• २२ साउन २०८१, मङ्गलबार

नागरिकताभन्दा राहदानी बनाउने बढी

blog

सन्धिखर्क समाचारदाता 

सन्धिखर्क, साउन २२ गते । अर्घाखाँचीमा नागरिकता बनाउनेभन्दा राहदानी (पासपोर्ट) बनाउने नागरिकको सङ्ख्या बढी देखिएको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका अनुसार गत आर्थिक वर्षमा नागरिकताभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी देखिएको हो । 

आव २०८०/८१ मा सात हजार छ जनाले नागरिकताको प्रमाणपत्र लिँदा सात हजार ३६३ जनाले राहदानी बनाएका छन् । यो सङ्ख्या जिल्लाबाटै वितरण भएको राहदानीको सङ्ख्या हो । छिटो राहदानी लिनका लागि जिल्लाबाट सिफारिस लगेको सङ्ख्या २४५ छ । नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या ६०२ ले बढी छ । 

जसमध्ये जिल्ला प्रशासन कार्यालयले १८ वटा गैरआवासीय नागरिकता र छ वटा वैवाहिक अङ्गीकृत नयाँ नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो । रोजगारी अध्ययनका लागि विदेश जानेको सङ्ख्या अत्यधिक भएकाले राहदानी बनाउनेको सङ्ख्या पनि धेरै भएको र अझ बढ्ने उहाँको भनाइ छ । 

अर्घाखाँचीबाट कुल जनसङ्ख्याको ३१.१७ प्रतिशत जनसङ्ख्या वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा गएका छन् । २०७८ सालको जनगणना अनुसार जिल्लाको कुल जनसङ्ख्या एक लाख ७७ हजार ८६ मध्ये हालसम्म ५५ हजार २१३ जना वैदेशिक रोजगारीमा गएका छन् । जुन ३१ प्रतिशत हो । 

वैदेशिक रोजगारीमा गएकामध्ये हालसम्म ४७ जनाको विदेशमै मृत्यु भएको छ । ७४ जना अङ्गभङ्ग तथा गम्भीर बिरामी परेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको साझेदारीमा काम गरिरहेको सुरक्षित आप्रवासन (सामी) लुम्बिनी प्रदेश कार्यालयको तथ्याङ्क छ । 

अर्घाखाँचीबाट आव २०७९/८० मा नौ हजार ५२६ जना रोजगारीका लागि विदेश गएका थिए । चालु आवको जेठ मसान्तसम्म आठ हजार १७५ जना वैदेशिक रोजगारीमा गएका छन् । आठ हजार १७५ मध्ये ६३३ जना महिला छन् जुन आठ प्रतिशत हो ।

यस्तै अर्घाखाँचीमा अहिलेसम्म वैदेशिक रोजगारीमा ठगीका १० वटा उजुरी परेका छन् । जसमध्ये चार वटा उजुरी छिनोफानो भएका छन् भने छ वटा प्रक्रियामा रहेका छन् । ठगी गर्नेबाट १० लाख ४६ हजार रुपियाँ पीडितलाई फिर्ता गराइएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताउनुभयो ।

विदेश जानेको कुल ९३ प्रतिशत जनसङ्ख्या मलेसिया तथा खाडी मुलुकमा छ । बाँकी सात प्रतिशत जापान, बहराइन, कोरिया, क्रोएसियालगायतका देशमा छन् ।