• ७ वैशाख २०८१, शुक्रबार

मध्यपहाडी राजमार्ग व्यक्तिकै नाममा

blog

बाबुराम देवकोटा

ग्वाल्टार(सिन्धुली), वैशाख २२ गते । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी राजमार्ग व्यक्तिकै नाममा रहेको पाइएको छ ।मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि उदयपुरको घुर्मीसम्मको ६१ किलोमिटर मध्यपहाडी राजमार्ग व्यक्तिको नाममा रहेको हो ।

लामो निर्माण सम्पन्न भई यातायात सञ्चालनमा आएको वर्षौ बिते पनि अझै व्यक्तिकै नाममा रहेको स्थानीयको गुनासो छ । राजमार्गको क्षेत्राधिकारभित्रको जग्गाको लगत सम्बन्धित निकायले नकाटिदिँदा अर्बौं रुपियाँ लगानी गरी निर्माण गरिएको उक्त राजमार्ग व्यक्तिकै नाममा रहेको स्थानीयले बताएका छन् ।

राजमार्ग निर्माणका क्रममा सरकारले निजी व्यक्तिकै जग्गामा लगानी गरी रहेको गोलन्जोर गाउँपालिका–७ खुर्कोट निवासी शरद आचार्य बताउनुहुन्छ । जग्गाको लगत कट्टा नगर्दा अहिलेसम्म आफूले राजमार्ग निर्माण भएको जग्गाको कर (तिरो) गाँउपालिकालाई तिर्दै आएको उहाँको गुनासो छ ।

उहाँले भन्नुभयो, ‘‘उक्त राजमार्ग बनाउने क्रममा मेरो मात्रै झण्डै १५ रोपनी जग्गा परेको छ तर अहिलेसम्म लगत कट्टा नहुँदा मैले राजस्व तिरिरहेको छु ।’’ लगत कट्टा नभएकाले राजमार्गले भोगचलन गरेको जग्गाको कर तिर्नुपरिरहेको जग्गाधनीहरुको गुनासो छ ।

सडकको जग्गा सार्वजनिक हुन नसक्दा स्थानीयले जुनसुकै समयमा मुआब्जाको विषयलाई लिएर समस्या ल्याउन सक्ने भएकाले तत्काल लगत कट्टा गरी सार्वजनिक गर्नुपर्ने स्थानीय बताउछन् ।

राजमार्गको लगत कट्टा गर्ने काममा ढिलाइ भएको उल्लेख गर्दै मालपोत कार्यालय सिन्धुलीका सूचना अधिकारी पुरुषोत्तम दाहालले भन्नुभयो, ‘‘मुआब्जालगायत विभिन्न समस्याका कारण हालसम्म लगत कट्टा नभएको हो ।’’ सिन्धुली जिल्लामा मात्रै मध्यपहाडी राजमार्ग निर्माण भएको करिब तीन सय कित्ताभन्दा बढी जग्गाको लगत कट्टा नभएको उहाँ बताउनुहुन्छ ।

सूचना अधिकारी दाहालका अनुसार लगत कट्टा नगरिँदा राजमार्ग बनेको जग्गाको कर समेत स्थानीयले तिर्नुपर्ने बाध्यता छ । लगत कट्टा हुने जग्गाको मुआब्जा दिने सरकारी नीति नहुँदा यो समस्या आएको हाे। मध्यपहाडी मात्र होइन मदन भण्डारी राजमार्गको समस्या पनि उस्तै छ ।

सिन्धुली जिल्ला हुँदै निर्माण भएका तीन ठूला राजमार्गमध्ये बीपी राजमार्गमा परेको जग्गाको मात्रैलगत कट्टा भएको उहाँले बताउनुभयो ।