी जिल्ला सदस्य चुनिनुभएको थियो। 


सुवेदीले आाफ्नो परिवारमा कहिले परिवारको सदस्य जस्तो, अहिले अभिभावक जस्तो भूमिका निर्वाह गरेको उहाँले बताउनुभयो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना भुजुङ, लमजुङमा कार्यरत सुवेदीको साउन १५ गते उपचारका क्रममा निधन भएको थियो। उहाँ भुजुङ गाविसका पूर्वअध्यक्षसमेत हुनुहुन्थ्यो।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सुवेदीको निधनले कम्युनिष्ट आन्दोलनमा ठूलो क्षति भएको उल्लेख गर्नुभयो। कार्यक्रममा एमाले गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङ, नेपाल कांग्रेसका नेता कृष्ण केसी, नेकपा (एकीकृत समाजवादी) का नेता पूर्ण लामा लगायतले सुवेदीको योगदान र जीवनयात्राबारे बोल्नुभएको थियो।