• ७ वैशाख २०८१, शुक्रबार

राष्ट्रिय सूचना आयोगले बिहीबार स्थापना दिवस मनाउँदै

blog

काठमाडौं, वैशाख २१ गते । राष्ट्रिय सूचना आयोग १४ वर्ष पूरा गरी बिहीबार १५ औँ वर्षमा प्रवेश गर्दैछ ।

आयोगका प्रवक्ता कमला ओली थापाले वैशाख २२ गते बिहीबार एक समारोहको आयोजना गरी भव्यताका साथ स्थापना दिवस मनाउने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार, कोरोना महामारीका कारण विगत दुई वर्ष आयोगले स्थापना दिवस औपचारिक रुपमा मनाउने अवसर पाएको थिएन तर यसवर्ष आयोगले भव्यताका साथ स्थापना दिवस मनाउन थालेको हो ।

यस अवसरमा आयोगले बिनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कार, उत्कृष्ट सूचना अधिकारी पुरस्कार र उत्कृष्ट कर्मचारी पुरस्कार वितरण गर्ने भएको छ ।

आयोगले विनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कार २०७९ दुर्गा आचार्य, कैलाश माझी, उमिद बागचन्द र मनोज रौनियारलाई वितरण गर्ने भएको छ ।

त्यस्तै, उत्कृष्ट सूचना अधिकारी पुरस्कार–२०७९ सत्य नारायण हुजदार, गोकर्णराज वाग्ले, दुर्गाप्रसाद शर्मा, ई। निर्मल लामा र राज अर्यालले पाउनु हुँदैछ ।

यसैगरी, उत्कृष्ट कर्मचारी पुरस्कार २०७९ विश्वबन्धु पौडेल, डिल्लीराम भट्ट र हेमन्त रिज्यालले पाउनु हुँदैछ ।

त्यस्तै, आयोगले स्थापना दिवसका अवसरमा सूचनाको हकमा कार्यरत संस्थाहरु, आमसञ्चारका माध्यमहरु तथा सबैमा सूचनाको हकसम्बन्धी संवर्द्धन र संरक्षण हुने कार्यक्रमहरु आयोजना, प्रचारप्रसार, प्रकाशन तथा प्रसारण एवम् परिसम्बाद जस्ता कार्यक्रम गरी सूचनाको हकको प्रचलनमा सघाउ पुर्‍याउन अनुरोध गरेको छ ।