• १८ साउन २०८१, शुक्रबार

स्याउ टिप्ने बेलामा बाटो बन्द

blog

फाइल तस्बिर ।

शेरबहादुर सार्की   

बाजुरा, साउन १८ गते । बाजुरामा स्याउ टिप्ने बाटो बन्द हुँदा किसान चिन्तित भएका छन् । जिल्लाको पूवी उत्तर क्षेत्रको हिमाली, स्वामिकार्तिक, जगनाथ र बुढीनन्दा नगरपालिका लगायतका विभिन्न ठाउँमा स्याउ टिप्ने बेला सुरु भएको छ । 

जिल्लाको पूर्वीउत्तर क्षेत्रमा सञ्चालन हुँदै आएको मार्तडीदेखि कोल्टी सडक लामो समयसम्म अवरुद्ध भएपछि स्याउ बिक्री गर्न बजारमा कसरी लिने भन्दै यहाँका किसान चिन्तित् भएका हुन् ।

बारीमा स्याउ टिप्ने बेला भयो । उता मार्तडी देखि कोल्टी सडक भने लामो समय देखि अवरुद्ध बन्दै गएको छ । त्यो अवरुद्ध बनेको सडक अहिलेसम्म सञ्चालनमा आएको छैन् । यसरी लामो समयसम्म सडक सञ्चालनमा नआएपछि स्याउ बजारमा कसरी लाने भन्ने मनमा चिन्ता पर्न सुरु भएको स्वामिकार्तिक खापर गाउँपालिका –१ जोरुका स्याउ किसान धनबहादुर रावलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गत वर्षभन्दा यो वर्ष बारीमा स्याउ राम्रो फलेको छ । यसलाई समयमै बजारसम्म लान सके बिक्री हुन्थ्यो की भन्ने ठुलो आश थियो । यता सडक नखुले भने कहिले यो स्याउ बारीमा नै सड्ने हो भन्ने मनमा चिन्ता छ ।

स्याउ स्टोर गर्नका लागि शीतभण्डार भए राम्रो हुने थियो । यहाँ शीतभण्डार पनि छैन । गत वर्षमा निर्माण हुन थालेका शीतभण्डार अहिले सम्म सञ्चालमा आएका छैन । शीत भण्डार सञ्चालनमा नआउँदा स्याउ लामो समय स्टोरमा राख्न सकिँदैन, रावलले भन्नुभयो ।

अविरल वर्षातका कारण बडिमालिका नगरपालिकाको जिल्लीमा गएको पहिरोका मार्तडी कोल्टी सडक अवरुद्ध बन्दै गएको भौतिक पूर्वाधार विकास अछामका प्रमुख रुद्धबहादुर बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक पुन सुचारु गर्नका लागि जिल्ला विपद् व्यवस्थापन समिति र बडिमालिका नगरपालिकासँग समन्वय गरिरहेका छौ । ”

अबका केही दिनपछि मार्तडीदेखि कोल्टीसम्मको सडक सञ्चालन गर्ने गरी सडक मर्मतको काम सुरु गर्ने तयारी भइरहेको प्रमखु बोगटीले बताउनुभयो । पछिल्लो समय बाजुरामा स्याउ उत्पादनमा वृद्धि भइरहेको छ । यहाँ पहिला स्थानीय जातको स्याउ मात्र उत्पादन हुन्थ्यो भने अहिले गाल्भा, फुँजी, गोल्डेन लगायतका विभिन्न नयाँ जातको स्याउ खेती गर्न थालेपछि उत्पादनमा पनि वृद्धि भएको हो ।

जिल्लाको पूर्वी उत्तर क्षेत्र हिमाली, जगनाथ, स्वामिकार्ति, बुढीनन्दामा उत्पादन हुने स्याउ पछिल्लो समय बडिमालिका, गौमुल र खप्तड छेडेदह लगायतका विभिन्न ठाउँमा समेत उत्पादन भइरहेको छ । गत वर्ष कृषि ज्ञान केन्द्र बाजुराले स्याउ ढुवानी अनुदानको व्यवस्था गरि यहाँको अर्गानिक स्याउ बिक्रीका लागि बारीबाट भरिया खच्चरले पिलिचौर र पिलिचौरदेखि ट्रयाक्टर, ट्रकमार्फत् धनगढी नेपालगञ्ज काडमाडौं ठुला सहर बजारमा लगिएको थियो ।

यो वर्ष भने बजेट अभावको कारण त्यो व्यवस्था गर्न नसकिने कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख भुमिराज उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो, “कृषकले स्याउ ढुवानी अनुदानका लागि रकम माग गर्दै आएका छन् । तर बजेट आभाव भएकोले उनीहरुलाई ढुवानी अनुदान दिन सकिने अवस्था छैन।

गत वर्ष विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले पनि ढुवानी अनुदानमा सहगोग गरेका हुन् । यो वर्ष ढुवानी अनुदानमा सहयोग गर्नका लागि कुनै संस्थाले समेत सम्पर्क नगरेको उपाध्यायले बताउनुभयो ।

पछिल्लो समय जिल्लामा अहिले ३७० हेक्टर जमिनमा स्याउँ उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।