• १९ असार २०८१, बुधबार

काँग्रेसबाट निष्कासित

blog

गोरखापत्र समाचारदाता

ललितपुर, वैशाख २३ गते । नेपाली काँग्रेसले स्वतन्त्र उम्मेदवारी दिएका पार्टीका नेताहरूलाई निष्कासन गरेको छ । उम्मेदवारका प्रस्तावक र समर्थक रहेकालाई पनि काँग्रेसले निष्कासन गरेको छ । यसअघि पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक बनेका पार्टी सदस्यले आफ्नो उम्मेदवारीप्रति पुनर्विचार गर्न आग्रह गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो । वैशाख १९ गते सार्वजनिक वक्तव्य जारी गरी उम्मेदवारी निष्क्रिय गर्न र आधिकारिक उम्मेदवारका पक्षमा सक्रियतापूर्वक प्रचार अभियानमा संलग्न हुन अनुरोध गरिएको उहाँले बताउनुभयो ।

उहाँले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ, “तर, पार्टीले अनुरोध गर्दासमेत अटेर गरी पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवार बनेका तथा त्यस्ता विद्रोही उम्मेदवारका प्रस्तावक र समर्थक बनेकाहरूको पार्टी सदस्यता समाप्त भई पार्टीबाट स्वतः निष्कासित भएको जानकारी दिइन्छ ।”

साथै त्यस्ता विद्रोही उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थकहरूको नामावली निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवार, प्रस्तावक, समर्थकको अन्तिम नामावलीको आधिकारिक र प्रमाणिक विवरणको प्रतिलिपिसहित तत्काल केन्द्रमा पठाउनका लागि काँग्रेसले जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दलगत वा स्वतन्त्र उम्मेदवारी दर्ता गराएकाको मनोनयन फिर्ता गर्न निर्वाचन आयोगले २०७९ वैशाख १६ गते बिहान १० देखि साँझ ५ बजेसम्मको समय दिएको थियो ।

यसैबीच काँग्रेसले पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका पक्षमा सक्रिय हुन आग्रह गरेको छ । मुख्यसचिव पौडेलले पार्टीका आधिकारिक र समर्थित उम्मेदवारविरुद्ध असहयोग गर्ने, अन्य पार्टीका उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्ने, पार्टीका उम्मेदवार र पार्टी हितविपरीत कार्य गर्ने पार्टी सदस्यलाई निलम्बन गर्न सक्ने बताउनुभयो । उहाँले स्थानीय तहमा पार्टीको उम्मेदवारको राय लिएर जिल्ला अनुशासन समितिले निर्वाचन अवधिभर तत्काल सदस्यताबाट निलम्बन गर्न सक्ने बताउनुभयो ।