• १८ साउन २०८१, शुक्रबार

नेपालगन्जमा बजार अनुगमन : अखाद्य सामग्री नष्ट गरियो

blog

नेपालगन्जस्थित वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय।तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, साउन १८ गते। नेपालगन्जमा व्यवसायीले म्याद नाघेका, खान अयोग्य तथा बिक्री गर्न अयोग्य मानिएका विभिन्न मालसामान खुला रूपमै बिक्री गर्ने गरेको पाइएको छ। 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगन्जका अनुसार गत आर्थिक वर्षमा गरिएको विभिन्न अनुगमनमा क्रममा व्यवसायीका पसलबाट म्याद नाघेका, खान अयोग्य र बिक्री गर्न समेत अयोग्य रहेका ठुलो परिमाणका मालसामान जफत गरी नष्ट गरिएको थियो। 

उपभोक्ता हित संरक्षण कार्यालय नेपालगन्जले गत आर्थिक वर्ष २०८०।०८१ मा गरिएका अनुगमनका क्रममा भेटिएको पाँच लाख ७२ हजार ९३ रुपियाँको अखाद्य नष्ट गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगन्जका खरिदार सुरेशराज पौडेलले बताउनुभयो। 

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले चालु आर्थिक वर्षमा गरेको अनुगमनमा स्टेशनरी, कस्मेटिक, फलफूल तरकारी, मदिरा, हार्डवेयरलाई कारबाही गरेको पाइन्छ । सो कार्यालयका अनुसार सहरी क्षेत्र भन्दा गाउँका बजारमा बेथिति अनुगमनका बेला बढी भेटिने गरेका छन् । 

जिल्ला प्रशासन कार्यालयको संयुक्त बजार अनुगमन समिति र सरकारी विषयगत कार्यालयको अनुगमन पनि सहरीक्षेत्रमा नै बढी केन्द्रित हुने गरेको छ । स्थानीय तहले समेत बजार अनुगमन गर्दा सहर बजारलाई नै प्राथमिकतामा राखेको पाइएको छ। 

बजार अनुगमनमा क्रममा म्याद नाघेका, बिल, बिजक जारी नगर्ने गरेको, मालसामानको भण्डारण नियम बमोजिम नगरेको, लेबलिङ्ग सहजै बुझिने नभएको, पसल व्यवसाय दर्ता नगरेको लगायत कैफियत भेटिएको छ।