• १३ असोज २०८१, आइतबार

नेकाँका भ्रातृ सङ्घ र शुभेच्छुक संस्थाको महाधिवेशन स्थगित

blog

गोरखापत्र समाचारदाता

ललितपुर, वैशाख २२ गते  ।  नेपाली काँग्रेसका भ्रातृ सङ्गठन र शुभेच्छुक सङ्स्थाहरूको पूर्वनिर्धारित अधिवेशन र महाधिवेशन स्थगित गरिएको छ । काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरी पार्टीका भ्रातृ सङ्गठन र शुभेच्छुक सङ्स्थाहरूको पूर्वनिर्धारित अधिवेशन र महाधिवेशन स्थगित गरिएको हो । उहाँले पार्टीका भ्रातृ सङ्घ र शुभेच्छुक संस्थाहरू स्थानीय तह निर्वाचन परिचालन, प्रचारप्रसारलगायतका काममा क्रियाशील रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसैले केही भ्रातृ सङ्घ र शुभेच्छुक संस्थाहरूको पूर्वनिर्धारित अधिवेशन–महाधिवेशन निर्वाचन आसपास गर्न सान्दर्भिक र सम्भव देखिएन ।”

मुख्यसचिव पौडेलले वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी बनाउन पार्टीका सम्पूर्ण साङ्गठनिक संरचना, भ्रातृ सङ्घहरू, शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिहरू समेत क्रियाशील रही रहेको उल्लेख गर्नुभयो । 

काँग्रेसका भ्रातृ सङ्घ र शुभेच्छुक संस्थाको अधिवेशन–महाधिवेशनको कार्यतालिका स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएलगत्तै तय गर्ने गरी स्थगित गरिएको उहाँले बताउनुभयो । उहाँले स्थानीय तहको काँग्रेससहित गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन सक्रिय रहन पार्टीका सबै सङ्गठनलाई अपिल गर्नुभएको छ ।