• १३ साउन २०८१, आइतबार

मतदाता शिक्षा दिँदै घरदैलो

blog

तानसेनका मतदातालाई मतदान गर्ने तरिका सिकाउँदै राजनीतिक दलका कार्यकर्ता तथा उम्मेदवार । तस्बिर : रेखीराम राना

रेखीराम राना

पाल्पा, वैशाख २३ गते । पाल्पामा उम्मेदवार तथा दलका कार्यकर्ता मतदाता शिक्षासहित घरदैलो अभियानमा व्यस्त बनेका छन् । निर्वाचन आयोगले यस पटक मतदाता शिक्षा सचेतना सञ्चालन नगरेपछि मत बदर हुने आशङ्काले विभिन्न दलका उम्मेदवार तथा कार्यकर्ता मतदाता शिक्षासहित भोट माग्न व्यस्त बनेका हुन् । 

गठबन्धन दललाई यस पटक मतपत्र बदर बढी हुने चिन्ता छ । गठबन्धनबाट फरक–फरक पार्टीको चिह्नमा एउटै मतदाताले मत दिनुपर्ने भएकाले मतदाता शिक्षा सञ्चालन गर्नुपरेको नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले बताउनुभयो ।गठबन्धन दलका उम्मेदवारहरूको चुनाव चिह्न फरक–फरक भएकाले मतदाता झुक्किने चिन्ता गठबन्धनमा छ । त्यसैलाई मध्यनजर गर्दै मतदातालाई मतदानका लागि सिकाउन कार्यकर्ता घर–घरमा खटाइएको सभापति श्रेष्ठले बताउनुभयो । 

पाल्पामा १० पालिकामध्ये आठवटा पालिकामा गठबन्धन छ । नेकपा (एकीकृत समाजवादी)का जिल्ला सचिव मोहनलाल गैरेले मतदातलाई मत गर्न त्यति सहज छैन, त्यसैले चुनाव चिह्न बुझाउन कार्यकर्ता खटाइएको छ । मतदातादाई उम्मेदवारको चुनाव चिह्नबारे जानकारी नभए मतपत्र बदर हुने र आफूहरूको उम्मेदवार पराजित हुने सम्भावना रहेकाले मतदाता शिक्षाका लागि कार्यकर्तालाई खटाइएको उहाँले बताउनुभयो । 

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफ्ना मतदातामा चुनाव चिह्नबारे कुनै भ्रम नहुने भएकाले मत बदर कम हुने आकलन गरेको छ । यद्यपि स्थानीय तहको निर्वाचनमा मतदाताले उम्मेदवारको पहिचान र छविका आधारमा मत खसाल्ने भएकाले मतदाता शिक्षा आवश्यक रहेको तानसेन नगरपालिकामा प्रमुख पदका उम्मेदवार धनेन्द्रराज घिमिरेले बताउनुभयो । 

मत जसलाई दिए पनि मतपत्र बदर नहुने गरी कार्यकर्ताले घरदैले गर्ने क्रममा मतदातालाई सिकाइएको उहाँले बताउनुभयो । जिल्ला निर्वाचन कार्यालय पाल्पाले २०७४ सालको निर्वाचनमा पाल्पामा दुई प्रतिशत बढी मतपत्र बदर भएको जनाएको थियो । यो निर्वाचनमा पनि मतपत्र कम बदर हुने गरी प्रचारप्रसारको काम भएको जिल्ला निर्वाचन अधिकारी रुक्मागत अर्यालले जानकारी दिनुभयो । 

मतपत्र बदर कम गर्न आमसञ्चार माध्यम, सचेत नागरिक, राजनीतिक दल, कार्यकर्ता र उम्मेदवारले भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो । दलका उम्मेदवार र कार्यकर्ताले नै यस पटक मतपत्र बदर कम होस् भनेर घरदैलो गर्ने क्रममा मतदातालाई सिकाउनुपर्ने उहाँले बताउनुभयो ।

Author

तानसेनका मतदातालाई मतदान गर्ने तरिका सिकाउँदै राजनीतिक दलका कार्यकर्ता तथा उम्मेदवार । तस्बिर : रेखीराम राना