• २२ साउन २०८१, मङ्गलबार

रेसुङ्गा र मदानेमा सात प्रजातिका नयाँ चरा

blog

रमेश विश्वकर्मा

गुल्मी, साउन २२ गते । चरा सर्वेक्षणको क्रममा गुल्मीमा नयाँ प्रजातिका चरा भेटिएका छन् । यस जिल्लामा पर्ने रेसुङ्गा वन संरक्षण क्षेत्र र मदाने वन संरक्षण क्षेत्रमा सात प्रजातिका नयाँ चरा भेटिएको यहाँ चरा सर्वेक्षण गर्दै आएको नेपाल पन्छी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले जानकारी दिनुभयो । 

परियोजना अधिकृत पन्थीका अनुसार १९ हजार २८१.६५ हेक्टर क्षेत्रफलमा फैलिएको रेसुङ्गा वन संरक्षण क्षेत्रमा एक प्रजातिको नयाँ चरा भेटिएको छ । यस क्षेत्रमा सानो सेतो बकुल्ला प्रजातिको चरा भेटिएको हो । यससँगै रेसुङ्गा वन संरक्षण क्षेत्रमा २६३ प्रजातिका चराहरू छन् । १३ हजार ७६१ हेक्टर क्षेत्रफलमा फैलिएको मदाने वन संरक्षण क्षेत्रमा छ प्रजातिका नयाँ चरा भेटिएका छन् । यस क्षेत्रमा चाकासूचक, कालोकण्ठे भुइँरोविन, श्यामश्वेत अर्जुनक, कालो बुङ्गेचरी, आली चुइँया र हिमाली लेकचरी प्रजातिका नयाँ चरा भेटिएका हुन् । यससँगै मदाने वन संरक्षण क्षेत्रमा २८६ प्रजातिका चराहरू भेटिएका छन् । 

नेपाल सरकारले २०७३ सालमा रेसुङ्गा र २०६८ सालमा मदानेलाई वन संरक्षण क्षेत्र घोषणा गरेको हो । यहाँ रहेका चराका प्रजातिको अनुसन्धान तथा गणना प्रत्येक वर्षको मार्च र नोभेम्बर महिनामा नेपाल पन्छी संरक्षण सङ्घ गुल्मीले गर्दै आएको छ । हालसम्म नेपालमा पाइने ८९२ प्रजातिका चरामध्ये ३५ प्रतिशत प्रजातिका चरा रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा पाइन्छन् । यस क्षेत्रमा बर्सेनि चराहरूको सङ्ख्या बढ्ने गरेको छ । अहिलेसम्म ३०५ प्रजातिका चराहरू रहेका छन् । दुवै वन क्षेत्रमा विश्वकै दुर्लभ छ प्रजातिका चराहरू समेत पाइन्छन् । जसमा रेसुङ्गा वन संरक्षण क्षेत्रमा चिर, रणमत्त महाचिल, सेतो गिद्ध, सुन गिद्ध, गोमायु महाचिल, डङ्गर गिद्ध छन् । मदाने वन संरक्षण क्षेत्रमा चिर, सेतो गिद्ध, सुन गिद्ध, गोमायु महाचिल छन् । 

नेपालमा मात्र पाइने काँडे भ्याकुर पनि यी दुवै वन संरक्षण क्षेत्र पाइन्छ । रेसुङ्गामा ५६ र मदानेमा ६१ परिवारमा पर्ने चराहरू पाइन्छन् । रेसुङ्गामा एक र मदानेमा तीन प्रजातिका संरक्षित चराहरू पाइन्छन् । राष्ट्रिय खतरामा परेका रेसुङ्गामा १५ र मदानेमा १३ प्रजातिका चराहरू छन् । यहाँ रहेका दुर्लभ चराको संरक्षणका लागि विभिन्न चुनौती देखिएको छ । बेला–बेलामा हुने वन डढेलो, वासस्थान परिवर्तन, चोरी सिकारी, बढ्दो रासायनिक पदार्थको प्रयोग, अव्यवस्थित ग्रामीण सडकजस्ता समस्या चरा संरक्षणका लागि चुनौती बनेको छ । 

यहाँ चराहरूको संरक्षणका लागि संरक्षण पोखरी निर्माण, वन क्षेत्रसँग जोडिएका स्थानीयको लागि सुधारिएको चुलो निर्माण, जनचेतना, वन डढेलो नियन्त्रण सामग्री वितरणलगायत कार्यक्रमहरू गरिएको छ । वन संरक्षण क्षेत्रसँग जोडिएका स्थानीयलाई जीविकोपार्जनका लागि मौरी पालन, उन्नत जातको मकैको बीउ, विभिन्न फलफूलका बिरुवा, तरकारीको बीउलगायत वितरण गरिएको नेपाल पन्छी संरक्षण सङ्घ गुल्मीका परियोजना पन्थीले बताउनुभयो ।