• २० असोज २०८१, आइतबार

सहकालका देवता : रातो मत्स्येन्द्रनाथ

blog

मत्स्येन्द्रनाथ जात्रा सबैभन्दा ठुलो रथजात्रा हो । व्यवस्थित र धेरै गुठी जग्गा भएको जात्रा पनि हो यो । गोपाल राजवंशावलीमा “संवत् ५०७ वैशाष शुदि ४ श्री जयस्थितिराज मल्लदेव ठाकुरस त्रियपुत्र सहन वुगय यात्रा विज्याङ दिन १४ .....” भनी वर्णन गरेबाट १४ औँ शताब्दी इवि का प्रख्यात राजा श्री जयस्थिति मल्लले शरद् ऋतुमा गरिने मत्स्येन्द्रनाथ जात्रालाई वसन्त ऋतुमा सञ्चालन गरिने परम्परा चलाएको अनुमान हुन्छ । 

सहकालका देवताका रूपमा रहेका मत्स्येन्द्रनाथ हिन्दु धर्मावलम्बीमध्ये शैव धर्मावलम्बीका नाथ सम्प्रदायका भगवान् हुन् । त्यस्तै बौद्ध धर्मावलम्बीमाझ मत्स्येन्द्रनाथ श्री करुणामय वंगद्यः पद्मपाणि आर्यावलोकितेश्वर, लोकनाथ आदि नामले पुकारिन्छ । नेपालका प्रसिद्ध देवतामध्ये मत्स्येन्द्रनाथ एक सुप्रसिद्ध आराध्य देव हुन् । नवनाथ र चौरासी सिद्धमध्ये एक सिद्ध रहेका मत्स्येन्द्रनाथका शिष्य गुरु गोरखनाथ हुन् । नाथ सम्प्रदायका एक सिद्ध योगीका रूपमा रहेका मत्स्येन्द्रनाथ बौद्ध धर्मावलम्बीको आर्यावलोकितेश्वर हुन् । मत्स्येन्द्रनाथलाई महिला र पुरुष दुवै देवका रूपमा मानिन्छ । पुरुषलाई गरिने कर्मकाण्ड र महिलालाई गरिने कर्मकाण्ड इही, गुफा राख्ने जस्ता कार्य पनि गरिन्छ । हिन्दु र बौद्ध धर्मावलम्बीलाई धार्मिक समन्वय गरी समाजमा मिलेर बस्न र शान्ति स्थापनाका लागि यो जात्राले ठुलो भूमिका खेलेको छ । बाँच्नका लागि सबै प्राणीलाई चाहिने सहकालका देवता भएका हुनाले यी देव सबका आराध्यदेव भएका छन् । 

ललितपुरस्थित रातो मत्स्येन्द्रनाथको जात्राको सुरुवातमा सर्वप्रथम म्हेपिदों हालको म्हेपी डाँडाको माटोबाट श्री करुणामयको मूर्ति बनाई कलशमा रहेको भँवरारुपी देवताको आत्मा त्यस माटोको मूर्तिमा प्रतिस्थापन गरिन्छ । विभिन्न तिथिमा विभिन्न किसिमका कर्म र कृत्य गरिन्छ । वैशाख कृष्ण प्रतिप्रदामा श्री करुणामयको न्हवं (स्नान) कार्य गरिन्छ । वैशाख शुक्ल प्रतिपदामा रथारोहण गरिन्छ । यस मत्स्येन्द्रनाथ जात्रामा बाहुन पुजारीले गौदानसहित शान्ति स्वस्ती गर्छन् । बज्राचार्य गुरुद्वारा हवन गरिन्छ । शाक्यद्वारा पूजाआजा गरी ज्यापु समुदायले रथ तान्ने गर्छन् । जात्राको अघिल्लो राति बाहुन क्षेत्री महिलालगायत अन्य जातको महिलाले पनि बत्ती जगाउने काम गर्छन् । 

अक्षय तृतीयाका दिन गौदानसहितको शान्ति स्वस्ती गरिन्छ । चौथी तिथिमा श्री मीननाथले पुल्चोक ललितपुरमा स्वागत गर्दै नगरवासीलाई श्री पद्मपाणी अवलोकितेश्वरको दर्शन दिलाउन र ललितपुर नगरको भ्रमण गराउन श्री करुणामय रातो मत्स्येन्द्रनाथको रथयात्रा आरम्भ गरिन्छ । यसरी रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँ पुल्चोक, गावाहाल, सुन्धारा लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाई समापन गरिन्छ । त्यसपछि मत्स्येन्द्रनाथलाई वुङमतीमा लगेर राखिन्छ ।

  मत्स्येन्द्रनाथको जात्राको सुरुवात र नेपाल मण्डलमा पदार्पण कुन रूपमा भएको थियो भन्ने छुट्टै कथन छ । जस अनुसार मुलुकमा १२ वर्षसम्म पानी नपरी सुक्खा भई दुभिक्ष वा अनिकाल भएका कारण लिच्छविकालका भक्तपुरका राजा नरेन्द्रदेव काठमाडौँका तान्त्रिक वज्राचार्य गुरु बन्धुदत्त र पाटनका किसान रथ चक्रले करुणामयलाई आसामको कामरूपा कामख्याबाट ल्याएका हुन् भन्ने भनाइ छ । यिनीहरूले आपसमा सरसल्लाह गरी श्री सूर्य दक्षिणायण गरी १२ पक्ष अर्थात् छ महिना बुङ्मतीमा राखेर श्री सूर्य उत्तरायण भरी बाह्र पक्ष अर्थात् पछिको छ महिनामात्र पाटनमा राख्ने निधो गरे । पाटनबाट दक्षिणायण उक्त ठाउँ बुङ्मती रहेको र सो ठाउँबाट उत्तरायण पाटन क्षेत्र रहेका कारण छ महिना पाटनमा र छ महिना बुङ्मतीमा श्री करुणामय रातो मत्स्येन्द्रनाथको बासस्थान रहने प्रचलन अद्यापि छ । 

जयदेव द्वितियको संवत् १५७ को पशुपतिको अभिलेखमा तिनलाई कामरुप विजय गर्ने भन्ने कुरा वर्णित छ । जसबाट जयदेव द्वितीयले कामरूपबाट ल्याएका थिए भन्ने कुरा पनि सत्यताको नजिक देखिन्छ । सम्भवत विसं १६७८ मा धार्मिक राजा श्री सिद्धिनरसिंह मल्लले नै ज्योतिषिबाट साइत हेराइ उत्तरायण र दक्षिणायण स्पष्ट जनाउन ६/६ महिना पाटन र बुङमतीमा राख्ने चलन चलाएको भन्ने भनाइ छ । रातो मत्स्येन्द्रनाथको स्थानान्तरण गरिएको प्रमाणस्वरूप मार्गशिर्ष योमहीः पुन्ही र पाटनको मङ्गलबजारमा गाइने मेघः मल्हार राग र श्री करुणामय बुङगद्यबाट बुझ्न सकिन्छ । मत्स्येन्द्रनाथ बुङमतीबाट पाटनमा ल्याइँदा चौधौँ शताब्दीमा बनाइएको मच्छिन्द्रबहाल (तःबहाल) को मन्दिरमा राखिन्छ र पाटनबाट बुङमती लैजाँदा सहरबाट अलि पर रहेको जङ्गलमा अवस्थित चौधौँ शताब्दीतिरै बनाइएको शिखर शैलीको मन्दिरमा राखिन्छ ।

नेपालमा रहेको रातो मत्स्येन्द्रनाथबाहेक लिच्छविकालीन र मल्लकालीन समयमा स्थापित भएका अन्य चार वटा मत्स्येन्द्रनाथका मूर्ति र मन्दिर रहेका छन् । त्यस अन्तर्गत काठमाडौँको सेतो मत्स्येन्द्रनाथ, नालाको सेतो मत्स्येन्द्रनाथ हुन् । रातो मत्स्येन्द्रनाथमा पाटन, दोलखा र कीर्र्तिपुर चोभारको मत्स्येन्द्रनाथ पर्छन् । पाटन दोलखा र काठमाडौँका मत्स्येन्द्रनाथ परम्परागत रूपमा रथमा विराजमान गराई सहर परिक्रमा गराइन्छ । नालाको करुणामयको रथयात्रा चार÷पाँच दशक अगाडिसम्म विद्यमान नै रहे पनि अहिले भने रथजात्रा बन्द छ । चोभारको रथयात्रा गराइँदैन । अन्य मत्स्येन्द्रनाथको दाँजोमा पाटनको मत्स्येन्द्रनाथको १२ बर्से जात्रा गरिने हुनाले यो जात्राले आधिकारिकता प्राप्त गरेको छ ।

मत्स्येन्द्रनाथलाई नाथ सम्प्रदायका प्रमुख देवता भए पनि यिनी सबै धर्मावलम्बीद्वारा समान रूपले पुजित रही एउटै परब्रह्माको रूपमा मानिएका छन् । जुन कुरा नेपाल संवत् ७९२ को सुवर्णपत्रमा जुन नेपालका प्रख्यात कर्णाट राजा श्री श्रीनिवास मल्लद्वारा ललितपुर बुङमतीस्थित मत्स्येन्द्रनाथ मन्दिरको प्रवेशद्वारमा प्रतिस्थापित भएबाट प्रस्ट हुन्छ । यिनको उल्लेख इसं १०१५ को अभिनवगुप्तकृत तन्त्रालोकमा ‘तन्मे स मच्छन्द्रविभू’ को रूपमा मत्स्येन्द्रनाथको बारेमा वर्णन पाइन्छ । पर्वतिया वंशावलीमा पनि अनावृष्टिका कारण मत्स्येन्द्रनाथ कामरूपमा अवस्थित भएको स्पष्ट रूपले उल्लिखित छ । मत्स्येन्द्रनाथद्वारा शैव वाममार्गी कौलसम्प्रदायका सुप्रसिद्व ग्रन्थ महाकौल ज्ञानविनिर्णयः ल्याइएको कुरा नवौँ शताब्दी इविको उपर्युक्त ग्रन्थको पुष्पिकामा वर्णित भएको हुँदा श्री मत्स्येन्द्रनाथ कौल सम्प्रदायका देवता भएका देखिन आउँछ । प्राचीन काठमाडौँका विभिन्न क्षेत्र कौलीग्राम, दक्षिणकौलीग्राम नाम उल्लेख गरिएका पुरातात्त्विक शिलापत्र पाइएका हुनाले कौल सम्प्रदायका मानिसको अत्यधिक बसोबास भएको र श्री मत्स्येन्द्रनाथ कौलहरूका देवता हुन सक्ने प्रमाण पुग्छ ।