• २० माघ २०८१, आइतबार

नक्कली विवरणमा हस्ताक्षर गर्ने प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

blog

काठमाडौं, वैशाख २१ गते। मुगुको छायानाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारुसहित पाँच जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ। 

छायानाथ नगरपालिका २ मा पक्की सिढी निर्माण गर्दा इन्जिनियरले वास्तविक कार्यभन्दा बढी कार्य भएको देखाई तयार पारेको विवरणमा हस्ताक्षर गर्ने प्रमुख प्रशासकीय अधिकृत सारुसहित पाँच जनाविरुद्ध मुद्दा दायर भएको हो।

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार प्रमुख प्रशासकीय अधिकृत सारु, सब इन्जिनियर हस्तबहादुर मल्ल, इन्जिनियर महेशसिंह कठायत,  उपभोक्ता समिति अध्यक्ष राममाया मल्ल र कोषाध्यक्ष रत्नादेवी हमालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो। 

इन्जिनियरद्वय मल्ल र कठायतमाथि वास्तविक कार्यभन्दा बढी कार्य भएको देखाएको, प्रशासकीय अधिकृत सारुमाथि गलत कागजपत्रमा हस्ताक्षर गरेको र उपभोक्ता समिति अध्यक्ष मल्ल र कोषाध्यक्ष हमालले बदनीयपूर्ण तरिकाले गैरकानुनी लाभ लिने काम गरेको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो। 

बढी मूल्याङ्कन गराएर भुक्तानी माग गरेको २९ लाख ७७ हजार ८२१ रुपैयाँ बिगोसहित पाँचैजना विरुद्ध मुद्दा दायर भएको हो। उक्त रकम प्रतिवादीबाट असुल तथा जफत गरी नगरपालिका कार्यालयमा उपलब्ध गराउन माग गरिएको छ। 

यसैगरी, मालपोत कार्यालय टोखा, सरस्वती, काठमाडौंको मुद्दा फाँटमा कार्यरत खरिदारविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको छ। मालपोतमा कार्यरत खरिदार विनोद तिवारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो। 

अख्तियारले जग्गा नामसारी दर्ता गरी जग्गा धनी प्रमाण पूर्जा बनाउने काममा सहजीकरण गरिदिने भन्दै तिवारीले सेवाग्राहीसँग बीस हजार घुस लिएको अवस्थामा वैशाख ४ गते नियन्त्रणमा लिएको थियो।

 अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले तिवारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा सेवाग्राहीसँग जग्गा नामसारी गरिदिने प्रयोजनका लागि बीस हजार घुस लिएको पुष्टि भएको जानकारी दिनुभयो।