सुर्खेत समाचारदाता
सुर्खेत, साउन २४ गते । जिल्लाका अधिकांश भेगमा जथाभाबी औषधी प्रयोग गरी महिला तथा किशोरीमा असुरक्षित गर्भपतन गराउने प्रवृत्ति बढेको छ । चिकित्सकको सल्लाहबिना औषधी तथा औजार प्रयोग गरी असुरक्षित गर्भपतन गराउने कारणले महिलाको ज्यान जानेसम्मको जोखिममा पर्दा धेरै महिला अन्तिम अवस्थामा अस्पताल आउने प्रवृत्ति बढेको हो ।
बुधबार सुर्खेतमा आयोजित सुरक्षित गर्भपतनका लागि जवाफदेहिता विषयक कार्यक्रममा सहभागी चिकित्सक तथा स्वास्थ्य क्षेत्रका विज्ञहरूले जथाभाबी औषधी प्रयोग गर्ने बानीले महिलाको ज्यान जोखिममा पर्न थालेको बताएका छन् । प्रदेश अस्पताल सुर्खेतका स्त्रीरोग विशेषज्ञ डा. नम्रता भट्टराईले १२ हप्तासम्मको गर्भ कुनै सोधखोज नै नगरी सुरक्षित रूपमा गर्भपतन गराउन पाइने र जोखिमपूर्ण अवस्थामा २८ हप्तासम्मको गर्भपतन गराउन पाइने भए पनि अन्तिम अवस्थामा ज्यान नै जोखिममा पार्ने गरी गर्भपतन गराउन आएको पाइएको बताउनुभयो ।
उहाँले गर्भपतन गराउन आउनेमा १५ वर्षदेखि १९ वर्ष उमेरका किशोरी पनि रहेको जनाउनुभयो । यही उमेरमा असुरक्षित गर्भपतन बढी हुने र जसका कारण ज्यान नै जोखिममा पर्ने सम्भावना बढी भएको उहाँले बताउनुभयो । अवैध रूपमा औषधी प्रयोग गरी बढी रक्तस्राव र ज्वरो आएपछि अस्पताल तथा स्वास्थ्य संस्थामा आउने गरेको पनि जानकारी उहाँले दिनुभयो ।
विगतमा हानिकारक तरिकाले गर्भपतन गराउने गरिएको र अहिले भने हानिकारक तरिकाभन्दा अवैध औषधी बढी प्रयोग गर्ने गरिएको उहाँको भनाइ छ । जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका स्रोतव्यक्ति अञ्जना भण्डारीले विगत दुई वर्षमा औषधी प्रयोग र औजार प्रयोग गरी गर्भपतन गराउनेको सङ्ख्या केही बढेको जानकारी दिनुभयो । कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा सुर्खेतमा दुई हजार ६७१ जनाले सुरक्षित गर्भपतन गराएका थिए । जसमा औषधीको प्रयोग गरेर एक हजार ८३० र औजार प्रयोग गरी ८३१ जनाले गराएका थिए । यसमा २० वर्षमुनिका ५.९ प्रतिशत छन् । यस्तै आव २०८०/८१ मा कुल दुई हजार ७५६ जनाले गर्भपतन गराएकोमा औषधी प्रयोग गरी एक हजार ८६६ जना र औजार प्रयोग गरी ८७० जनाले गराएका थिए । यसमा २० वर्षमुनिका ७.८ प्रतिशत छन् ।
स्रोतव्यक्ति भण्डारी पर्याप्त अनुगमन हुन नसक्दा औषधीको प्रयोग जथाभाबी भएको पाइएको बताउनुहुन्छ । जथाभाबी औषधी प्रयोग हुँदा अत्यधिक रक्तस्राव हुने र महिलाको अवस्था जटिल हुने गरेको उहाँको भनाइ छ । उहाँले सुरक्षित गर्भपतनका लागि सूचीकृत स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीबाट मात्रै गर्भपतन गराउन सुझाव दिनुभयो ।
सुर्खेतमा १४ वटा सरकारी र पाँच वटा निजी स्वास्थ्य संस्थालाई सुरक्षित गर्भपतनका लागि सूचीकृत गरिएका छन् भने १४ जना जनशक्तिलाई सूचीकृत गरिएको छ । उहाँले सूचीकृत गरिएकाभन्दा अन्य औषधी बजारमा खुलेआम पाइने र जथाभाबी प्रयोगले जटिलता आएको उल्लेख गर्नुभयो ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले स्थानीय तहलाई नै अनुगमन, नियमनको अधिकार भएकाले त्यस्ता औषधी र स्वास्थ्य संस्थाको अनुगमन गर्न सुझाव दिनुभयो । जथाभाबी औषधी बिक्री र प्रयोगले यो अवस्था आएको भन्दै बेला बेला अनुगमन गर्न अति जरुरी रहेको उहाँको भनाइ छ ।
मुलुकी अपराधसंहिता अनुसार असुरक्षित गर्भपतन गराएको खण्डमा १२ हप्तासम्मको हकमा एक वर्ष कैद र १० हजार जरिबाना, २५ हप्तासम्मको हकमा तीन वर्ष कैद र ३० हजार जरिबाना र २५ हप्ताभन्दा बढीको हकमा पाँच वर्ष कैद र ५० हजार जरिबाना तोकिएको छ ।